सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनआरएनएको नवौँ चुनाव हुँदै, १२ पदमा ४२ जना चुनिने

२०७६ असोज २७, ०२:०८ खबर संवाददाता

गैरआबासीय नेपाली संघको (एनआरएनए) को नवौं अन्तराष्ट्रिय महाधिवेशनमा कुल १२ पदमा ४२ जनाको निर्वाचन हुने भएको छ। संघको विश्वसम्मेलनको उदघाटन मंगलबार काठमाडौंमा हुँदैछ। संघको विश्व सम्मलेनमा ४२ जना उम्मेदवारहरु विजयी बन्ने निर्वाचन समितिले जनाएको छ।

यस्तै संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा एक जना, सचिवमा दुई जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा एक एक जना निर्वाचित हुनेछन्।

प्रत्येक क्षेत्रीय समितिबाट एक–एकजना गरी ६ जना क्षेत्रीय संयोजकहरु विश्व सम्मेलनबाट निर्वाचित हुनेछन्। त्यसैगरी क्षेत्रीय उपसंयोजक अन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुने छन्। विधानबमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ। त्यस्तै एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट दुई–दुई जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट एक–एक जना क्षेत्रीय उपसंयोजकमा निर्वाचित हुन पाउने छन्।

प्रत्येक क्षेत्रबाट एक–एक जनाका दरले ६–६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने समितिले जनाएको छ। यस्तै काठमाडौंमा सम्मेलन उदघाटनको भोलिपल्ट अर्थात बुधबार उम्मेदवारको मनोनयनदर्ता प्रक्रियादेखि मतदानको प्रक्रियासम्म चल्नेछ। बुधबार दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म मतदान भइसक्ने र निर्वाचन सम्पन्न भएको एक घण्टामा मतगणना गर्ने समितिको सूचनामा उल्लेख छ।

एनआरएनएको आगामी नेतृत्वका लागि जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्य चुनावी मैदानमा छन्। संघको आठौँ अन्तरराष्ट्रिय महाधिवेशनमा दुबैजना उपाध्यक्ष पदमा विजयी बनेका थिए। गैरआवासीय नेपाली संघको २००३ (२०१७ को संशोधन) सहितको विधानअनुसार इतिहासमै पहिलोपटक ५ जना उपाध्यक्ष पदमा (महिलासहित) निर्वाचन हुन लागेको हो। यसअघि प्रायः सहमतिमा उपाध्यक्षको चयन हुने गरेको थियो।

 

कमेन्ट लोड गर्नुस