सुदूर नेपाललाई विश्वसँग जोड्दै

टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्हो बर्खास्त

। फोटो स्रोत ।
२०७६ मंसिर ४, ०८:१९ खबर संवाददाता

इंग्लिस क्लब टोटनह्यामले प्रशिक्षक माउरिसियो पोचेटिन्होलाई बर्खास्त गरेको छ। प्रिमियर लिगमा पछिल्लो समय टोटनह्यामले खराब प्रदर्शन गरेपछि क्लबले यो निर्णय लिएको हो। उनको स्थानमा टोटनह्यामले जोसे मोरिन्होलाई ल्याउने तयारी गरेको छ। प्रिमियर लिगको १२औँ चरण सकिँदा टोटनह्याम १४ अंक सहित १४औं स्थानमा छ। उसले गएको जनवरीदेखि अवे मैदानमा जित निकाल्न सकेको छैन। उसले तीन जित, पाँच बराबरी र चार हारको नतिजा निकालेको छ।

टोटनह्यामले विज्ञप्ति जारी गर्दै बोर्डको गम्भीर छलफलपछि यो निर्णय लिएको क्बलका अध्यक्ष डेनियल लेभीले बताएका छन्। सन् २०१४ को मेमा क्लबमा आबद्ध भएपछि पोचेटिन्होले गएको सिजन टोटनह्यामलाई च्याम्पियन्स लिगको फाइनलसम्म र्पुयाएका थिए। लिभरपुलसँग पराजित हुँदै टोटनह्याम उपविजेतामा सीमित बनेको थियो। पोचेटिन्होलाई बर्खास्त गरेपछि सहायक प्रशिक्षक जेसस पेरेज, मिगेग डि अगस्टिनो र एन्टोनी जिमिनेजले पनि क्लब छोडेका छन्।

यो सिजनको लिग कपमा टोटनह्याम तेस्रो डिभिजनको कोलकास्टरसँग पराजित भयो भने च्याम्पियन्स लिगको समूह चरणमा पनि बायर्न म्युनिखसँग आफ्नै मैदानमा ७–२ को पराजय भोग्न बाध्य भयो। साउथह्याम्टनलाई प्रिमियर लिगमा सबैभन्दा राम्रो स्थानमा ल्याउन सफल भएपछि सन् २०१४ मे २८ मा पोचेटिन्हो टोटनह्याममा आवद्ध भएका थिए। पहिलो सिजनमा टोटनह्यामलाई पाँचौँ स्थान दिलाएका पोचेटिन्होले दोस्रो सिजन तेस्रो स्थान दिलाए।

उनी इंग्ल्याण्डमा पेप ग्वार्दिओलालाई इंग्ल्याण्डमा हराउने पहिलो प्रशिक्षक बने। सन् २०१६ को अक्टोबरमा टोटनह्यामले सिटीलाई २–० ले हराएको थियो। सन् २०१७–१८ को सिजनमा टोटनह्यामलाई प्रिक्वार्टर फाइनलसम्म र्पुयाएपछि पोचेटिन्होले उनको सम्झौता पाँच वर्ष थपेको थियो। गएको सिजनको च्याम्पियन्स लिगमा टोटनह्यामलाई पहिलो पटक फाइनलसम्म र्पुयाए। त्यसक्रममा आयाक्सविरुद्ध टोटनह्याले उत्कृष्ट कमब्याक गरेको थियो।
 

कमेन्ट लोड गर्नुस