सुदूर नेपाललाई विश्वसँग जोड्दै

सार्वजनिक शौचालयको अभावमा धनगढीमा खुल्ला शौच

२०७६ मंसिर ३, ०८:५५ कमल सावद

कैलाली: कैलालीलाई गत वर्ष बैशाख ३० गते खुला दिशामुक्त क्षेत्र घोषणा गरियो। अघिल्लो वर्षको पुषमा प्रदेशको अस्थायी राजधानी रहेको धनगढी उप–महानरपालिकालाई पनि खुला दिशामुक्त घोषणा गरिएको थियो। धनगढीमा ३१ हजार ९ सय १६ परिवारको घरमा शौचालय निर्माण भएपछि उप–महानगरपालिकालाई खुला दिशामुक्त घोषणा गरिएको थियो।

तर खुला दिशामुक्त घोषणा भएको दुई वर्ष भइसक्दापनि धनगढीका सार्वजनिक स्थानमा शौचालय निर्माण भएका छैनन्। जसका कारण सर्वसाधारण खुलाठाँउमा शौच गर्न बाध्य छन्। 

त्यतीबेला ६ वटा मात्र सार्वजनिक शौचालय रहेका धनगढीलाई खुला दिशा मुक्त घोषण गरिएको थियो।  नयाँ शौचालय बन्न त परको कुरा ती बनेका शौचालयको समेत हालसम्म मर्मत सम्भार र सरसफाईमा समेत चासो दिइएको छैन्। अहिले पनि सार्वजनिक सौचालय निर्माण तथा मर्मत सम्भारको कुनै पनि योजना उप–महानगरपालिकासँग छैन्। 

उप–महानगरपालिकाको सामुदायिक विकास शाखा प्रमुख टंक विष्टले खुल्ला दिशामुक्तपछि धनगढीको कुनै पनि ठाउँमा सार्वजनिक शौचालय निर्माण नगरिएको बताए। ‘धनगढी उप–महानगरपालिका भित्र सात वटा सार्वजनिक शौचालय थिए। एक मोहनापुल–अत्तरिया ६ लेन सडकमा परेकाले भत्कीएको छ।’ उनले भने, ‘अहिले हामीसँग ६ वटा मात्र सार्वजनिक शौचालय छन्।’ उनले धनगढी बजार क्षेत्रमा सार्वजनिक शौचालय नभएका कारण बाहिरबाट आएकाहरुलाई  बढि समस्या रहेको गुनासो आउने गरेको बताए। 

अहिले धनगढीको बसपार्कमा ३, जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धवार र उप–महानगरपालिकाको कार्यालय परिसरमा एक/एक र बसन्त टोलमा एक सामुदायिक शौचालय सञ्चालनमा छन्।  उप–महानगरपालिकाले धनगढीको चौराह क्षेत्र, बसपार्क(साल्ट ट्रेडिङ) क्षेत्र, नेश्नल ट्रेड्रिङ भएको क्षेत्र, पशु कार्यालय भएको क्षेत्र, खाद्य क्षेत्र, क्याम्पस चोक र फुलबारी क्षेत्रमा सार्वजनिक शौचालय आवश्यक रहेको भन्दै जिल्ला समन्वय समिति मार्फत प्रदेश सरकारलाई माग पत्र पठाएको छ। 

उप–महानगरपालिकाले घुम्ती शौचालयको पनि प्रयोग गर्न सकेको छैन्। कैलाली उद्योग वाणिज्य संघले हस्तान्तरण गरेको घुम्ती शौचालयको पनि सदुपयोग गर्न नसकेको पाइएको छ। केही औपचारिक कार्यक्रममा प्रयोग गरिने घुम्ती शौचालय उप–महानगरपालिकाले थन्काएर राखेपछि खुल्ला शौच हुने क्रम बढेको छ।  

पुरै जिल्लाको अवस्था उस्तै
कैलाली खुल्ला दिशामुक्त घोषणा भएको झण्डै डेढ वर्ष पूरा भएको छ। कैलालीलाई सन् २०१६ भित्र खुला दिशामुक्त घोषणा गर्ने लक्ष्य राखिएकोमा गत वर्ष मात्रै खुला दिशामुक्त जिल्ला घोषणा गरिएको थियो। जिल्ला खुलादिशामुक्त घोषणा भएपनि प्रदेशको अस्थायी राजधानी सहित अन्य क्षेत्रमा पनि खुल्ला शौच हुने क्रम रोकिएको छैन। 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढीका प्रमुख मोहनबहादुर कुँवरले ३२ सार्वजनिक शौचालय कैलालीका विभिन्न क्षेत्रमा रहेका बताए। तर डिभिजन कार्यालयले ६ वटा मात्र शौचालय निर्माण गरेको थियो। ‘कैलालीका विभिन्न क्षेत्रमा सार्वजनिक शौचालयको आवश्यक छ।’ उनले भने, ‘तर कार्यक्रम नभएकाले निर्माण गर्न सकिएको छैन्। संघीयता पछि हामीसँग कुनै पनि कायक्रम छैन्। स्थानीय तहले निर्माण गरेका सार्वजनिक शौचालयको विषयमा पनि हामीलाई कुनै जानकारी छैन्।’ 

संघिय संरचनापछि खानेपानी तथा सरसफाई समन्वय समिति प्रदेश स्तरिय हुनुपर्ने हो तर भएको छैन्। कार्यक्रमको रकम पनि प्रदेशको सामाजिक विकास मन्त्रालयलाई पठाइएको प्रमुख कुँवरले बताए। 
नयाँ सार्वजनिक शौचालय निर्माणका लागि प्रदेश सरकारले रकम समेत विनियोजन नगरेको पाईएको छ।  

गत आर्थिक वर्षमा कुनै पनि काम नभएकोमा चालु आर्थिक वर्षमा पनि शौचालय निर्माण तथा सरसफाईका कुनै कार्यक्रम सञ्चालन नहुँने देखिएको छ। सार्वजनिक शौचालयबारे अहिले स्थानीय तह र प्रदेश सरकार एकअर्कालाइ देखाउँदै पन्छिन खोजेका छन्। जनप्रतिनिधिहरु भने सरसफाईको नाममा चर्चा बटुल्नकै लागि बेलाबेला सडक तथा सार्वजनिक स्थलमा कुच्चो सहित देखिने गरेका छन्। 

निर्धारित समयभन्दा ६ वर्ष ढिलो गरी खुल्ला दिशामुक्त घोषणा गरिएको कैलालीमा डेढ वर्ष बितिसक्दा समेत खुल्ला शौच हुने गरेको छ। जिल्लालाई खुल्ला दिशा मुक्त घोषणा गरिएको १८ महिना बढि भईसक्दा शहरी क्षेत्रमा सार्वजनिक सौचालयको अभाव देखिएको छ।  

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस