सुदूर नेपाललाई विश्वसँग जोड्दै

कायमै छ स्क्रब टाइफसको जोखिम, रोकथामका गर्न के गर्ने ?

२०७६ कार्तिक २३, १२:००

चिसो शुरू हुनै लाग्दा पनि देशका विभिन्न भागमा स्क्रब टाइफसको संक्रमण अझै रोकिएको छैन । सहरको दाँजोमा ग्रामीण क्षेत्रमा यो संक्रमणको चुनौतीमा बढी कायम छ । 
शंकास्पद उच्च ज्वरोको बिरामीलाई चिकित्सकले स्क्रब टाइफसको परीक्षणसमेत गराउने गरेका छन् ।

स्क्रब टाइफसको लक्षण डेंगु, ब्रुसिलोसिस, औलोलगायत थुप्रै संक्रामक रोगसँग मिल्दोजुल्दो हुन्छ । यो संक्रमण वर्षभरि नै हुने गरे पनि वर्षा यामपछि र धान काट्ने समय मुसाको चहलपहल बढेपछि बढी देखिने गर्छ ।

सरकारी तथ्यांकअनुसार स्क्रब टाइफसको हाल प्रयोगशाला प्रमाणित केसको संख्या गत आइतबारसम्ममा १२ सय ७१ भइसकेको छ । तर वास्तविक संख्या बढी पनि हुन सक्ने दाबी केही चिकित्सक गर्छन ।

के–के समस्या आउँछन ?
यो जीवाणु हाम्रो शरीरमा फैलिएपछि फोक्सो, कलेजो, मस्तिष्कमा थुप्रै प्रकारको संक्रमण हुन थाल्छ । यसले गर्दा संक्रमित व्यक्ति ‘मल्टिअर्गन डिजअर्डर’ (धेरै अंगहरूको समस्या) को अवस्थामा पुग्छ ।
समयमै उपचार नभए रोग गम्भीर भएर निमोनियाको रूपसमेत लिन सक्छ ।

विभिन्न तथ्यअनुसार निमोनियाको जटिलता ३० देखि ६५ प्रतिशत देखिएको छ । केही बिरामीको मृगौला र कलेजो राम्ररी काम गर्दैन । यसले गर्दा बिरामी व्यक्ति बेहोसी अवस्थामा जान्छन् ।
बेलायतस्थित नेसनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार स्क्रब टाइफसको उपयुक्त उपचार नगर्दा जटिलता देखिन सक्ने जोखिमसमेत रहन्छ । यसअन्तर्गत दीर्घकालीन रूपमै सुन्ने क्षमता गुम्नु, निम्न रक्तचापका साथै अंगमा क्षति र मृगौला फेल हुनु, निमोनियाजस्ता अर्को ब्याक्टेरियाबाट हुने संक्रमण देखिनु, छारे रोगको लक्षण, अन्योल, सुस्ती, मासु कुहिनु आदि समस्या देखिन सक्ने एनएचएसले जनाएको छ ।

कति दिनमा रोग लाग्छ ?
संक्रमित कीराले टोकेको सामान्यतस् ५ देखि १४ दिनमा रोगको लक्षण देखिने गर्छ । तर यो रोग कीराले टोकेको २० दिनभित्रसमेत देखिन सक्छ ।

रोग लागेको कसरी पत्ता लगाउने ?
यो रोगको पहिचान बिरामीमा देखिएको लक्षण र सूक्ष्म कीराले टोकेको चिनो देखेर पनि गरिन्छ । यसमा रगत परीक्षणसमेत गरिन्छ ।

यसअन्तर्गत लिभर फंग्सन टेस्ट र सीबीसी काउन्ट गरिन्छ । स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन एलाइजा टेस्ट र द्रूत परीक्षणसमेत गरिन्छ ।

के छ उपचार ?
स्क्रब टाइफस ब्याक्टेरियाद्वारा उत्पन्न संक्रमण भएकोले यसलाई एन्टिबायोटिक औषधिद्वारा उपचार गरिन्छ । साथसाथै शारीरिक जटिलताका लागि सहयोगी उपचारसमेत गरिन्छ ।
समयमै उपचार गरे यो रोगले थप जटिलता उत्पन्न हुँदैन । स्वास्थ्यकर्मीले स्क्रब टाइफसको आशंका गरेका बिरामीलार्ई प्रयोगशाला प्रतिवेदन आउनभन्दा अघिदेखि नै एन्टिबायोटिक दिन सकिन्छ ।

चिकित्सकहरूका अनुसार बिरामीलाई ‘डक्सिसाइक्लिन’, ‘टेट्रासाइक्लिन’, एजिथ्रोमाइसिन, एन्टिबायोटिकको माध्यमले उपयुक्त उपचार गरिए धेरै जसो बिरामीमा ४८ घन्टा भित्रै सुधार देखिन थाल्नुको साथै पूर्ण स्वस्थ हुने गरेको देखिएको छ ।

यसरी फैलिन्छ स्क्रब टाइफस  ?
मुसामा लाग्ने किर्नाजस्तो देखिने माइट (कीरा) ले टोक्दा त्यसका रर््यालमा भएको खतरनाक ब्याक्टेरिया ‘ओरेन्सिया सुसुगामुसी’ मनुष्यको रगतमा फैलिन्छ । यसको कारणले कलेजो, मस्तिष्क, फोक्सोमा थुप्रै प्रकारको संक्रमण हुन लाग्छ । बिरामी धेरै अंगले काम गर्न छोडने अवस्था (मल्टिपल अर्गेन डिजअर्डर) को अवस्थामा पुग्छ ।
 

कमेन्ट लोड गर्नुस