सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा निजामती सेवाका नव प्रवेशी कर्मचारी पनि भ्रष्टाचारमा लिप्त

२०७६ कार्तिक २३, ०२:३३ जनक विष्ट

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले गत भदौँ १३ मा सेती यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख सहित तीनजना कर्मचारीलाई सेवाग्राहीबाट लिएको घुस वापतको रकम लिदै गर्दा रंगेहात पक्राउ गरेको थियो। पक्राउ पर्नेमा निमित्त प्रमुख गम्भीरसिंह विष्ट, अधिकृतद्धय भुवन जोशी र जयराज कारिगर थिए।

ती मध्ये अधिकृत भुवन जोशी भने निजामती सेवा नव प्रवेशी कर्मचारी हुन्। यातायातका कर्मचारीका अनुसार खरिदार पदबाट करिब छ वर्ष पहिले मात्र सरकारी सेवा सुरु गरेका जोशी गत बैशाखमा मात्र यातायात व्यवस्था कार्यालयमा अधिकृतका रुपमा आएका थिए।

गत असारमा अख्तियारकै टोलीले जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख इन्जिनीयर अजित कुमार श्रीवास्तम र इन्जिनीयर ग्रिष्मा ठगुन्नालाई दुई लाख घुस सहित पक्राउ गरेको थियो। जसमा इन्जिनीयर ठगुन्ना पनि निजामती सेवामा नव प्रवेशी कर्मचारी हुन्। चार वर्ष अघि मात्र सरकारी सेवामा आएकी ठगुन्नाले पनि अहिले मुद्दा खेप्दै छिन्। यद्यपी यी दुवै मुद्दाको विशेष अदालतबाट अन्तिम टुङ्गो लाग्ने भने बाँकी छ।

यी दुईजना घुस प्रकरणमा मुछिने निजामती सेवाका नव प्रवेशी कर्मचारीमा प्रतिनिधिमुलक पात्र मात्र हुन्।  भ्रष्टाचारमा नव प्रवेशी कर्मचारीको लिप्पतता पनि बढ्दो रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताउँदै आएको छ। आर्थिक अनियमितता र भ्रष्टाचारमा नव प्रवेशी कर्मचारी पनि लिप्त हुनुको कारण के होला त ?   अख्तियारको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्ट भन्छन्,‘प्रवृत्ति मुख्य  समस्याका रुपमा देखिन्छ।’

विष्टले ‘सेवामा प्रवेश गर्नु पूर्व बहालवाला कर्मचारीको विलासी जीवन देखेर अरुले पनि सोही मानसिकता बनाउँदै, सेवा भन्दा पनि घर, गाडी, जग्गा जमिन जोड्न जागिर खाएको देखिन्छ। उनीहरु त्यही मानसिकताबाट प्रेरित भएर सेवामा प्रवेश गर्छन।’भने।

अर्कोतर्फ सेवामा प्रवेश गरी उसले काम गर्ने कार्यालयको वातावरण पनि जिम्मेवार भएको उनी बताउँछन्। उनले भने,‘कार्यालयको वातावरण कस्तो छ, त्यहाँको प्रमुख कस्तो छ ? अन्य पूराना कर्मचारी कस्ता छन् ? त्यो कुराबाट पनि नव प्रवेशी कर्मचारी गाईडेड भएको हुन्छन्।’ उनले पदमा पुगिसकेपछि कर्मचारीले कानूनमा भएको छिद्रको माध्यमबाट पनि बढि पैँसा आर्जन गर्न अनियमितता गर्ने गरेको पाईएको दिनेश खबरलाई बताए।

धेरैले नव प्रवेशी कर्मचारी आचरण युक्त आएर  भ्रष्टाचार र अनियमितताको दलदलले बदनाम भएको कर्मचारी तन्त्रमा सुधार हुने अपेक्षा गर्दै आएका छन्। तर नव प्रवेशी कर्मचारी नै भ्रष्टाचार र आर्थिक अनियमिततामा लिप्त हुने क्रम बढ्दो छ।

त्यसमा उनीहरु मात्र दोषी नभएर समग्र देशको कार्य प्रणाली नै गलत भएको टिप्पणी पनि पूर्व कर्मचारीहरु गर्दै आएका छन्। लामो समय विकासे कार्यालयमा सेवा गरी जागिरबाट अवकास पाएका नारायण छत्यालले व्यक्ति भन्दा पनि प्रणाली सुधार हुन आवश्यक भएको बताए।

उनले भ्रष्टाचार नियमन गर्ने निकायले पनि उपल्लो तहका कर्मचारीलाई कानूनी दायरामा नल्याउनु दुःखद भएको बताए। छत्यालले ठुला माछा भनिएका माथिल्लो तहका कर्मचारीका कारण नै तल्लो तहका कर्मचारी अनियमिततामा संलग्न हुने गरेको आफूले देखेको जनाए।

त्यसैले भ्रष्टाचार जरै देखि निर्मूल पार्न माथिल्लो तहका कर्मचारीलाई नियमन गर्न आवश्यक रहेको उनको सुझाव छ। अन्य सरोकारवालाहरुले पनि सरकारी कार्यालयको नेतृत्व गर्नेका कारण बढि अनियमितता हुने गरेको दावी गर्दै आएका छन्।   तर आर्थिक अनियमितता र भ्रष्टाचार जन्य गतिविधी नियमन गर्ने जिम्मेवारी पाएका निकायहरुले कडाईका साथ लाग्नुपर्ने सुझाव दिईएको छ।    

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस