सुदूरपश्चिमका ५ जिल्लामा सीप विकासद्वारा तालिममा सवा दुई करोड खर्च
सुदूरपश्चिम प्रदेशका स्थानीय तहले तालिमको नाममा बर्षेनी करोडौ खर्च गरिरहेको अवस्थामा प्रदेशका ५ जिल्लामा सीप विकासले पनि तालिम प्रदानकै नाममा करोडौँ खर्च गर्दै आएको छ। व्यवसायीक तथा सीप विकास केन्द्रले पछिल्लो तीन वर्षको अवधीमा प्रदेशका ५ जिल्लाभरी तालिममा मात्रै सवा दुई करोड खर्च गरेको छ।
दुई हजार ८ सय १९ युवालाई तीन वर्षको अवधिमा व्यवसायिक तथा सीप विकास तालिम प्रदान गरिएको दावी समेत गरिएको छ। तालिम लिएका युवाहरु स्वरोजगार भए, नभएको बारेमा भने केन्द्र बेखबर रहेको छ। व्यवसायिक तथा सीप विकास तालिम केन्द्र धनगढीले विद्युत जडान, पलम्बीङ, केश श्रृंगार, कटाईसिलाई, मोटरसाईकल मर्मत, ईलेक्टोनिक्स, वेल्डिङ, कार्पेट, हाते होजियारी, हाते कडाई र सिलाई मेसिन मर्मतको तालिम दिदै आएको छ।
सुदूरपश्चिमका पाँच जिल्लाका युवाहरुलाई स्वरोगार बनाउन तालिम दिइदै आएको प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको व्यवसायिक तथा सीप विकास तालिम केन्द्र धनगढीका प्रमुख भुवनराज पन्तले बताए। विदेशबाट आउने कामदारलाई रोकेको छ। उनले भने, ‘पहिले भारतबाट आएर काम गर्ने कामदारहरु थिए।
तालिम पछि नेपाली काम्दारहरु पनि उत्पादन भएका छन्। उनीहरुले काम गर्दै छन्। स्वरोजगारकोदरमा बृद्धि भएको छ।’ तीन आर्थिक वर्षमा सुदूरपश्चिमका पाँच जिल्लाका दुई हजार आठ सय १९ युवालाई सीप विकासको तालिम प्रदान गर्दा दुई करोड २४ लाख ७५ हजार खर्च भएको छ।
उनीहरुलाई एक महिने, तीन महिने र ६ महिने तथा ४५ दिने तालिम दिइएको छ। आर्थिक वर्ष २०७३-०७४ मा एक हजार ७०, २०७४-०७५ मा एक हजार ३५ र गत आर्थिक वर्ष २०७५-०७६ मा सात सय १४ जना युवाले तालिम लिएको केन्द्रको तथ्यांकले देखाउँछ।
चालु आर्थिक वर्षका लागि पनि प्रदेश सरकारले एक करोड ५५ लाख ३२ हजार सीप विकास तालिम सञ्चालनका लागि विनियोजन गरेको प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको व्यवसायिक तथा सीप विकास तालिम केन्द्र धनगढीका सूचना अधिकारी प्रकाश बहादुर बोहराले बताए।
केश श्रृंगार, कटाई सिलाई, मोटसाईकल मर्मतका तालिम केन्द्रमा नै सिकाईदैछ। अन्य तालिमहरु भने स्थानीय तहसंगको समन्वयमा स्थानीय तहमा नै सञ्चालन हुदै आएको छ। स्थानीय तहमा सीप विकास तालिमका लागि केन्द्रबाट प्रशिक्षक आउने गरेका छन्। तालिम लिएका युवाहरु स्वरोजगार भए, नभएको बारेमा भने केन्द्र बेखबर रहेको छ।
तर सूरपश्चिम प्रदेशको समाजिक विकास मन्त्रालय मातहतको व्यवसायिक तथा सीप विकास तालिम केन्द्र धनगढीका प्रमुख पन्तले ६० प्रतिशत युवाहरु स्वरोजगार भएको दावी गरेका छन्। वि.स २०३३ सालमा यो कार्यालय स्थापना भएको थियो। उनले भने, ‘श्रम बजारको माग अनुसार तालिम दिदै आएका छौँ।
श्रमीक आपूर्ती केन्द्रका रुपमा स्थापना भएको केन्द्रले अहिले सम्म सीप विकासका लागि तालिम दिदै आएको छ।’ कैलाली र कञ्चनपुरमा मात्र सीप विकास तालिम केन्द्र छन्। पहाडी जिल्लामा पनि केन्द्र स्थापना गर्न आवश्यक रहेको प्रमुख पन्तले बताए।