सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–स्याउले सडकको अनुगमन, कालोपत्रेका लागि यसै महिना टेण्डर हुने

२०७६ कार्तिक २, १२:२४ रोशन भट्ट

सुदूरपश्चिम प्रदेशको समृद्धीसंग जोडिएको धनगढी–दीपायल द्रुत मार्ग अन्तरगतको धनगढी–स्याउले खण्डको अनुगमन गरिएको छ। शनिवार मन्त्री, प्रतिनिधि सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधी सहित आयोजना प्रमुखको टोलीले अनुगमन गरेको हो। सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह वोहरा, प्रतिनिधि सभा सदस्य नारदमुनी राना, सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अर्जुन कुमार बम, धनगढी उप–महानगरपालिकाकी उप–मेयर सुशिला मिश्र भट्ट लगायतको सहभागिता रहेको थियो।

सडक आयोजना प्रदेश सरकार मातहत बाट संघीय सरकारले खोसेको भएपनि सडक निर्माण गर्ने दायित्व आफ्नो पनि भएको सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहराले बताए। प्रतिनिधि सभाका सदस्य नारदमुनी रानाले प्रदेश सरकारले वर्ष भरीको पुरै बजेट सडकमा खर्च गरेपनि नबन्ने अवस्था भएकोले फेरी संघीय सरकारले योजना खोसेको बताए। अनुगमनका क्रममा धनगढी उप–महानगरपालिकाकी उप–मेयर सुशिला मिश्र भट्टले धनगढी–स्याउले सडक कालोपत्रे गर्नको लागि जग्गाको विषयमा उत्पन्न हुने विवाद समाधानमा पहल गर्ने बताईन।

सडक आयोजना प्रमुख समेत रहेका सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अर्जुन कुमार बमका अनुसार धनगढी–स्याउले १० किलोमिटर सडक कालोपत्रे गर्नको लागि तिहार लगत्तै स्टीमेट तयार पारिने छ। ‘सडक विभागले स्वकृती दिएपछि कार्तीक भित्रै सडक कालोपत्रेका लागि टेण्डर हुन्छ।’ उनले भने। लामो समयदेखि अलपत्र परेको उक्त सडक खण्डले आसपासका स्थानीय संगै आवातजावात गर्नेहरुलाई निकै सास्ती हुने गरेको स्थानीय बल बहादुर महराले बताए। सडकको पटक–पटक अनुगमन हुने गरेको भएपनि कालोपत्रे नहँुदा स्थानीयलाई निकै समस्या भएको उनले बताए।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस