डाक्टर र एम्बुलेन्स चालकको निधनपछि सेती प्रादेशिक अस्पतालमा शोकसभा
सेती प्रादेशिक अस्पतालमा कार्यरत एक जना डाक्टर र एक जना एम्बुलेन्स चालकको निधन भएपछि मृतआत्माको चीरशान्तिको कामना गर्दै अस्पतालमा शोकसभा आयोजना गरिएको छ। सेती अस्पतालमा कार्यरत डाक्टर प्रणयजंग शाह र एम्बुलेन्स चालक खामवहादुर विष्टको निधन भएपछि शोक सभा गरिएको हो।
अस्पतालको आयोजनामा अस्पतालमै शोकसभाको भएको हो। सभामा अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेय, पूर्व मेसु डाक्टर गणेशवहादुर सिंह, चिकित्सक संघ सुदूरपश्चिमका अध्यक्ष डाक्टर प्रमोद जोशी लगायतमा अस्पतालका कर्मचारी सहभागी थिए।
बाल रोग बिशेषज्ञ डाक्टर शाहको काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो। विदामा चितवन गएको समयमा एक्कासी बेहोस भएपछि उनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो। थप उपचारका लागि मेडिसिटी अस्पताल काठामडौँमा भर्ना लगिएकोमा सोही अस्पतामा उपचारका क्रममा उनको निधन भएको थियो।
सेती प्रादेशिक अस्पतालका अनुसार शाहको निमोनिया बिग्रिएपछि मल्टिपल अर्गान फेल भएका कारण मृत्यु भएको हो।
३४ बर्षीय डाक्टर शाह दुई बर्षदेखि सेती अस्पतारमा कार्यरत थिए। सुरुमा ज्यालादारीमा काम गर्दै आएका उनी केही समय यता करारमा कार्यरत थिए। यस्तै अस्पतालमै कार्यरत एम्बुलेन्स चालक विष्टको झाडापखलाका कारण केही दिन अगाडी निधन भएको थियो।