सुदूर नेपाललाई विश्वसँग जोड्दै

जंगलघाट–मंगलसैन सडक निर्माणको ४८ वर्ष, अन्यौलता कायमै

२०७६ कार्तिक २८, ०६:३१ कमल सावद

२०२८ सालमा निर्माण सुरु भएकोे चिसापानी–जंगलघाट–मंगलसैन सडकको ट्रयाक खोल्ने काम ४८ वर्ष पुग्दा समेत अन्यौलमै रहेको हो। कैलाली, सुर्खेत, अछाम तथा बाजुरा जिल्लालाई जोड्ने सडक निर्माणमा अझै अन्यौलता देखिएको हो।

विगतमा संघिय सरकारले कार्यान्वयन गर्दै आएको उक्त सडक अहिले प्रदेश सरकार मातहत आएको छ। तर अन्यौलता भने कायमै रहेको छ। प्रदेश सरकारले अछाम खण्डको ट्रयाक खोल्ने भन्दै चालु आर्थिक वर्षमा १० करोड विनियोजन गरेको छ। १० करोड पनि पूर्ण कार्यान्वयन हुनेमा आशंका व्यक्त गरिएको छ। ‘अछामको मंगलसैन देखि जंगलघाट सम्म ट्रयाक खोलिएको छ,’ प्रदेश सरकार अन्तरगतको पूर्वाधार कार्यालय अछामका प्रमुख झंकर थापाले भने, ‘चालु आर्थिक वर्षमा प्रदेश सरकारले १० करोड विनियोजन गरेको छ। २३ दशमलव ९९ किलोमिटर सडकको विस्तृत योजना प्रतिवेदन तयार भएको छ।’ चालु आर्थिक वर्षमा सडक स्तरबृद्धिका लागि पाँच करोडको ठेक्का गर्ने तयारी भएको उनले बताए। अछाम खण्डको जंगलघाट देखि तुर्माखाद गाउँपालिका वडा नम्बर ७ को दोबिना खोला (बासझार) सम्म मात्र विस्तृत योजना प्रतिवेदन तयार भएको उनले बताए। बाँकी सडको विस्तृत योजना प्रतिवेदन र वातावरणीय प्रभाव मुल्याङकनका काम पनि बाँकी छ।

विस २०२५ सालमा तत्कालिन पञ्चायती व्यवस्थामा अछाम जिल्ला सभापति हरीप्रसाद भण्डारीले भारतको तिकुनीयाबाट चिसापानी हुँदै मंगलसेनसम्म काँधमा बोक्दै, बाटो काट्दै जीप पुगाएका थिए। त्यती बेला गाउँ–गाउँमा बाजागाजा सहित खुशीयाली मनाईएको थियो। तर प्रदेश सरकार मातहत आएको उक्त सडकको ट्रयाक खोल्नु भन्दा पनि सांसदहरु कसरी जस लिने भन्न्ने दाउमा लागेका देखिन्छन्। अहिले प्रतिनिधीसभाका सांसदहरुले सो सडकलाई रणनीतिक सडकको रुपमा विकास गर्ने दावी गरिरहेका छन्। अछाम निवार्चन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद यज्ञ बोगटीले तीन जिल्लाका सांसदले राणनीतिक सडकको रुपमा विकास गर्ने योजना बनाएको बताए। ‘२०२६ साल पछिका हाम्रा प्रतिनिधिले यो सडकलाई प्राथामिक्ता दिन सकेनन्। अछाम खण्डका लागि गत वर्ष तीन करोड विनियोजन गरिएको थियो।

कैलाली खण्डमा पनि एक करोडको कालोपत्रे भएको छ। चालु आर्थिक वर्षमा पनि हामीले राणनीतिक सडकमा राख्ने समजदारी गरेका छौ। अव हामीले प्राथामिक्ताका साथ सडक निर्माण गर्ने छौ।’ उनले भने। सुदूरपश्चिम र कर्णाली प्रदेशको सम्बृद्धिका लागि महत्वपूर्ण ठानिएको चिसापानी मंगलसैन सडक पनि राजनीतिको भुमरीमा परेकै कारण अहिले सम्म गति लिन नसकेको हो। कैलालीको चिसापानी देखि अछाम मंगलसैनसम्म एक सय ४ किलोमिटर छ। बाजुराको बडिमालिका सम्मको लम्बाई समेत निश्चित गर्न सकिएको छैन्। कैलालीसंग अछाम र बाजुरा जिल्लालाई जोड्ने यो सडक सबै भन्दा छोटो दुरीको सडक हो।

तर जनप्रतिनिधिले प्राथामिकता नदिदा अन्यौलमा छ। ‘नेपाल सरकारले प्रत्येक प्रत्येक्ष प्रतिनिधि सभा सदस्यलाई एक रणनीतिक सडक छनौट गर्न भनेको छ,’ कैलाली निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य झपटबहादुर रावलले भने, ‘मैले चिसापानी–जंगलघाट–मंगलसैन सडकलाई छनौट गरेको छु। मेरो निर्वाचन क्षेत्र रहेको कैलालीको चिसापानी देखि सुर्खेत सम्म रकम खर्च हुने छ।’ सुर्खेत र्निवाचन क्षेत्र नम्बर २ का सांसद नवराज रावतले कैलालीको सीमाना देखि अछामको सीमाना जंगलघाट सम्म र अछामका सांसद यज्ञ बोगटीले अछाम खण्डका लाई रकम खर्च गर्ने तयारी भएको उनले बताए। कैलालीको अत्तरिया–दिपायल हुँदै मंगलसेन तीन सय किलोमिटरको लामो दुरी छ। जोखिमयुक्त, घुमाउरो सडकको यात्रा गर्न अछाम र बाजुराका नागरिक बाध्य छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस