सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहनापुल–अत्तरिया ६ लेन सडकमा पर्ने तीन पुलको डिपिआर अझै तयार भएन

२०७६ असोज २९, ०६:४५ कमल सावद

मोहनापुल–अत्तरिया ६ लेन सडकमा पर्ने तीन वटा पुल निर्माणका लागि अझै विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छैन्। सडक निर्माणको अवधी सकिएको चार महिना वितिसक्दा समेत मोहनापुल–अत्तरिया ६ लेन सडकमा पर्ने तीन वटा पुलको डिपिआर अझै तयार नभएको हो।

मोहनापुल–अत्तरिया ६ लेन सडकमा तीन ठुला पुल निर्माणका लागि डीपीआर नभएपछि ठेक्का आह्वान समेत हुन सकेको छैन्। पछिल्लो केही समय यता सडक निर्माणले गति लिएपनि पुलको डिपिआर अर्थात विस्तृत आयोजना प्रतिवेदन समेत तयार नभएपछि भविष्यमा समस्या हुने देखिएको छ।

धनगढीको मोहनापुल र गेटा स्थित मनहरा र गेटा खोलामा पुल निर्माणका लागि डिपिआर बनाउनुपर्ने हो। सडक विभाग अन्तरगतको उत्तर–दक्षीण व्यापारीक मार्ग विस्तार आयोजनाले पुल महाशाखामा परामर्शदाताले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन पठाएको थियो।

दशैँ अगाडी पुल महाशाखामा पेश गरिएको प्रतिवेदन सुधारका लागि भन्दै उत्तर दक्षिण व्यापारिक मार्गलाई फिर्ता पठाइएको सडक विभाग अन्तरगतको पुल महाशाखाका डिभिजन ईन्जिनियर थानेश्वर खत्रीले बताए। डिजाईनमा सुधारका लागि प्रतिवेदन फिर्ता पठाएको उनले बताए। ‘केहि पक्षमा सुधार गर्नु पर्ने देखिएको छ। सुधार गर्न परामर्शदाता कम्पनीलाई भनेका छौ। तर समय निश्चित छैन्।’ उनले भने। 

प्रतिवेदन फिर्ता पठाईएपनि अहिले सम्म परामर्शदाता कम्पनीका लागि समय अवधि पनि तोकिएको छैन्। पुलको डिपिआरमा नै अन्यौलता देखिएपछि सडक निर्माण सकिएपनि पुलको निर्माण नसकिने निश्चित भएको छ। 

२०७४ जेठमा ६ मोहानापुल–अत्तरिया ६ लेन सडकको निर्माण कार्य सुरु भएको थियो। सडकमा पर्ने कल्भर्टहरुको डिजायन, स्टीमेट भएपनि तीन ठुला पुलको डिजायन, स्टीमेट निर्माणमा ढिलाई भएको हो। १४ दशमलव  २ किलोमिटर सडक निर्माणको भौतिक प्रगति भने ६० प्रतिशत पुगेको दावी गरिएको छ।

तर पुल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन नहुदा ठेक्का आह्वान प्रकृया समेत नथालिएको मोहनापुल–अत्तरिया ६ लेन सडक योजना प्रमुख होमबहादुर एसीले बताए। ‘पुल निर्माणमा अन्यौलता छ। पुल महाशाखाले पुनः प्रतिवेदन फिर्ता पठाएको सुनिएको छ। परामर्शदाता कम्पनीले डीपीआर तयार पारेपछि निर्माण सम्झौता गर्छौ।’ 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस