सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल स्तरोन्नतीको ७० प्रतिशत काम सकियो, मंसिर भित्रै सम्पन्न गर्ने दावी

२०७६ कार्तिक १३, ०१:४७ खबर संवाददाता

धनगढी विमानस्थल स्तरोन्नतीको ७० प्रतिशत काम पूरा भएको दावी गरिएको छ। विमानस्थल मर्मत सम्भार तथा स्तरोन्नतीको ठेक्का पाएको लुम्बिनी कोसी एण्ड न्यौपाने खड्का कृष्ण जेभीले ७० प्रतिशत काम पूरा भएको जनाएको हो। जेभीका इन्जिनीयर सचिन थापाले विमानस्थलको ७० प्रतिशत काम सकिएको भन्दै मंसिर भित्रै पूरै काम सम्पन्न गर्ने दावी गरे।

थापाले गत बैशाख २२ देखि जेठ २९ गते सम्म जीर्ण रहेको विमानस्थलको धावनमार्ग स्तरबृद्धि र ओभरलेको काम सम्पन्न भएको बताए। उनले १८ सय मिटरको धावनमार्ग मध्ये साढे आठ सय मिटर नयाँ कालोपत्रे गर्दै स्तरबृद्धि गरिएको दिनेश खबरलाई जानकारी दिए। बाँकी क्षेत्रमा ओभरले गरिएको छ।

पार्किङ क्षेत्र विस्तार र नालाको काम मात्र बाँकी भएकाले मंसिर भित्रै स्तरोन्नतीको कार्य सम्पन्न गरिने इन्जिनीयर थापाले बताए।  विमानस्थलको धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारका लागि झण्डै १८ करोडमा ठेक्का सम्झौता गरिएको थियो। लुम्बिनी कोसी एण्ड न्यौपाने खड्का कृष्ण जेभीले १७ करोड ८८ लाखमा एक वर्ष भित्र सबै काम सम्पन्न गर्नेगरी गत चैतमा ठेक्का पाएको थियो।

नेपाल नागरिक उड्यान प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ। यस्तै अहिले ३ वटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अव क्षेत्रफल विस्तार भएपछि थप एक गरी चार जहाज पार्कीङ गर्न सकिने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए।

उनले निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्नका लागि ताकेता समेत गरिने जानकारी दिए।  यस्तै चालु आर्थिक बर्षमै धवनमार्ग वृद्धि, दमकलको सुविधा थप, एप्रोच लाईट र अन्य लाईटहरु थप, सञ्चार उपकरण वृद्धि, लगायतका सेवा थप र विस्तारको काम अगाडी वढिरहेको प्राधिकरणको दावी गरेको छ।    
 
 

कमेन्ट लोड गर्नुस