सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाचौँ दिन पनि डा.केसीको सत्याग्रह जारी, जनप्रतिनिधिले चासो नै लिएनन्

२०७६ कार्तिक २२, ०२:०६

आशिष मल्ल

चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राध्यापक डाक्टर गोविन्द केसीले सोमबारदेखि सुरु गरेको १७ औं चरणको सत्याग्रह पाचौँ दिन पनि जारी छ। जिल्ला सदरमुकाम स्थित डडेल्धुरा अस्पतालबाट झण्डै एक सय मिटरको दुरीमा सञ्चालनमा रहेको निर्मल क्लनीकको तेस्रो तलाको एउटा चिसो कोठामा डाक्टर केसीले सत्याग्रह जारी राखेका हुन्। 

अत्यधिक चिसोका कारण सत्याग्राह थालेको दोस्रो दिनमै बिग्रिएको स्वास्थ्यमा भने केही सुधार भएको छ। सत्याग्रहको तेस्रो दिन बोलचाल नै बन्द भएकोमा स्थानीयले कोठालाई न्यानो बनाउने प्रबन्ध मिलाएपछि केही सुधार भएको डडेल्धुरा अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कडेलले बताए। 

उनले केसीले सत्याग्रह बसेको भवन घाम नै नपर्ने भित्र गल्लीमा भएकाले चिसोमा ९ देखि १२ डिग्री सेल्सियस सम्म न्युनतम तापक्रम हुँदा समस्या भएपनि अहिले सुधार हुदै गएको तर खानेकुरा नखादा शरिर कमजोर बनेको बताए। अनशन बस्नु अघि चाउमिन र ५० ग्राम मिठाई खाएका केसी पाचौँ दिन पनि भोकै छन्। 

केसीले अनसनका लागि चिसो डडेल्धुरानै किन रोजे ? 
भर्खरै सरकारी सेवाबाट अवकास पाएका चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले १७ पटक सुदूरपश्चिममा अनशन बस्नु कुनै नौलो कुरा होईन्। किनकि केसी यसअघि सरकारी सेवामै रहदा १६ पटक सम्म अनशन बसेको कुरा जगजाहेर छ। तर केसीले सुदूरपश्चिममा अनसन बस्न पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा किन रोजे ? भन्ने कुरा धेरैको जिज्ञासाको विषय बनेको छ।  

सरकारी निकाय मातहतका अड्डामा सत्याग्रह नबस्ने घोषणा गरेका डा.केसी अहिले डडेल्धुरामा निजी घरमा अनसनरत छन्। उनले अनसन बसेको घर, डडेल्धुरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी निलकण्ठ भट्टको हो। अनशनका लागी केसीले डडेल्धुरा नै किन रोजे भन्ने प्रश्नको उत्तर जान्न हामीले ‘फ्ल्यास ब्याक’ मा जानुपर्ने हुन्छ। 

गत भदौ १२ गते डा. गोविन्द केसी एक्लै सुदूरपश्चिमका पहाडी जिल्लाको भ्रमणमा आएका थिए। उनले डोटी र डडेल्धुरा आउनुको कारण भने त्यतीखेर खोलेनन्। तर आफू पर्यटकका रुपमा सुदूरपश्चिम आएको प्रतिक्रिया दिएका थिए। त्यसै बेला उनले भनेका थिए,‘मलाई डडेल्धुरा राम्रो लाग्यो।’ कतिपयले उनको त्यो अभिव्यक्तिपछि त्यती बेलानै अबको अनशन यस्तै बस्ने संकेत गरेको अडकल पनि लगाएका थिए 

नभन्दै डडेल्धुरा भ्रमणको तीन महिनापछि केसी जिल्ला सदरमुकामा सुटुक्क देखिए। काठमाण्डौबाट रात्री बसमा चढेर उनी गत सोमबार बिहान कैलाली पुगेका थिए। कैलालीबाट हाइसको यात्रा तय गरी दिउँसो २ बजेतीर उनी डडेल्धुरा पुगेका हुन। उनी डडेल्धुरा आउने कसैलाई पनि जानकारी थिएन। 

