सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको चौलोले प्रख्यात ‘बडाल जाँत’ आज

२०७६ कार्तिक २१, ०१:०४ खबर संवाददाता

आजभोलि सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा धार्मिक शक्तिपीठको पूजाआजासँगै लाग्ने जात्राको रौनकता छाएको छ ।  त्यसै क्रममा बिहिबार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित जिल्लाकै ठूलो जाँत मध्येको ‘बडाल जाँत’ लागेको छ । 
उक्त स्थानमा बुधबार राती ‘रतेडी’ आज दिउँसेडी अर्थात मेला लागेको छ । धार्मिक शक्तिसँगै चौलोले प्रख्यात बडाल जाँतमा बुधबार बेलुकीदेखि विधिवत रुपमा देवताको पुजाआजा सुरु भएसँगै बिहिबार बिहान भागेश्वर देवतालाई गाँजले ढोग गरेपछि दिउँसोको मेला शुभारम्भ भएको छ । 

शुक्ल नवमीका राति पूजा गरी, जाग्राम बसेर दोस्रो दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने भन्ने जनविश्वास रहिआएको छ । दाइन, दमाह, रुइसिंग, भोकर बाजागाँजाका साथ स्थानीय हातमा ढाल तरवार खेलाई चौलो खेल्दै गाँज नचाईसकेपछि बडाल जाँत सम्पन्न हुने गर्दछ ।

मेलामा डडेल्धुराका विभिन्न क्षेत्र, डोटी, बैतडी र भारतको उत्तराञ्चल प्रदेशबाट समेत भक्तजनहरु आउने गरेको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताए । ढाल दरवार खेलाई नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ । बडाल जाँतको दिनमा बिहान भागेश्वरमा चौलो जाने र त्यहाँबाट छत (कपडाबाट बनाइएको छाता जस्तो घुमाउने) ले नगरीको तालमा ढोग गर्ने गरेको विश्वास सहित स्थानीय देउवाहरुले तरवारले शरण खेलेपछि दिवा मेलाको शुभारम्भ हुने परम्परा रहिआएको छ ।

कमेन्ट लोड गर्नुस