सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा कांग्रेस उम्मेदवारलाई १० लाख अनियमितता गरेको आरोप

२०७६ मंसिर ३, ०५:४६ खबर संवाददाता

डोटी: डोटीको आर्दश गाउँपालिका–२ मा हुने उपनिर्वाचनमा नेपालीका कांग्रेसका वडा अध्यक्षका उम्मेदवारलाई अनियमितता गरेको आरोप लागेको छ। 

मंसिर १४ गते उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाटका उम्मेदवार महादेव साउँदलाई चिउरीगडो सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष पदमा रहँदा सामुदायिक वनको नवीकरण, समाजिक परीक्षण सार्वजनिक सुनुवाई नगरी १० लाख हिनामिना गरेको आरोप लगाउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आर्दश गाउँ कमिटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेको हो। 

निर्वाचको सगर्मी सुरु भएसँगै एक अर्को दलको उम्मेदवारप्रति आरोप प्रत्यारोप सुरु भएको छ। यसभन्दा पहिला सार्वजनिक पदमा हुँदा भ्रष्टाचार गरेको व्यक्ति जनप्रतिनिधि बन्न योग्य नभएका कारण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको नेकपाका आर्दश गाउँ कमिटीका अध्यक्ष गोविन्द पार्कीले बताए। 

आफ्ना विरुद्धमा दिएको उजुरीमा कुनै पनि प्रकारको सत्यता नभएको नेपाली कांग्रेसका उम्मेदवार साउँदले दाबी गरेका छन्। व्यक्तिगत रिसइबिका कारण उजुरी आएको भए पनि आफूले सबै हिसाबकिताब पारदर्शी रूपमा राखेको प्रमाण देखाउन तयार रहेको साउँदले बताए। 

दाबी विरोध गर्ने समयमा नभएको, तोकिएको फर्मेटमा नआएको र उम्मेदवारका विरुद्धमा उम्मेदवारले नै उजुरी दिने व्यवस्था भएका कारण सो निवेदन प्रक्रिया पुगी नआएको हुँदा कारबाही आवश्यक मुख्य निर्वाचन अधिकृत विधुर काफ्लेले बताए। 

कमेन्ट लोड गर्नुस