चिकित्सा शिक्षा सुधारको अनवरत लडाईमा होमिएका डाक्टर केसीले  दुर्गममा पनि मेडिकल कलेज खोल्नुपर्ने माग राख्दै छन्। सुदूरपश्चिमको डोटी र डडेल्धुरामा मेडिकल कलेज खोल्नुपर्ने अडान पनि उनको पूरानै माग हो। त्यही भएर होला होला कतिपयले ती माग पूरा गर्न राज्यलाई दबाब दिन उनी डडेल्धुरामा अनशन बसेको हुनसक्ने मत व्यक्त गरेका छन्। 

१५ औँ अनशन तोड्दा सरकारसंग २०७५ साउन १० गते डा. केसीको माग अनुसार सरकारले इलाम, पाँचथर, उदयपुर र डडेल्धुरामा मेडिकल कलेजको सम्भाव्यता अध्ययन पनि गरेको थियो। त्यसका लागि ‘एक महिनाभित्र टोली गठन गर्ने’ भनिएको थियो। तर एक वर्ष बित्दा पनि त्यो बुँदा कार्यान्वयन भने भएको छैन। आफ्नो यो मागलाई पहाडी जिल्लाका जनताले समर्थन गर्ने र पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवा पटक पटक निर्वाचित भएको क्षेत्र भएको कारण पनि यस क्षेत्रबाट सरकारमाथि दबाव दिन सहज हुने हुँदा डा. केसी डडेल्धुरा आएको बताउँछन्। 

सोमबार नै उनले पूर्वको इलाम र सुदुरपश्चिमको डडेल्धुरा वा डोटीमा एउटा मेडिकल कलेज होस् भन्ने मागलाई स्थापित गराउन आफूले अनशनका लागि यस पटक डडेल्धुरा रोजेको बताएका थिए। ‘गत भदौँमा डडेल्धुरा पुग्दा डडेल्धुरा अस्पतालको हालत स्वास्थ्य चौकीको जस्तो पाए, अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा यहाँका स्थानीयले पाएको दुःख देख्दा एकदमै पीडा भएको थियो।’ 

अनशन बस्नुअघि पत्रकार सम्मेलन गरेर केसीले प्रधानमन्त्रीसँग जनताले पनि सुलभ उपचार पाउनुपर्ने बताएका थिए। ‘पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्य अवस्था बिग्रेको भन्ने समाचारहरु आइरहेका छन्। 

हामीले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै के स्मरण गराउन चाहान्छौँ भने स्वस्थ भएर बस्न पाउने निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने तथा सुलभ र गुणस्तरीय विशेषज्ञ तहको स्वास्थ्य सेवा पाउनु प्रधानन्त्रीको मात्रै हैन सबै नेपाली नागरिकको अधिकार हो।’ केसीले भने, ‘राज्यको वा कसैको खर्चमा विदेश उपचार गराउन सक्नेले मात्रै राम्रो स्वास्थ्य सेवा पाउने अनी विपन्नहरु उपचार नपाएर मर्ने अवस्था हाम्रा लागि स्वीकार्य छैन।’ ओली प्रधानमन्त्री हुँदा आफू चार पटक अनशन बसेको उनले बताए।

प्रत्येक पार्टीको सरकार हुने बेला आफू अनशन बसेको समेत उनले सुनाए। ‘अहिले ओली जी प्रधानमन्त्री हुनुहुन्छ। उहाँ प्रधानमन्त्री हुँदा म चारचोटी अनशन बसें। अरु पार्टीले सरकारको नेतृत्व गरेका बेला पनि बसेकै हुँ।’ डा. गोविन्द केसीले भने, मेरा मागहरु पूरा नहुँदासम्म अनशन बसिनै रहन्छु।’

उनको अनशनमा स्थानीय, संघसंस्था तथा राजनितिक दलको ऐक्यवद्धता
डडेल्धुरा पुगेर १७ औं सत्याग्रह सुरु गरेका डा.गोविन्द केसीले राखेका मागमा यहाँका स्थानीय, संघसस्था तथा राजनितिक दलले ऐक्यवद्धता जनाएका छन्। 

डोटीका विभिन्न ५ वटा संघसस्थाले ऐक्यवद्धता जनाएका छन्। डोटी उद्योग वाणिज्य संघको नेतृत्वमा डडेल्धुरा पुगेको टोलीले डाक्टर केसीले राखेका मागमा ऐक्यवद्धता जनाएका हुन। 

