सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सहकारी संघका अध्यक्षद्धारा कागजात किर्ते गरी पत्रकारलाई जग्गा बिक्रि

२०७६ कार्तिक १९, ०२:१४ जनक विष्ट

कैलालीको साविकको हसुलिया गाविस वडा नम्बर ९ की तिर्थी डगौरा थारुको झण्डै साढे १३ कठ्ठा जग्गा २०७४ चैतमा जिल्ला सहकारी संघका अध्यक्ष समेत रहेका साविकको साडेपानी गाविस ९ का विश्वप्रकाश पौडेलको नाममा बिक्रि भएको छ। दिनेश खबरलाई प्राप्त भूमी सुधार तथा मालपोत कार्यालय धनगढीबाट प्रमाणित कागजपत्रलाई हेर्दा विश्वप्रकाशले तिर्थीको नाममा रहेको कित्ता नम्बर २२, ३३, एक सय २९ र एक सय ९६ को  झण्डै साढे १३ कठ्ठा नौ लाख ५७ हजारमा आफ्नो नाममा पास गरेका छन्।

उनले मालपोत कार्यालयबाट २०७४ को चैत ३० गते जग्गा आफ्नो नाममा पास गरेको देखिन्छ। विश्वप्रकाश पौडेलले उक्त जग्गा २०७५ जेठ ९ मा डोटीको गैरागाउँका भरतबहादुर बोहोरालाई १५ लाखमा बिक्रि गरेका छन्। पौडेलबाट जग्गा खरिद गर्ने बोहोरा नेपाल पत्रकार महासंघ डोटी शाखाका साधारण सदस्य समेत हुन्। तर उक्त जग्गाको सक्कली लालपूर्जा भने अहिले पनि डगौरासँगै छ।

जब पत्रकार बोहोरा आफ्नो जग्गा भन्दै हसुलिया पुगे त्यपछि मात्र तिर्थीको जग्गा बिक्रि भईसकेको कुरा पत्ता लागेको थियो। उक्त जग्गा स्थानीय प्रभु चौधरी मार्फत बिक्रि भएको कुरा खुलेको जग्गाधनी तिर्थीका नाती अमिर चौधरीले दिनेश खबरलाई बताए। उनले भने,‘प्रभु चौधरी मार्फत सुरुमा नक्कली कागजपत्र र हस्ताक्षर कित्र्ते गरी विश्वप्रकाशले जग्गा आफ्नो नाममा पास गरेका रहेछन्।, पछि जब पत्रकार भरत सर जग्गा मैले किनिसेके भनेर हेर्न आउनुभयो तब मात्र थाहा भयो की जग्गा बिक्रि भईसकेको रहेछ।’

जग्गा राजिनामा गर्दा तिर्थीको नभई अन्य व्यक्तिलाई खडा गरी कित्र्ते हस्ताक्षर र ल्याप्चे लगाएको कुरा मालपोतबाट सबै कागजपत्र लिएपछि मात्र थाहा भएको चौधरी बताउँछन्। जग्गा धनी तिर्थी  डगौराले पनि आफूसँग जग्गा खरिद गर्न कोही नआएको र मालपोत कार्यालय समेत नगएको दिनेश खबरसँगको कुराकानीमा उल्लेख गरिन्।

जग्गा बिक्रि भएको थाहा भएपछि पीडित पक्षले गत फागुनमा जग्गा फिर्ता गराई पाउ भन्दै कैलारी गाउँपालिकाको न्यायिक समितिमा उजुरी दर्ता गरेका थिए। तर सुनवाई नभएपछि असोजमा जिल्ला अदालत कैलालीमा कित्र्ते  जालसाज गरेको मुद्दा दर्ता गरिएको छ।

उक्त मुद्धामा अदालतले मालपोत कार्यालयका केही कर्मचारी र लेखापढी गर्ने व्यक्तिलाई समेत हाजिर हुन भनेको छ। तर अहिले सम्म उनीहरु हाजिर भएका छैनन्। चौधरी मात्र नभएर जग्गा कारोबारी प्रभु चौधरीले नै कैलारी गाउँपालिकाको मझरागाउँमा पनि जग्गा धनीलाई जालसाजी गरी जग्गा बिक्रि गरेका थिए।

स्थानीय भागिराम चौधरीको जग्गा प्रभुले जर्नल सिंहलाई बिक्रि गरिदिएका थिए अहिले जग्गा धनी आफैले रकम १५ लाख बढि तिरेर आफ्ना नाममा दुई बिघा जग्गा फर्काएको जग्गाधनी भागिरामका  छोरा तुलीराम चौधरीले बताएका छन्। यसरी कैलालीमा तेस्रो पक्षलाई जानकारी नदिएर वा विभिन्न प्रलोभनमा पारी बढि मुनाफा कमाउन जग्गा दलालहरुको सक्रियता बढेको हो।

जिल्लामा जग्गा धनीलाई जानकारी सम्म नदिएर दलालहरुले कित्र्ते हस्ताक्षर र कागजात बनाएर जग्गाको किनबेच गर्ने क्रम बढ्दै गएपछि सर्वसाधारण समस्यामा परेका छन्। त्यसमा मालपोत कार्यालयका कर्मचारी, जनप्रतिनिधी र जग्गा माफियाहरुको समेत मिलेमतोको आशंका गरिएको छ।

तर भुमिसुधार तथा मालपोत कार्यालय धनगढीका प्रमुख प्रेमबहादुर कुँवरले भने जग्गाधनीको जानकारी बेगर अर्काको नाममा जग्गा पास नहुने दावी गरे। उनले  तिर्थी डगौरा थारुको हकमा पनि त्यस नभएको हुनसक्ने बताउँदै कागजपत्र हेरेर मात्र प्रतिक्रिया दिने बताए।  
   

 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस