सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली अस्पतालको सेवा लथालिङ, प्रसुती सेवाका लागि धनगढी धाउनुपर्ने बाध्यता

२०७६ मंसिर ३, १०:५१ खबर संवाददाता

भुवन भट्ट– महाकाली अस्पतालको सेवा खस्किदै गएपछि प्रसुती सेवाका लागि पनि सेती प्रादेशिक अस्पतालमा पुग्नुपर्ने बाध्यता बढ्दै गएको छ। महाकालीको सेवा प्रभावकारी नहुँदा विशेषज्ञ सेवा त परै जावस प्रसुती सेवाका लागि पनि कञ्चनपुरवासीले परनिर्भर बन्नुपर्ने बाध्यता बढेको हो।

सेती प्राादेशिक अस्पतालमा प्रसुती सेवा लिने झण्डै ५० प्रतिशत कञ्चनपुरका महिला छन्। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा पाँच सय ८९ महिलाले सेती प्रादेशिक अस्पतालमा प्रसुती सेवा लिए। प्रसुती सेवा लिएका पाँच सय ८९ जना मध्ये कञ्चनपुरबाट मात्रै दुई सय ७५ महिला आएका थिए।

एउटै स्तरको अस्पताल भएपनि महाकाली अस्पतालको सेवा खस्किदै गएपछि प्रसुती सेवाका लागि पनि कञ्चनपुरवासीले परनिर्भर हुनुपर्ने बाध्यता देखिएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए। उनले सेती अस्पतालमा प्रसुती सेवा लिने महिला मध्ये झण्डै ५० प्रतिशत कञ्चनपुरकै रहेको दिनेश खबरलाई बताए।

यो तथ्याङ्कले प्रसुती सेवाका लागि महाकाली अस्पताल भन्दा पहाडी जिल्लाका अस्पतालको सेवा प्रभावकारी देखाएको छ। महाकाली अस्पतालमा अहिले मासिक दुई सय जनाले मात्रै प्रसुती सेवा लिईरहेका छन्।

महाकाली अस्पतालले भने कैलालीको सीमा क्षेत्रबाट धेरै जना सेती अस्पतालमा जाने गरेको दावी गरेको छ। कतिपयले भने स्वस्फुर्त रुपमा रेफर समेत माग्ने गरेको अस्पतालले जनाएको छ।

दरबन्दी अनुसार महाकाली अस्पतालमा डाक्टर नहुँदा सेवा खस्किदै गएको महाकाली अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले बताए। 
 

कमेन्ट लोड गर्नुस