उद्योग वाणिज्य संघसंगै गैरसरकारी संस्था महासंघ डोटी, शैलेश्वरी यातायात ब्यवसायी संघ डोटी, होटल व्यवसायी संघ डोटी र त्रिवि प्राध्यापक संघ डोटीले डाक्टर केसीका माग पुरा गर्न सरकार समक्ष माग पनि गरेका छन्। सयुक्त रुपमा विज्ञप्ती जारी गर्दै डाक्टर केसीले उठाएका माग जनताको पक्षमा रहेको उल्लेख गरिएको छ। 

मंगलबार मात्रै सुदूरपश्चिम प्रदेशका सांसद तथा नेपाली कांग्रेसका पार्टी सभापति कर्णबहादुर मल्लले उनको सत्याग्रह प्रती ऐक्यबद्धता जनाएका थिए। उनले डा. केसीलाई भेटेर पवित्र महाअभियानमा डडेल्धुरा कांग्रेसको साथ रहेको बताएका थिए। 

बिहिबार डडेल्धुरा नागरिक समाजले दबाब र्याली नै निकालेर उनको सत्याग्रहप्रति समर्थन जनाएको छ। अहिले केसीलाई भेट्न र उनको सत्याग्रहमा ऐक्यबद्धता जनाउन यहाँका स्थानीयहरुको लर्को नै लाग्ने गरेको छ। शुक्रबार पनि डडेल्धुरामा ठुलो जनसहभागीमा बसपार्कबाट डा. केसी अनशनरत स्थलसम्म उनको माग सम्बोधनका लागी दबाब मुलक र्यालीको आयोजना गरिएको छ।

जनप्रतिनिधिले केसीबारे चासोनैे लिएनन्
अनशनरत डाक्टर केसीलाई भेट्न प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सांसद कर्ण बहादुर मल्ल र डडेल्धुराको भागेश्वर गाउँपालिकाकी अध्यक्ष कौशिला भट्ट बाहेकका कुनै पनि जनप्रतिनिधिले उनको अवस्थाबारे चासो नराखेको पाईएको छ। 

ती बाहेक ७ स्थानीय तहको रहेको डडेल्धुराका ६ स्थानीय तह सहित प्रदेशका ८७ वटा स्थानीय तहका जनप्रतिनिधि, ३१ जना प्रदेश सांसद र १६ जना प्रतिनिधिसभाका सांसदले उनीबारे चासो नलिएको हुन। 

कांग्रेस सभापति शेरबहादुर देउवाकै गृह जिल्लामा अनसन बसेका केसीको अवस्थाबारे स्वयंम उनले नै चासो नलिदा सत्तासिन दलका जनप्रतिनिधिले लिने त कुरै भएन। अहिलेसम्म कांग्रेस सांसद कर्णबहादुर मल्ल र भागेश्वर गाउँपालिकाकी अभ्यक्ष कौशिला भट्ट बाहेकका कुनैपनि निर्वाचित जनप्रतिनिधि केसीलाई भेट्न पुगेका छैनन्। 
 
यी हुन् डा. केसीका ७ बुँदे माग
१.हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।

२.विश्वबिद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस्।

३.आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस। अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस्। नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाण्डु विश्वविद्यालयको आंगिक कलेज तथा विस्तारित कार्यक्रममा तत्काल ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरियोस्।

४.संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस्।

५.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्या्एर एमबिबिएस कार्यक्रम संचालन गरियोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढंगले प्रधानमंत्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्विकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम संचालन गर्ने व्यवस्था गरियोस्।

६.क्यान्सर लगायतका महंगा औषधिहरु भारतभन्दा ४–५ गुणा महंगो भएकाले सुपथ मूल्यमा उपलब्ध गराउने व्यवस्था गरियोस्। कर्मचारी समायोजनका कारण सेवा नै अवरुद्ध भएका डडेल्धुरा लगायतका अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल दरबंदीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरियोस्।

७.संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवंडाबाट रोकी पीड़ितहरुको माग अनुसार सम्बन्धित कानुन संशोधन गर्दै पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस्।

 

कमेन्ट लोड गर्नुस