सुदूर नेपाललाई विश्वसँग जोड्दै

पिथौरागढको यसै घरमा भएको थियो, सुदूरपश्चिमका तीन मजदुरको हत्या

फोटो :अमर उज्याला
फोटो :अमर उज्याला
२०७६ कार्तिक ११, १०:११ खबर संवाददाता

भारतको पिथौरागढमा सुदूरपश्चिमका तीन जना मजदुरको हत्या भएको घरको फोटो सार्वजनिक भएको छ। भारतीय पत्रिका अमर उज्यालाले पिथौरागढको मडधुरा गाउँमा हत्या गरिएका तीनैजनाको शव प्रहरीले उठाउदै गरेको तस्बिर सार्वजनिक गरेको छ। बैतडीको पुरचौँडी नगरपालिका वडा नम्बर ५ दहतालीका ३६ वर्षीय हरे बोहरा, २७ बर्षीय बीरा बोहरा र सोहि ठाउँ वडा नम्बर ४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएको थियो।

उनीहरुको कार्तिक ८ गते हत्या भएको भए पनि आईतबार मात्रै उनका परिवारलाई जानकारी प्राप्त भएको थियो। हत्यामा पर्ने हरे र बीरा जिल्ला समन्वय समिति बैतडीका उपप्रमुख धनबहादुर बोहराका सहोदर भाई समेत हुन्। उनीहरुको धारिलो हतियारले रेटेर हत्या गरिएको खबर भएको छ। उनीहरु पिथौरगढको मडमा डेढ बर्षदेखि मजदुरी गर्दै आएका थिए।

हरेकी श्रीमति किर्रा बोहरा फरार रहेकाले सो घटनामा उनको संलग्नता हुन सक्ने आशंका परिवारले गरेको छ। मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि पिथौरागढमै राखिएको छ। टाइम्स अफ इन्डियाका अनुसार उनीहरु बसेको घर गाउँभन्दा केही टाढा जंगलमा पर्दछ।

स्थानीयबासीले प्रहरीलाई दिएको जानकारीअनुसार केही व्यक्तिहरु जिप चढेर उनीहरु बसेको घरमा गत शुक्रबार आएका थिए। घरको भान्सा कोठामा मासु र अन्य खानेकुराहरु पनि भेटिएको छ। भारतीय मिडियाहरुका अनुसार अलमोडाबाट घटनास्थलमा आएको फरेन्सिक जाँचको टोलीले फिंगर प्रिन्टलगायतका नमूना संकलन गरेर फर्किएको छ। भारतीय प्रहरीले हत्याको अनुसन्धान गर्न र हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न तीनवटा टिम गठन गरेको टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस