सुदूर नेपाललाई विश्वसँग जोड्दै

सासंद प्रेम आलेले भने– सडक डिभिजन महेन्द्रनगरका प्रमुखको ‘कानको जाली फुटाईदिन्छु’

२०७६ कार्तिक २३, १२:५५ कमल सावद

प्रेम आलेमगर सत्तारुढ दल नेकपाका सांसद हुन्। डोटीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका आलेमगर संघिय  संसदमा  प्रतिनिधित्व गर्दै त्यहाँका जनताको जनजिविकासंग जोडिएका विषय उठान गर्ने भुमिकामा छन्।

जिल्लाको विकास निर्माणदेखि संघिय सरकारसंग जोडिने हरेक कुरामा डोटीबासीका माग, गुनासा, जिज्ञाशा, वेदना आदी आलेमगर मार्फत नै सिंहदबार र संसद सम्म पुग्छन्। यसरी हेर्दा डोटीका जनताका अहिलेका अभिभावक र नेतृत्वकर्ता पनि उनै आलेमगर हुन्। तर आलेमगरले यी सबै जिम्मेवारी बिर्सेर सार्वजनिक रुपमा बोल्दा पदिय मर्यादा बिर्सेका छन्। उनले सञ्चार माध्यममा पनि  सार्वजनिक विषयमा प्रतिक्रिया माग्दा दम्भी स्वभाव प्रस्तुत गरेका छन्।

शुक्रबार धनगढी–दिपायल दु्रत मार्ग निर्माणको विषयमा प्रतिक्रिया लिदाँ दिनेश खबरसंगको कुराकानीमा उनले भनेका छन्, ‘त्यो डी (डिभिजन ईन्जिनियर अर्जुन बम) पागल हो, त्यसको कानका जालीसाली फुटाई दिन्छु म।’ बम डिभिजन सडक कार्यालय महेन्द्रनगरका प्रमुख समेत हुन्।

आलेमगरलाई धनगढी दिपायल फास्ट ट्रयाकको हसनपुर स्याउले खण्ड कालोपत्रेमा बखेडा झिकेको आरोप लागेपछि दिनेश खबरले प्रतिक्रिया मागेको थियो। ‘दु्रत मार्ग आयोजना प्रमुख अर्जुनकुमार बमले तिहार लगत्तै हसनपुर–स्याउले खण्ड कालोपत्रेका लागि टेण्डर हुने भनेका थिए, केही छलफल भयो की ?’ भन्ने जिज्ञाशामा आलेले उनै बमलाई कानको जाली फुटाईदिने घुर्की लगाएका हुन्।

धनगढीको हसनपुर देखि पूर्व–पश्चिम राजमार्गको स्याउले बजार सम्मको १० किलोमिटर सडक कालोपत्रेका लागि टेण्डर गर्ने दावी धनगढी–दिपायल द्रुतमार्ग योजना कार्यालयको थियो।

तर जनप्रतिनिधिको यस्तै हर्कतले कर्मचारीहरु चेपुवामा परेका छन्। सडक कालोपत्रेको योजना पनि तुहिने सम्भावना बढेको छ। यता सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख बमले भने नीति अनुसार काम गर्ने बताउँदै राजनीतिमा चाँसो नराख्ने बताए। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस