सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीको आज पनि डायलासिस

२०७६ कार्तिक १४, ११:२९ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि मिर्गौलाको डायलासिस गरिने भएको छ। बुधबार धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस सुरु गरिएको र आज पनि डायलासिस गरिने अस्पताल स्रोतले जनाएको छ।  तर अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक तथा ग्राण्डी अस्पतालका मिर्गौला विभाग प्रमुख प्राध्यापक डा. दिब्या सिंह शाहले निकालेको विज्ञप्तिमा भने डायलासिसबारे केही भनिएको छैन।

बुधबार साँझ निकालिएको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक परीक्षण पूरा भएपछि बिहीबारसम्ममा अस्पतालबाट डिस्चार्ज गरिने उल्लेख छ। तर अस्पतालका एक डाक्टरले नाम उल्लेख नगर्ने शर्तमा दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीको थप डायलासिस गर्नुपर्ने भएकाले उनी अझै केही दिन अस्पतालमै बस्नुपर्ने सम्भावना छ। ती डाक्टरले प्रधानमन्त्रीको रगतमा हानिकारिक क्रेटिनाइनको मात्रा बढी देखिएकाले थप डायलासिस गर्न लागिएको तथा  उनलाई संक्रमणको पनि जोखिम रहेकाले कडा खालको एन्टिबायोटिक चढाइएको पनि जानकारी दिएका छन्। 

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गाैला प्रत्यारोपणपछि उनले नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन्। यसअघि प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य जाँच हुन्थ्यो। तर सहजताको लागि निजी चिकित्सक शाह नै मिर्गौला विभागको प्रमुख रहेको ग्राण्डीमा उनको स्वास्थ्य जाँच हुन थालेको हो।

यसअघि गएको साउन र भदौमा प्रधानमन्त्री ओलीको सिंगापुरमा उपचार भएको थियो। त्यतिबेला शरीरबाट ‘एन्टिबडी’ हटाउन ‘प्लाज्मा फेरेसिस’ गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि ओलीलाई धपेडी नगर्न र भिडभाडबाट टाढै रहन डाक्टरले सुझाव दिँदै आएका छन्। तर उनी नियमित भेटघाट र अरु कार्यक्रममा सक्रिय सहभागी हुँदै आएका छन्। तिहारमा पनि उनी सिस्नुपानी नेपालको देउसी भैलो कार्यक्रममा सहभागी भएका थिए।

कमेन्ट लोड गर्नुस