सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा १६ अत्याधुनिक एम्बुलेन्स २० गते वितरण गरिने

२०७६ कार्तिक १९, ०४:४३ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका १६ वटा एम्बुलेन्स झण्डै तीन महिना पछि वितरण गर्ने तयारी गरेको छ। गत साउनको अन्तीम साता अत्याधुनिक १६ वटा एम्बुलेन्स खरिद गरिएको भएपनि झण्डै तीन महिना पछि वितरण गर्ने तयारी भएको हो।

प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले २० गते एम्बुलेन्स वितरण गर्ने तयारी भईरहेको बताए। सुरुवातमा दशैं अगाडी नै एम्बुलेन्स वितरण गर्ने भनिएको भएपनि आन्तरिक व्यवस्थापनका कारण ढिलाई भएको बताउँदै उनले २० गते एम्बुलेन्स वितरणको तयारी भएको बताए। 

चालक र स्वास्थ्यकर्मीलाई एम्बुलेन्स सञ्चालन गर्नु पूर्व तालिम प्रदान गर्नुपर्ने भएकोले ढिलाई भएको उनले जानकारी दिए। चालक र स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरेसंगै प्रदेश सभा सदस्यको रहोवरमा एम्बुलेन्स वितरण गरिने छ।

सुरुवातमा सात पहाडी जिल्लाका १६ वटा निर्वाचन क्षेत्रलाई दिने भन्दै एम्बुलेन्स खरिद गरिएको थियो। तर पछिल्लो समयमा आएर पुर्वाधार पुगेका अन्य क्षेत्रलाई पनि वितरण गर्ने गरि स्वास्थ्य संस्थाको नाम हेरफेर गरिएको छ।

अहिले धनगढीको सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई पनि एम्बुलेन्स वितरण गर्ने तयारी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सवा ६ करोड बजेटमा प्रदेश सरकारले १६ वटा अत्याधुनिक एम्बुलेन्स खरिद गरेको थियो।

सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलेन्डर बाहेकका सुबिधा नभएको अवस्थामा नयाँ खरिद गरिएका १६ वटा एम्वुलेन्समा फुल एसी सहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सीजन सिलिण्डर, सुरक्षाका अन्य थुप्रै उपकरण लगायतको सुबिधा छ। 
 

कमेन्ट लोड गर्नुस