सुदूर नेपाललाई विश्वसँग जोड्दै

फूल उत्पादनमा रमाउँदै जनयुद्धका पूर्वलडाकु

२०७६ कार्तिक १०, ०७:३३ खबर संवाददाता

तत्कालीन माओवादीको सशस्त्र जनयुद्धका क्रममा मोर्चा सम्हालेका मकवानपुरका दुई पूर्वलडाकु मौसमी उत्पादन फूल खेतीमा रमाउन थालेका छन्। ०५४ सालबाटै युद्धमा होमिएका हेटौंडा ६ चौघडाका बालकृष्ण चौलागाई र हेटौंडा १२ का वडा अध्यक्षसमेत रहेका ललित घलान व्यवसायिक फूल खेतीमा लागेका हुन्। पछिल्लो समय प्रदेश सरकारले भारतबाट भित्रीएका सयपत्री फूललाई निरुत्साहित गर्नका लागि स्थानीय तहमा नै फूल खेती गर्नुपर्ने घारणा राखेसँगै मकवानपुरका दुई जनयुद्धका कमान्डर सहित अन्य किसान पनि व्यवसायिक फूल खेतीमा लागेका छन्।

समयअनुसार फूलको माग बढ्दै गएपछि अहिले मकवानपुर फूल खेतीमा आत्मनिर्भर देखिन थालेको छ। विभिन्न समयमा हुने कार्यक्रममा जनयुद्धका कमान्डरहरुले थालेको व्यवसायिक फर्मबाट फूलको मागलाई धान्ने गरिएको छ भने अन्य चाडपर्वका समयमा आवश्यकता अनुसार अन्य किसानले पनि खेती गर्ने गरेका छन्। मकवानपुरमा व्यावसायिक रुपमा फूलखेती गर्ने किसानहरु बढ्दै गएका छन्। फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि तिहारका लागि मात्र नभएर वर्षैभरी फूलखेती गरेर राम्रो आम्दानी लिने किसानहरु बढ्दै गएका हुन्।

हेटौंडा १२ का वडा अध्यक्ष समेत रहेका ललित घलानले ५ कठ्ठा जमिनमा व्यवसायिक खेती गर्दै आएका छन्। उनले यसवर्ष फूलबाट मात्रै करिब ३ लाख रुपियाँ बराबरको आम्दानीको अपेक्षा गरेको बताए। माग अनुसार र्पुयाउन मुस्किल रहेको उनले बताए। जनयुद्धमा होमिएका हेटौंडा ६ चौघडाका बालकृष्ण चौलागाईले व्यवसायीक फर्म दर्ता गरेर खेती थालेका छन्। उनले यस वर्ष आफूले खेती गरेको बाहेक बाहृय किसानले गरेको फूलको उत्पादनलाई आफैंले संकलन गरेर बिक्री थालेका छन्। सबै गर्दा यो सिजनमा ५ लाख रुपियाँ बराबरको बिक्रीको आँकलन रहेको उनले बताए।

तिहारका लागि नवलपरासी, नारायणगढ तथा हेटौंडाबाट फूलका बिक्रेताहरुले सम्पर्क गरी तिहारअघि नै फूल टिपेर लैजानेका लागि अर्डर भइसकेको मञ्जुश्री पुष्प खेती फर्मका सञ्चालक बालकृष्ण चौलागाईले बताए। उनकाअनुसार अहिले फूलखेती भएको स्थलबाटै फूल धमाधम बिक्री भइरहेको छ। प्रति गुच्छा एक रुपियाँ २० पैसाका दरले फूल बिक्री भइरहेको उनले बताए।मकवानपुरको मनहरीका हरिशरण अर्यालसहित जिल्लामा व्यावासयिक रुपमा फूल खेती गर्ने किसानहरुको संख्या बढेको छ।

पहिले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तरगत फाखेलमा मात्र फूल खेती गरिँदै आएको भएपनि पछिल्ला वर्षमा मकवानपुरको दशवटै स्थानीय तहमा तिहारलाई लक्षित गरेर फूल खेती गरिँदै आएको छ।

बेमौसमी रुपमा भने धेरैले यसको खेती गर्न थालेका छन्। तिहारमा धेरै माग हुने भएकाले सबैले दीपावलीलाई लक्षित गरी सयपत्री फूल उत्पादन गरेका छन्। नेपालमा पुष्पखेतीको राम्रो सम्भावना रहेको र छोटो सयममै राम्रो आम्दानी पाईने भएकाले पुष्पखेती गरिएको उनीहरुको भनाइ छ। अझै पनि भारतबाट करोडौंका फूल नेपाल भित्रिएको छ। तर, मकवानपुरमा व्यावसायिक रुपमा फूलखेति गर्ने किसानहरु बढ्न थालेपछि जिल्लामा भारतीय फूललाई विस्थापित गरेको छ। अनलाईनखबरबाट साभार।
 

कमेन्ट लोड गर्नुस