सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा डा. केसीको समर्थनमा जनमासः सरकारी गाडी बन्द, राँके जुलुस निकालिने

केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि रेफर गर्ने तयारी

२०७६ कार्तिक २४, १०:५९

आशिष मल्ल

चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राध्यापक डाक्टर गोविन्द केसीले सोमबारदेखि सुरु गरेको १७ औं चरणको सत्याग्रह आज सातौ दिन पनि जारी छ। ७ बुँदे माग सहित आफ्नो १७ औँ अनशन थालेका उनि डडेल्धुरा अस्पतालमा भर्ना भएका छन। अनशनको पाचौँ दिनमा शरिरमा पानीको कमी भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो। 
डाक्टर केसीले जिल्ला सदरमुकाम स्थित डडेल्धुरा अस्पतालबाट झण्डै एक सय मिटरको दुरीमा सञ्चालनमा रहेको निर्मल क्लनीकको तेस्रो तलाको एउटा चिसो कोठामा सोमबारदेखि आफ्नो १७ औँ सत्याग्रह सुरु गरेका थिए। 

डा. केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि रेफर गर्ने तयारी
अस्पतालमा भर्ना भएको उनको सातौ दिनमा आएर स्वास्थ्य आवस्था झन नाजुक बन्दै गएको डडेल्धुरा अस्पतालका मेसु डाक्टर जितेन्द्र कँडेलले बताए। ‘अहिले ब्लड प्रेसर र मुटुको चाल बढेको छ, उहाँको थप केहि जाँच गर्नुपर्ने देखिन्छ जुन यो अस्पतालमा सम्भव छैन त्यसैले यताबाट अन्यत्र पठाउने तयारी गर्दैछौ’ उनले भने । पिसाबमा देखिएको समस्या सुधारउन्मुख नदेखिएकाले धेरै समय डाक्टर गोविन्द केसीलाई डडेल्धुरामा राख्न उपयुक्त नरहेको उनले बताए ।

डा. केसीको उपचारमा निरन्तर विशेषज्ञसहितको चिकित्सक टोली खटिएको छ। आकस्मिक कक्षमै उपचार गराई रहेका उनलाई रेफर गर्ने विषयमा उनका भाई किशोरसँग छलफल भइरहेको डा. कँडेलको भनाइ छ। ‘अब उहाँको यो अस्पतालमा उपचार संम्भव छैन। अबको विकल्प भनेको सुविधासम्पन्न अस्पताल नै हो।’ उनले भने ‘उहाँले सुदूपश्चिमै अनशन गर्छु भन्नु भएकाले सायद कैलीली तिर पठाइन्छ होला।’ डडेल्धुरा अस्पताल डडेल्धुरामा सघन उपचार कक्ष (आईसीयू) र एबिजी सेवा नरहेको अस्पतालले जनाएको छ। 

सरकारी गाडी बन्द, राँके जुलुस निकालिने
डा.गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आईतबार सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइने डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले जानकारी दिए।

‘बिहान ९ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइने छ’ उनले भने ‘सदरमुकाम बागबजार क्षेत्रमा दिउसो १ः३० वजे देखि २ः३० बजेसम्म पसल बन्द गर्ने निर्णय पनि गरिएको छ ।’ अन्य सवारी साधनहरु भने सञ्चालन हुने उनले बताए । त्यस्तै दिउँसो १ः३० बजे ‘झोरो’(राँके) जुलुस निकालिने अध्यक्ष भट्टले बताए। उक्त कार्यक्रम उद्योग वाणिज्य संघको नेतृत्वमा हुने छ । अहिले जिल्लामा सत्याग्रहमा रहेका डा. केसीको सर्मथनमा दैनिक विभिन्न कार्यक्रमहरु हुदै आएका छन । अनसनरत डाक्टर केसीको समर्थनमा सुदूरपश्चिम प्रदेश सासंद कर्णबहादुर मल्ल, नेपाली कांग्रेस डडेल्धुरा, त्यहाँको नागरिक समाज, अगुवाहरु, नेवी संघ, पेशाकर्मी एवं व्यवसायिक संघसस्थाहरुको अगुवाइमा दवावमुलक र्याली आयोजना भइरहेका छन। शनिबार मात्रै धनगढी नगरिक समाज, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक संघले डडेल्धुरा आएर डा. केसीको अनशनमा ऐक्यबद्धता जनाएका थिए। दैनिकजसो विरोधका कार्यक्रमहरु आयोजना भएतापनि सरकारले केसीको सत्याग्रहप्रति चासो नदेखाएको त्यहाँका स्थानीयको आरोप छ। 

 

कमेन्ट लोड गर्नुस