विदेश जाने तयारी छोडेर च्याउ खेतीमा
काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–६ का समशेर रानामगरले विदेश जाने तयारी छोडेर साझेदारीमा च्याउ उत्पादनतर्फ लागेपछि अहिले मनग्य आम्दानी गरिरहेका छन्। यसअघि म्यानपावर धाउँदै कुन देशको प्रवेशाज्ञा लाग्छ र त्यहाँ पाइने काम तथा सेवा सुविधा कस्तो छ भन्दै बुझेर हिँडिरहेका उनी त्यसलाई छोडेर अहिले च्याउ खेतीर्फत उन्मुख भएका हुन्। “म विद्यार्थी मान्छे, अध्ययन सकेपछि केही काम नपाएर विदेश जाने भनेर राहदानी बनाएर मेनपावर धाउने र कामको खोजीमा थिएँ।”
उनले भने, “त्यही बेला छिन्ताङ दाईसँग भेटभएपछि विदेश जानुभन्दा यहीँ मिलेर लगानी गरी केही काम गरौं भनेकाले विदेशिने सोच त्यागेर च्याउखेतीमा लागिरहेको छु।” विविएस तह उत्तीर्णसमशेर विदेशिने सोच त्यागेर अहिले सामूहिक खेतीमा लागिरहेका छन्।
उनी सँगै हिजो युद्धका बेला गाउँ–गाउँमा पुगेर देशको व्यवस्था बदल्न जनतालाई राजनीतिक प्रशिक्षण दिँदै हिँडेका मीना पाख्रिनलाई पनि यतिबेला पनौती नगरपालिका–८ नयाँबस्ती बगरमा प्लास्टिकको टहराभित्रको सानो घरमा च्याउ टिप्न भ्याइनभ्याइ छ। पार्टीको पूर्णकालीन कार्यकर्ता खानीखोला गाउँपालिका–२ घर निवासी पाख्रिनले घरपरिवार त्यागेर युद्धमा होमिएकामा अहिले देशको राजनीतिक व्यवस्थाले कोल्टेफेरेपछि आर्थिक समृद्धिको बाटोमा लागेको बताए।
मान्छे परिस्थिति अनुसार हिँड्न र जिउन सिक्नुपर्ने उनकोे भनाइ थियो। विसं २०५५ देखि जनयुद्धमा लागेर राजनीतिक जीवन शुरु गरेका उनी तत्कालीन नेकपा माओवादी केन्द्रका मकवानपुर जिल्ला सह–सेक्रेटरी र कोषाध्यक्ष हुँदै काभ्रेपलाञ्चोक जिल्ला कमिटी सदस्य र अहिले नेकपाकाको जिल्ला सदस्य हुन। पार्टीको जिम्मेवारीसँगै पछिल्लो समयमा तरकारीखेतीमा व्यस्त मीना हिजोआज च्याउ फलाएर बजार व्यवस्थापनको सोचमा हुन्।
उनी विगत तीन वर्ष अघिदेखि आम्दानीको पाटोमा कृषि पेशालाई अगाल्दै अर्थोपार्जनमा लागेका हुन्। अहिले उनी च्याउ उत्पादनमै केन्द्रित छन्। करीब तीन रोपनी जग्गामा रू नौ लाखको लगानीमा मिलेर सञ्चालन गरेको खेतीमा जिम्मेवारीसमेत बाँडफाँड गरेर काम गरिरहेका मीना टहरामा भएको च्याउ रेखदेख र फलेको च्याउन टिप्ने गर्छन, अर्का साझेदार समशेर प्राविधिक पाटोको काम गर्छन भने रिजन र रमेश उत्पादन भएको च्याउ बजारमा पु¥याउने गर्छन। एक महीना अगाडि शुरु गरिएको काम अहिले धमाधम उत्पादन भएर बिक्री हुन थालिसकेको छ।
‘भर्खरै फल्न शुरु गरेको छ, अहिले दैनिक एउटै टनेलमा ७०÷८० केजी च्याउ उत्पादन भइरहेको छ।’ उनले भने, “अबको केही दिनमा नै सबै टनेलमा च्याउ फल्न थालेपछि हजार केजीसम्म च्याउ फल्छ, एकैपटक त्यत्रो फलेपछि बजारीकरणका लागि समस्या हुनसक्ने भएकाले पनौती र बनेपाका जिल्लाको बजारमा मात्रै नभइ काठमाडौँको कालीमाटीसम्म लैजाने व्यवस्थाको लागि आवश्यक व्यवस्थापन गरिरहेका छौं।”
“व्यावसायिक काममा लाग्दा राजनीतिमा पनि मद्दत पुगेको उनको भनाइ थियो। ‘साथीभाइसँगै मिलेर काम गरेका कारण पार्टीको काम हुँदा एकले अर्कोलाई जिम्मा दिएर जान पाउने भएकाले धेरै सहज भइरहेको छ।” उनले भने, “पार्टीले पनि उत्पादनमा जोड दिने कार्यदिशा अगाडि सारेको र सरकारले पनि आर्थिक समृद्धिको नारालाई अगाडि सारेको अवस्थामा आफैँ पनि त्यसमा सहभागी हुनुपर्छ भन्ने लागेर कृषि पेशामा लागेको हू।” उनीहरुले ११ वटा टनेलमा दुई हजार सात सय वटा बल राखेर च्याउखेती गरिरहेका छन्। रासस