सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले तोक्यो कफीको भाउ

२०७६ मंसिर १, ०९:४७ खबर संवाददाता

सरकारले कफीको न्यूनतम मूल्य तोकेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यसअघिको मूल्यमा परिमार्जन गर्दै आर्थिक वर्ष ०७६÷७७ मा कृषकबाट उत्पादित काँचो कफीको न्यूनतम मूल्य तोकेको हो। १५ औं राष्ट्रिय दिवसको अवसरमा फ्रेस चेरी, पाचर्चमेन्ट र ड्राइ चेरी कफीको न्यूनतम मूल्य तोकेको बोर्डले जनाएको छ। बोर्डले फ्रेस चेरी ग्रेड ‘ए’ को मूल्य प्रतिकेजी ८५ रुपैयाँ तोकेको छ। ८ सय मिटरभन्दा माथि प्रांगारिक पद्दतिअनुसार उत्पादन गरिएको ठिक्क पाकेको, पानीमा नडुब्ने चेरीलाई बोर्डले ग्रेड ‘ए’ वर्गीकरण गरेको छ। यस्तै फ्रेस चेरी ग्रेड बीको मूल्य प्रतिकेजी ७५ रुपैयाँ पुर्याइएको छ।

बोर्डले जारी गरेको न्यूनतम मूल्य सूचीअनुसार, पार्चमेन्ट कफी ग्रेड ‘ए’ को प्रतिकेजी मूल्य रु ४२५ र ‘बी’को रु. तीन सय ७५ कायम गरिएको छ। ग्रेड ‘ए’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११ प्रतिशत चिस्यान भएको पार्चमेन्ट ग्रेड ‘ए’मा पर्छ। ग्रेड ‘बी’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको पार्चमेन्ट भने ग्रेड ‘बी’ मानिन्छ। ड्राइचेरी कफी ग्रेड ‘ए’ को न्यूनतम मूल्यमा केही परिमार्जन गर्दै प्रतिकेजी १४० र ग्रेड ‘बी’ को भाउ ९० पुर्याइएकोे छ। ग्रेड ‘ए’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ११ प्रतिशत चिस्यानसहितको ड्राइ चेरी ग्रेड ‘ए’ र ‘बी’ गुणस्तरबाट उत्पादित चेरीलाई बोर्डले ग्रेड ‘बी’ मा राखेको छ।

हरेक वर्ष कफीको न्यूनतम मूल्य तोक्दै आएको बोर्डले न्यूनतम मूल्यअनुसार कारोबार गर्न आग्रह गरेको छ। कसैले न्यूनतम मूल्यविपरीत कारोबार गरेमा बोर्डमा सम्पर्क गर्न पनि उसले सूचित गरेको छ।
 

कमेन्ट लोड गर्नुस