कैलालीमा सम्बन्ध विच्छेदका लागि अदालत धाउने पुरुष बढे
मुलुकी देवानी संहिता ऐन लागु भएपछि कैलालीमा सम्बन्ध विच्छेदका लागि पुरुषहरु पनि अदालत धाउँन थालेका छन्। मुलुकी देवानी संहिताले पुरुषलाई पनि श्रीमतीसँग अलग भएर बस्ने इच्छा भए, सोझै अदालत जान सक्ने व्यवस्था गरिदिएपछि पुरुषहरु पनि अदालत धाउन थालेका हुन्।
गत वर्षको भदौँ १ गतदेखि मुलुकी देवानी संहिता २०७४ ले पुरुषले पनि सम्बन्ध विच्छेदका लागि सोझै अदालत जान सक्ने व्यवस्था गरेपछि संख्या बृद्धि हुदै गएको जिल्ला अदालतले जनाएको छ। देवानी संहिता कार्यान्वयनमा आएपछि कैलालीमा दुई सय पाँच जना महिलाले सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दर्ता गरेकोमा ९५ जना पुरुष पनि अदालतको ढोका सम्म पुगेका छन्।
सम्बन्ध विच्छेदका लागि दर्ता भएका ९५ जना पुरुषका निवेदन मध्ये ३३ वटामा अन्तीम फैसला गरिएको छ भने ६२ निवेदन फच्छौट हुन बाँकी रहेको छ। विगतमा स्थानीय तह मार्फत सम्बन्ध विच्छेदका लागि अदालत पुग्ने पर्ने जटिल कानूनी व्यवस्थाका कारण कम मुद्दा आउने गरेकोमा मुलुकी देवानी संहिताले सोझै अदालत जान सक्ने बाटो खुला गरेपछि संख्या बढेको जिल्ला अदालतका श्रेस्तेदार भुवन गिरीले बताए।
‘पहिले महिलाले मात्र अदालत आउन सक्ने कानूनी व्यवस्था थियो, पुरुषले सम्बन्ध विच्छेद गर्नुपरे साविकका स्थानीय निकाय मार्फत अदालत सम्म पुग्नुपर्ने झन्जटीलो प्रक्रिया थियो, देवानी संहिताले अदालत जान सक्ने प्रावधान ल्याएपछि सहज भएकाले पनि पुरुषको संख्या बढेको हो।’ उनले भने।
सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा सामाजिक सञ्जालको गलत प्रयोग, वैदेशिक रोजगारी जस्ता कुराहरु पनि महत्वपूर्ण रहेको श्रेस्तेदार गिरीको भनाई छ। तर कानून व्यवसायीहरुले भने सम्बन्ध विच्छेदका लागि अदालत धाउने पुरुषको संख्या बढ्नुमा मिश्रीत धारणा व्यक्त गरेका छन्।
एकथरी व्यवसायीले पुरुषहरुले कानूनको गलत प्रयोग गरी श्रीमतीसँग सम्बन्ध विच्छेद गरी महिलालाई दुःखमा पार्ने काम गरेकाले प्रावधान नै गलत भएको दावी गरेका छन् भने अर्को थरी कानून व्यवसायीले कानूनी सहजताले संख्या बढ्नु स्वभावित ठानेका छन्।
कैलाली बार एसोसिएसनका अध्यक्ष शिव केसीले गत वर्षको भदौँ देखि प्रचलनमा आएको कानूनको गलत प्रयोग भईरहेको आशंका व्यक्त गरे। उनले देवानी संहिताको पनि दुरुपयोग भईरहेकाले सचेत बन्नुपर्ने बताएका छन्। पुरुषले सम्बन्ध विच्छेद गरेपछि महिलाहरु सहारा विहिन हुने समस्या रहेको बताउँदै उनले कानून कार्यान्वयनमा गम्भीर बन्दै हेरफेर समेत गर्नुपर्ने आवश्यकता रहेको औल्याए।
तर सबै श्रीमानश्रीमती उचित आचरणका भने नहुनेमा दुईमत नरहेको दावी उनको छ। महिला कानूृन व्यवसायीहरुले भने अदालतमा सम्बन्ध विच्छेदका लागि जाने पुरुषको संख्या बढ्नुलाई अन्यथा लिनुनहुने धारणाा राखेका छन्।
अधिवक्ता डाक्टर जानकी तुलाधरले श्रीमान÷श्रीमती बिचको असमझदारीकै कारण सम्बन्ध विच्छेद हुने र समाजमा महिला पीडित पुरुष पनि रहेको देखिन थालेकाले देवानी संहिताले व्यवस्था गरेको कानूनी प्रावधान जायज भएको प्रतिक्रिया दिईन्।
उनले समाजमा महिला मात्र नभएर कतिपय पुरुष पनि महिलाबाट पीडित रहेकाले उनीहरुलाई पनि सहजै सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था ठिक भएकाले कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गरिन्।