आगामी बिहिबार देखि काठमाण्डौमा उर्जा सम्मेलन हुदै
आगामी बिहीबारदेखि काठमाडौंमा उर्जा सम्मेलन हुने भएको छ। सम्मेलनमा दश देशका सात सय भन्दा बढिको सहभागिता रहने आयोजक स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले सोमबार पत्रकार सम्मेलन गरी सम्मेलन बारे जानकारी दिएको छ। ७० भन्दा बढी विशेषज्ञहरुको उर्जा सम्बन्धी प्रस्तुती रहने छ।
सम्मेलनमा नेपालको साथै भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरिका, क्यानडा, नर्वे जस्ता मुलुकका विशेषज्ञहरुको सहभागिता रहने आयोजकले जनाएको छ। क्षेत्रीय विद्युत व्यापार, विद्युत बजार, नियमन, वित्तिय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघियतामा ऊर्जा परियोजनाहरु संचालन र सहजीकरण, ऊर्जामा लगानी तथा आयोजना प्रदर्शनी जस्ता विषयमाथि सम्मेलनमा छलफल हुने आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिए।
क्षेत्रीय विद्युत व्यापारका लागि विचार आदान प्रदानको साथै त्यससम्बन्धी औपचारिक र अनौपचारिक वार्ताहरु अघि बढाउन सम्मेलन बहुउपयोगी हुने विश्वास लिइएको छ।