सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा संघर्ष समिति गठन गर्दै वडा कार्यालय नसार्न माग

२०७६ कार्तिक १७, १२:२७ खबर संवाददाता

धनगढीमा संघर्ष समिति गठन गर्दै वडा कार्यालय स्थानान्तरण गर्न नहुने माग गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ७ को कार्यालय स्थानान्तरण गर्ने निर्णय भएपछि स्थानीयले संघर्ष समिति गठन गर्दै नसार्न माग गरेका हुन्।

मोती राना थारुको संयोजकत्वमा गठित २१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ। अहिले हुलाकी राजमार्गको मनहेरामा रहेको वडा कार्यालयलाई देवरिया (जाखोर) तालको शिव माध्यामिक विद्यालयको जमिनमा सार्ने वडा कार्य समितिले निर्णय गरेको छ। हुलाकी सडक क्षेत्रबाट वडा कार्यालय नसार्न संघर्ष समितिले आग्रह गरेको छ। समितिले हुलाकी राजमार्गसंग जोडिएको कालिका मन्दिरको जमिनमा वडा कार्यालयको भवन निर्माण गर्न माग गरेका छन्। संघर्ष समितिका संयोजक मोती रानाथारुले हुलाकी सडक क्षेत्रमा नै वडा कार्यालय हुनुपर्ने बताए। हुलाकी सडकसंग जोडिएको कालिका मन्दीरमा वडा कार्यालका लागि जमिन भएपनि वडा अध्यक्षले एक्लौटी जाखोर ताल देवरीया जंगलमा सार्न खोजेको उनको आरोप छ।

मनहेराका भीमबहादुर विसीले वडा कार्यालय कालिका मन्दिरमा नै उपयुक्त हुने बताए। उनले वडा अध्यक्षले छलफल समेत नगरी वडा कार्यालय स्थानान्तरण गर्न खोजेको आरोप लगाए। जाखोर तालको दक्षिणमा रहेको शिव माध्यामिक विद्यालयले वडा कार्यालयका लागि जमिन दिने सहभागिता गरेकाले वडा कार्यालय स्थान्तरणको तयारी गरिएको हो। विद्यालयले वडा कार्यालय, स्वास्थ्य कार्यालय, जेष्ठ नागरिकका लागि भवन निर्माणका लागि जमिन दिने वडा कार्यालयसंग सहमती गरेको छ। वडा अध्यक्ष सीताराम रानाले आफ्नो घर भएको क्षेत्रमा वडा कार्यालय स्थानान्तरण गर्न खोजेको मनहेराका हुलियादेवी रानाले बताईन्। मुख्य सडकमा नै वडा कार्यालयको भवन निर्माण गर्नुपर्ने माग उनको छ।

तर वडा अध्यक्ष सीताराम रानाले कालिका मन्दिर व्यवस्थापन समितिको शर्त पुरा गर्न नसकिने भएपछि कार्यालय जाखोर तालमा सार्न लागिएको बताए। ‘कालिका मन्दिर व्यवस्थापन समितिले पाँच सर्टरको माग गरेको थियो।’ वडा अध्यक्ष रानाले भने, ‘तर हामीसंग मन्दिरका लागि सर्टर निर्माण गर्न बजेट छैन्। शिव माध्यमिक विद्यालयले निःशुल्क जमिन दिने निर्णय गरेपछि वडा कार्यालय सार्ने निर्णय गरेका हौ।’ ‘मन्दिर व्यवस्थापन समितिले १२ कठ्ठा जमिन भवन निर्माणका लागि दिन तयार भएपछि वडा कार्यालय सार्न निर्णय भएको हो। हामीले वडा कार्यालय, स्वास्थ्य भवन र जेष्ठ नागरिकका लागि भवन निर्माण गर्ने छौ।’

कमेन्ट लोड गर्नुस