सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘देहिजाँत’ मेलाको ४ दिन मात्रै बाँकि

२०७६ कार्तिक २२, ०४:२४ खबर संवाददाता

डडेल्धुरामा रहेको सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ यही कात्तिक २६ गते लाग्ने भएको छ। उग्रतारा क्षेत्र विकास समितिको बैठकले उग्रतारा मेला ‘देहिजाँत’ कात्तिक २५ गते (रतेडी) र २६ गते (दिउसेडी) लाग्ने निर्णय गरेको हो। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात(रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्दछ। छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ। 

डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महकाली राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजा–आरधना गर्न पुग्छन्। देहिजाँतको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन हरेक वर्ष पुग्ने गरेको मेला व्यवस्थापन समितिका संयोजक लोकबहादुर पालले बताए।

परम्परादेखि लाग्दै आएको यस मेलाको आफ्नो महत्व रहेको समेत उनको भनाइ छ। बिहान चार बजे धार्मिक परम्परागत रुपमा दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु हुने पण्डित भोजराज भट्टले बताए।
 

कमेन्ट लोड गर्नुस