सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुर्वीचौकी गाउँपालिकाको गाडी धनगढीमा थन्काईयो, अध्यक्षको नीजि गाडी भाडा तिरेर प्रयोग गरिदै

२०७६ कार्तिक २३, ०४:२९ खबर संवाददाता

डोटीको पुर्वीचौकी गाउँपालिकाको गाडी १८ दिनदेखि धनगढीमा थन्काईएको छ। से १ झ २५४ नम्वरको सरकारी गाडी धनगढीको नयाँराम होटल अगाडी थन्काएर गाउँपालिकाले भाडाको गाडी प्रयोग गर्न थालेको हो। गाउँपालिकाका अध्यक्ष दीर्घराज वोगटीको नीजि गाडी गाउँपालिकाले माषिक भाडा तिरेर प्रयोग गरिरहेको हो।

गाउँपालिकाका अध्यक्ष बोगटीले केही समय अगाडी मात्रै नीजि गाडी खरिद गरेका थिए। गाउँपालिकाको सरकारी गाडी विग्रिएको भन्दै धनगढी राखेर अध्यक्षको नीजि गाडी भाडामा प्रयोग गरिएपछि गाउँपालिकाका स्थानीयले विरोध समेत जनाएका छन्। दैनिक तीन हजार भाडा तिर्ने गरी गाउँपालिकाका अध्यक्ष बोगटीको गाडी भाडामा लगाईएको हो। 

काँग्रेस नेता रामप्रशाद उपाध्यायले अध्यक्षकै नीजि गाडी भाडामा प्रयोग गरेर जनताको करमाथि रजाई भईरहेको बताए। उनले तत्काल सरकारी गाडी मर्मत गरि सोही गाडी प्रयोग गर्नुपर्ने बताए। गाउँपालिकाका अध्यक्ष बोगटीले आफ्नै नीजि गाडी भाडामा लगाएको स्विकार गरे।

‘गाउँपालिकाको गाडी धनगढीमा थन्काईएको होईन,’ अध्यक्ष बोगटीले भने, ‘गाडी विग्रिएपछि मर्मतका लागि धनगढी पुगाईएको हो, चालक विरामी भएपछि मर्मतका लागि ग्यारेज पठाउँन बाँकी छ।’ उनले छिट्टै सरकारी गाडी मर्मत गरिने समेत दावी गरे। 

कमेन्ट लोड गर्नुस