सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कर तिर्न व्यवसायीको अटेरी, १२ करोड बक्यौता उठाउन बाँकी

२०७६ कार्तिक २६, ०७:०७ जनक विष्ट

व्यवसायीको अटेरीका कारण आन्तरिक राजश्व कार्यालय धनगढीले कर वापतको झण्डै १२ करोड बक्यौता उठान बाँकी रहेको छ। व्यवसायीले अटेरी गर्न थालेपछि कर बापतको बक्यौता उठाउनै समस्या भएको छ।  लामो समयदेखि आयकर, मूल्य अभिवृद्धि कर र अन्त शुल्क नबुझाउने दुई सय १२ जना व्यवसायीबाट १२ करोड बक्यौता उठाउन बाँकी रहेको आन्तरिक राजश्व कार्यालय धनगढीका प्रमुख कर अधिकृत गोेविन्द अधिकारीले जानकारी दिए।

कार्यालयले सूचना जारी गर्दै बक्यौता बुझाउन अटेरी गर्ने व्यवसायीलाई बुझाउन आग्रह गरेको थियो तर कारवाहीको प्रक्रिया थाल्नुअघि ४८ व्यवसायीले बक्यौता बुझाएको अधिकारीले दिनेश खबरलाई बताए। यस्तै एक सय ६४ व्यवसायी कारवाहीको प्रक्रियामा, २२ जनाको खाता सञ्चालन भएको र ४० व्यवसायी भने हिसाब मिलानको प्रक्रियामा रहेको अधिकारीले बताए।

यसैगरी पाँच जना निर्माण व्यवसायीबाट निवेदन प्राप्त भएकाले कारवाहीको प्रक्रियामा रहेको कार्यालयले जनाएको छ। कुनै व्यवसायीले भने झण्डै एक करोड सम्मको बक्यौता नबुझाएको पाईएको छ।  ठुलो बक्यौता नबुझाउनेमा धनगढीको विश्व लक्ष्मी ट्रेड एण्ड सप्लायर्सको ७३ लाख, सीमाइलेश्वर स्टोरको २८ लाख र न्यु विशाला सप्लायर्सको २४ लाख गरी जम्मा १२ करोड बक्यौता उठ्न बाँकी रहेको प्रमुख कर अधिकृत अधिकारीले जानकारी दिए।

बक्यौता नबुझाउनेमा बढिजसो निर्माण व्यवसायी रहेको पनि उनले बताए। व्यवसायीहरुले अटेरी गरी लामो समयदेखि आयकर, मूल्य अभिवृद्धि कर  र अन्त शुल्क नबुझाउदा समस्या भएको कार्यालयले जनाएको छ। बक्यौता बुझाउन अटेरी गर्ने व्यवसायीका खाता रोक्का गरिएको छ।  

 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस