सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका जलविद्युत आयोजना पनि उर्जा सम्मेलनको प्राथामिकतामा

२०७६ मंसिर ४, ०९:२३ रोशन भट्ट

काठमाडौँमा मंसिर ५ र ६ मा  हुने उर्जा सम्मेलनमा वषौँदेखि अलपत्र परेका सुदूरपश्चिमका जलविद्युत आयोजनाले पनि प्राथमिकता पाउने दावी गरिएको छ। स्वतन्त्र उर्जा उत्पादक संघको आयोजनामा हुने सम्मेलनमा प्रदेशमा लगानी अभावका कारण अलपत्र परेका जलविद्युत आयोजना र यहाँको सम्भावनाका विषयमा छलफल गरिने बताइएको छ। 

विदेशी लगानी भित्र्याउनको लागि आयोजना गरिएको उक्त सम्मेलन फलदायी हुने विश्वास  लिईएको छ। अन्य प्रदेशको तुलनामा जलविद्युतको सम्भावना धेरै रहेको सुदूरपश्चिममा लगानी भित्र्याउन सहयोगी भूमिका खेल्ने स्वतन्त्र उर्जा उत्पादक संघका उपाध्यक्ष कुमार पाण्डेयले बताए। लामो समय देखि अलपत्र परेका सुदूरपश्चिम प्रदेशका जलविद्युतका आयोजनाहरुलाई कार्यानवयनको चरणमा लैजानको लागि प्रदेश सरकारले पनि आवश्वक पहल गर्नुपर्ने देखिएको छ। 

अहिले सुदूरपश्चिममा ७ सय ५० मेगावाटको पश्चिम सेती, १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी, नौ सय मेगावाटको माथिल्लो कर्णाली, ७ हजार मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना लगायतका आयोजनाहरु अलपत्र परेका छन्। झण्डै २० हजार मेघावाट जलविद्युत उत्पादन क्षमता रहेको सुदूरपश्चिममा अहिले उत्पादन भने प्रायः शुन्य जस्तै छ। 

काठमाडौंमा हुने उर्जा सम्मेलनमा सहभागि हुने विदेशी लगानी कर्ताले सुदूरपश्चिमका आयोजना बारे अध्ययन गर्ने मौका पाउने उर्जा व्यवसायी विरेन्द्र मल्लले बताए। स्वतन्त्र उर्जा उत्पादक संघको आयोजनामा हुने लागेको सम्मेलनमा  नेपालसँगै भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरिका, क्यानडा, नर्वे लगायतका देशका लगानीकर्तासंग उर्जा क्षेत्रको लगानीका बारेमा छलफल हुने भएको हो। 

यही मंसिर ५ र ६ गते दुई दिन सम्म चल्ने उक्त सम्मेलनमा क्षेत्रीय विद्युत व्यापार, विद्युत बजार, वित्तिय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघियतामा ऊर्जा परियोजनाहरु संचालन र सहजीकरण संगै ऊर्जामा लगानी भन्ने विषयमा विदेशी विशेषज्ञ तथा लगानीकर्ता संग छलफल हुने भएको छ। अहिले देशमा आवश्यक पर्ने विद्युत प्रायः उत्पादन भईसकेकाले लगानी कर्ता भित्र्याउनको लागि बजार व्यवस्थापनमा समेत ध्यान दिन आवश्यक रहेको छ।

सम्मेलनमा ७० भन्दा बढी उर्जा विशेषज्ञहरुको प्रस्तुती रहनेछ। तर सुदूरपश्चिम प्रदेशमा विदेशी लगानी भित्र्याउन प्रदेश सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने माग गरिएको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस