सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुट्खामा ३६ करोडको राजश्व छली, ६ विरुद्ध मुद्दा

। फोटो स्रोत ।
२०७६ मंसिर ३, ०५:४३ खबर संवाददाता

झापाको मेचीनगर नगरपालिका– १४ मा रहेको साकम्बरी प्रोडक्टका सञ्चालकसहितको मिलेमतोमा गुट्खाजन्य मालवस्तुमा रु ३६ करोडबढीको राजश्व छली गरेको पाइएको छ।  अनुसन्धानमा उक्त कम्पनीका सञ्चालक मुकेश शर्मा, रामकृष्ण शर्मालगायत छ जनाको मिलेमतोमा रु ३६ करोड ५४ लाख बिगो बराबरको राजश्व छली गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ। साकम्बरी प्रोडक्टले उत्पादन गरेको अवैध गुट्खाजन्य मालवस्तु माधव इन्टरप्राइजेजसमेतको संलग्नतामा अन्तःशुल्क स्टिकर नलगाई कानून बमोजिम बुझाउनुपर्ने अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र आयकरसमेत नबुझाई बिक्री वितरण गरेको पाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए।

उक्त घटनामा साकम्बरी प्रोडक्टका सञ्चालक मुकेशसहित रामकृष्ण, सुपरभाइजर सदनसिंह तथा माधव इन्टरप्राइजेजका सञ्चालक सीताराम शर्मा तथा सवारी धनी आशिष शर्मा र विष्णुप्रसाद खरेकोसमेत मिलेमतो रहेको देखिएकाले उनीहरु विरुद्ध मुद्दा चलाइएको उनले बताए। यही मङ्सिर १ गते बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षको कैद सजाय माग दाबीसहित उनीहरु विरुद्ध जिल्ला अदालत झापामा मुद्दा दर्ता गरिएको विभागले आज एक विज्ञप्तिमार्फत जनाएको छ।

नक्कली बीजक प्रयोग गरी राजश्व छली

मूल्य अभिवृद्धि करको झुट्टा तथा नक्कली बीजकको प्रयोग गरी राजश्व छल्ने तीनजना विरुद्ध राजश्व अनुसन्धान विभागले अर्काे मुद्दा चलाएको छ। उनीहरुले रु एक करोड ७४ लाख २१ हजार बिगो बराबरको राजश्व छलेको अनुसन्धानबाट खुलेको छ। उनीहरु विरुद्ध बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबी गरेर काठमाडाँै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको विभागले आज एक सूचना जारी गरी जनाएको छ। 

गोरखा हङसपुर घर भई काठमाडौँ महानगरपालिका वडा नं ३२ बस्ने अम्बेल इन्टरप्राईजेजका सञ्चालिका विनिता दुवाडीले रु एक करोड २९ लाख, काठमाडौँकै सुसज्जित इन्टरप्राइजेजका सञ्चालिका सरस्वती गौतम र श्रीमान् रामशरणले रु ४५ लाख ४५ हजार बिगो बराबरको राजश्व छली गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो। उनीहरुलाई बिगो बराबरको दोब्बर जरिवाना र तीन वर्ष कैद सजायको माग गरिएको छ। रासस
 

कमेन्ट लोड गर्नुस