सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपनिर्वाचनका लागि बैतडीमा उम्मेद्वारी दर्ता

२०७६ कार्तिक २७, ०३:०७

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बैतडीमा उम्मेद्वारी दर्ता भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका–१, पुर्चौंडी नगरपालिका ४ र दोगडाकेदार गाउँपालिका–४ को वडा अध्यक्ष पदका उम्मेद्वारहरुले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालय बैतडीले जानकारी दिएको छ। 

सुर्नया गाउँपालिका– १ मा अध्यक्ष पदका लागि दुईजना उम्मेद्वारको मनोनयन दर्ता भएको छ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट धनबहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद भण्डारीले जानकारी दिएका छन।

यस्तै पुरचौंडी नगरपालिका– ४ मा नेकपाका तर्फबाट शैलेन्द्र धानुक, नेपाली कांग्रेसका तर्फबाट गोविन्दबहादुर धामी र चन्द्रबहादुर बोहराले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएको भण्डारीले बताए।

उता दोगडाकेदार गाउँपालिका– ४ को वडा अध्यक्ष पदका लागि तीनजना उम्मेद्वारको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय दोगडाकेदारले जनाएको छ । नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीको उम्मेद्वारी दर्ता भएको निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस