मृतकका परिवारलाई १३ लाख दिने सहमतिपछि कैलालीमा पूर्वपश्चिम राजमार्ग सुचारु
मृतक दुई जनाका परिवारलाई १३ लाख दिने सहमति भएपछि कैलालीमा पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ। कैलालीको पहलमानपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि आईतवारदेखि नै राजमार्ग पटक–पटक अवरुद्ध हुँदै आएको थियो।
मृतकका परिवार र बागेश्वरी यातायातबिच पटक–पटक भएको छलफलपछि १३ लाख दिन यातायात समिति तयार भएपछि राजमार्ग सुचारु भएको हो। राजमार्ग सुचारु भएपछि घण्टौदेखि रोकिएका सवारी साधनहरु सञ्चालन भएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत जिल्लाको घोडाखघोडी नगरपालिका वडा नम्वर १० पहलवानपुरमा बसको ठक्करबाट स्थानीय रामबहादुर चौधरी र मानवहादुर चौधरीको मृत्यु भएको थियो।
दोधारा चाँदनीबाट नेपालगञ्जका लागि छुटेको भे १ ख १७३२ नंम्वरको बसले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका–१० पहलमानुरमा से ३ प ६३७६ नंम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै र एक जनाको अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो।
घटनास्थलमै ज्यान गुमाएका रामवहादुरको शव उठाउन नदिएका स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए। बस चालक बाँकेका ३२ वर्षीय डिल्लीबहादुर योगीलाई इलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक हरिशरण भट्टले बताए।