सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय प्रधानमन्त्री मोदीलाई डा. केसीको पत्र– 'साझा समस्यासँग सँगै लडौं, सीमा नमिचौं'

२०७६ कार्तिक २६, ०५:१४

१७ औं सत्याग्रह आजमात्रै स्थगित गरेका डा. गोविन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै नेपाल र भारतले साझा लडाइँ लड्नुपर्ने धेरै क्षेत्र रहेकाले अहिले नेपाली भूमि अतिक्रमण रोक्न आग्रह गरेका छन् ।

उनले लेखेको पत्रमा नेपाल र भारतबीचको सम्बन्ध रातारात विकास नभएको उल्लेख गर्दै जुनसुकै देशका नागरिकको पनि मर्यादा र आत्सम्मान हुने उल्लेख गरेका छन् ।

उनले लेखेको खुला पत्र:
श्री नरेन्द्र दामोदरदास मोदी,
प्रधानमन्त्री, भारत गणराज्य
कुशल छौं र यहाँको कुशलता चाहन्छौं ।
भारत र नेपालबीचको गहिरो र आत्मीय सम्बन्ध रातारात विकास भएको हैन । अनादिकालदेखि यी भुभागमा बसिआएका मानिसहरुबीचको अन्तरंग सम्बन्ध नै आधुनिक नेपाल र भारत निर्माण भएपछि दुई देशीय सम्बन्धका रुपमा विकास भएको हो। सन १८१६ को सुगौली सन्धिले आधुनिक नेपालको प्रारम्भिक नक्सा कोरेको थियो।
त्यसपछिको अवधिमा ब्रिटिश इण्डिया र स्वतन्त्र भारतसँग राज्यस्तरको सम्बन्धमा उतारचढाव आए पनि जनस्तरमा मैत्रीपूर्ण आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्ध कायम छ । धेरै नेपालीको जीविका भारतको रोजगारले धानेको छ भने भारतबाट रोजगारका लागि नेपाल आउने जनसंख्या पनि उल्लेख्य छ। नेपाल र भारत मात्रै नभई पाकिस्तान र बंगलादेशजस्ता अरु छिमेकी देशका पनि भुइँ तहका मानिसहरुका पीडा उस्तै छन। गरिबी, अशिक्षा र रोगजस्ता साझा समस्याबाट दक्षिण एसियाका सबै देशका नागरिकहरु जुधिरहेका छन। भ्रष्टाचार, कुशासन र असमानताको बढोत्तरी सबै देशका नागरिकहरुका साझा समस्या हुन।

सन २००१ को भुकम्पपछि मैले यहाँको गृहराज्य गुजरातको भुजमा घाइतेहरुको सेवा गर्ने मौका पाएको थिएँ। त्यस्तै सन २०१३ मा उत्तराखण्डमा भीषण बाढी आउँदा केदारनाथमा फसेका तीर्थयात्रीको सेवा गर्ने मौका पनि मैले पाएको थिएँ। त्यस क्रममा मेरो आफ्नै ज्यान मुस्किलले बचेको थियो । जुनसुकै देश र राष्ट्रियताका मानिस भए पनि उनीहरुको पीडा एकै किसिमको हुन्छ र मानवीय सेवा गर्दा मिल्ने सन्तुष्टि पनि एउटै हुन्छ भन्ने मैले महसुस गरेको छु।
अहिले म नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि सत्याग्रही अभियानमा छु । तर यही बीच समाचार आएको छ कि भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको छ। यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु। 
कूटनीति र भूराजनीतिका जटिल सिद्धान्त र अभ्यासबारे म जानकार छैन। तर सामान्य नागरिकको हैसियतले मैले जानेको यत्ति होः जुनसुकै देशका नागरिकको पनि मर्यादा र आत्मसम्मान समान हुन्छ।
नेपालमा भारतका अनेक सरोकार होलान। खास गरी राष्ट्रिय सुरक्षाको संवेदनशीलताका कारण नेपालमा भारतको गहिरो चासो छ भनिन्छ। तर नेपाल मजबुत र समृद्ध भए मात्रै भारतको राष्ट्रिय सुरक्षा सुनिश्चित हुन सक्छ।
अन्तमा, भारत र नेपाल मिलेर लड्नुपर्ने लडाइँ धेरै छन । विश्वका धेरै ठाउँमा उन्मुलन जस्तै भएका धेरै संक्रामक रोगहरुको ठूलो भार हामीकहाँ छ। अशिक्षित र निरक्षर मानिसहरुको ठूलो संख्या पनि यसै क्षेत्रमा छ। अपेक्षित गतिमा अर्थतन्त्र बिस्तार नहुँदा जीविकाको समस्या त झन् सबैभन्दा जटिल बन्दो छ। आज हजारौं माइल टाढा मरुभुमिमा जोखिमपूर्ण काममा न्युनतम ज्याला लिएर काम गरिरहेका कामदारमध्ये धेरै भारतीय र नेपाली छन।
त्यसैले यस्ता साझा समस्यासित भारत र नेपाल मात्रै नभई सबै दक्षिण एसियाली देशहरु मिलेर लड्नु जरुरी छ। त्यसका लागि नेपालसित हाल देखिएको सीमा समस्यालाई सरकारका विभिन्न स्तरमा हुने कुटनीतिक छलफलबाट समाधान गरी परस्पर विश्वास र मैत्रीको वातावरण कायम गर्न विशेष आग्रह गर्दछु।
डा गोविन्द केसी
डडेल्धुरा, नेपाल
डडेल्धुरा २०७६।७।२६ 

 

कमेन्ट लोड गर्नुस