सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा दर्जनौ पुलको निर्माण अलपत्र

२०७६ कार्तिक २, ०६:५० खबर संवाददाता

सुदूरपश्चिम प्रदेशमा दर्जनौ पुलको निर्माण बर्षाैदेखि अलपत्र परेको छ। प्रदेशमा दशक अगाडी निर्माण सुरु गरिएका पुलका योजना र केही बर्ष अगाडी मात्रै निर्माण सुरु गरिएका योजना समेत विभिन्न कारणले अलपत्र परेका हुन्।

निर्माण व्यवसायीको लापरवाही, निर्माण अघिका प्रक्रिया पुरा नगरी शिलान्यासमा हतार गर्नु, बजेट अभाव र आयोजना कार्यान्वयनको जिम्मेवारी पाएको निकायको उदासिनताका कारण दर्जनौ पुलका योजनाको निर्माण अलपत्र परेको हो।

पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर हेर्दै आएको सडक डिभिजन कार्यालय कञ्चनपुरको मातहतमा अहिले ४० बढि पुलको निर्माण भईरहेको छ। ति मध्ये केही पुल भने दशक अगाडी नै निर्माण सुरु गरिएका पनि छन्।

तर अधिकासं पुलको निर्माण गति भने निकै सुस्त रहेको छ। यद्यपी यो मंसिर भित्रै १५ वटा पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सडक डिभिजन कार्यालय महेन्द्रंनगरका प्रमुख अर्जुनकुमार बमले बताए।

‘पुलको योजना ल्याउन र शिलान्यास गर्न नेतारुहरुले हतार गर्ने र कर्मचारीलाई दवाव दिने गरेका छन्,’ उनले भने, ‘कतिपय स्थानतमा त डिजायन स्टीमेट विना नै पुलको शिलान्यास गरिदिने परिपाटी पनि छ। निर्माण अघिका प्रक्रिया पुरा नगर्दै पुलको निर्माण सुरु गर्दा समस्या भईरहेको छ।’

सडक डिभिजन कार्यालय डोटीले पनि नयाँ १० र पुराना १० गरि २० वटा पुलका योजना कार्यान्वयन गर्दै आएको छ। पुलको शिलान्यास गर्दा नेताहरु पनि निकै जागरुक भएका थिए तर अहिले अधिकासं पुलको निर्माण अलपत्र परेको अवस्थामा कुनै पनि निकायलाई चाँसो छैन्।

कुनै योजनामा भने ठेकेदारको लापरवाही देखिएको सडक डिभिजन कार्यालय डोटीका प्रमुख बलीराज मल्लले बताए। कुनै योजनामा स्वयम योजना कार्यान्वयन गर्ने निकायको पनि कमजोरी देखिएको उनले स्विकार गरे। प्राविधिक कर्मचारीको अभाव हुँदा समेत समस्या भईरहेको उनले बताए। 

सडक डिभिजन कार्यालय बैतडी र अछामको जिम्मा पनि दर्जनौ पुलको निमाण गर्नुपर्ने रहेको छ। पहाडी जिल्लामा अधिकासं पुलको निर्माण बर्षाै अगाडी सुरु भएर निर्माण अवधी पनि सकिएको छ भने पटक–पटक म्याद थप पनि गरिएको छ। तर पुलको निर्माण गति सुधार हुन सकेको छैन्। 

पुल निर्माण सुरु भएको दशक वितिसक्दा समेत सम्पन्न नभएपछि धेरैले तिनै खोला र नदी तर्दा ज्यान गुमाईसकेका छन्। कतिपय स्थानमा बर्षातमा आवतजावत नै रोकिने गरेको छ। तर शिलान्यास गर्न हतार गर्ने यस क्षेत्रका नेताहरुको पुल निर्माण अलपत्र परेको विषयमा भने चाँसो छैन्। 
 

कमेन्ट लोड गर्नुस