धनगढीमा तिहार विशेष पसल राखी तीन दिनमै हजारौँ कमाएर लैजान्छन् भारतीय
भुवन भट्ट– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा तिहार सुरु हुन अगावैदेखि भारतीय मूलका नागरिकले सडक छेउमा ठेला राख्दै कारोबार सुरु गरेको देख्न सकिन्थ्यो। जिल्ला प्रशासन कार्यालय नजिकैको सडक छेउमा तिहारका सामान झकिझकाउ गरी सजाएर बिक्रिका लागि लस्करै पसलहरु राखिएका छन्।
ती पसलमा पुग्दा नेपाली मूलका बिक्रेतालाई पाउन मुस्कील नै पर्छ भने अधिकांश तिहारलाई मात्र लक्षित गर्दै कारोबारका लागि भारतबाट धनगढी आएका नै भेटिन्छन्। कतिपयको बसोबास धनगढीमा पनि छ। उनीहरुले भारतमा निर्मित पूजा, फोटो लगायतका दिपावलीमा आवश्यक पर्ने सामान बिक्रि गरी हजारौँको काराबार गरी लैजाने गरेका छन्।
धनगढीमा तिहार बिशेष पसल थापेका भारतीय व्यापारी नन्ने शक्सेनले तिहार लक्षित पसलबाट राम्रो आम्दानी हुने गरेको बताए। तिहारमा भारतमा उत्पादन भएका सामानले तिहारमा बजार पाएपछि नेपाली उत्पादन विस्थापीत हुदै गएका बेला भारतीय मुलकै नागरिकले धनगढीमा आएर कारोबार थालेका हुन्।
परापुर्वकाल देखी प्रयोग गर्दै आएका सयपत्री फुलका माला, दीयो लोप हुदै गएका छन् भने भारतीय कागजका माला, विद्युतीय बत्तीले नै बजार लिएको छ। उनीहरुले भारतबाट ल्याएको समानमा उत्पादीत सामाग्री नेपाल ल्याउदा लागतको दोब्बर फाईदा हुने गरेको शक्सेनले बताए।
भारतबाट आएर तिहारलाई लक्षित गरी पसल थाप्ने मात्र नभएर धनगढीमै ठेला व्यवसाय गर्नेहरुमा पनि अधिकांश भारतीय मुलकै नागरिक भेटिन्छन्। अहिले दिपावलीका बेला पनि उनीहरुले सीमावर्ती बजारबाट सामान आयात गर्दै राम्रो आम्दानी गरिरेका छन्।
ठेला व्यवसायीले दैनिक दुई हजार भन्दा बढि मुनाफा कमाउने गरेका छन् भने लागतको दोब्बर कमाउने अठोट पनि उनीहरुको छ। जिल्ला प्रशासन कार्यालय अगाडी ठेला राखेका भारतीय व्यापारी रबी जैरुले लगानीको दोब्बर बढि आम्दानी गर्ने उद्देश्यले नै हितार विशेष पसल थापेको बताए।
नेपाली बजारमा कारोबार गरी भारतीय व्यापारीहरुले छोटो समयमै राम्रो आम्दानी गर्दा नेपाली मुद्रा भने बाहिरिरहेका छ। तर व्यवसायीहरुबाट स्थानीय तहले कर भने संकलन गर्ने गरेको छ। तिहारमा नेपाली उत्पादनले भारतीय बजारसंग प्रतिस्पर्धा गर्न नसक्दा पनि समस्या हुदा उनीहरुलाई मौका मिलेको कतिपय बताउँछन् त कतिपयले नेपालीहरुमा अ झै काम गरेर सानो भइन्छ भन्ने गलत सोचाई नहटेको पनि बताउदै आएका छन्।