सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउँदै

२०७६ असोज २२, ०१:०९ खबर संवाददाता

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मिति टुंगो लागेको छ। परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिएको हो। विज्ञप्तिमा भनिएको छ, ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ।’ भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ। सीले नेपालका वरिष्ठ नेताहरूसँग पनि भेट गर्ने जनाइएको छ। करिब २२ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपालीले तयारी तीब्र बनाएको छ। काठमाडौंका सडकहरु सिघाँरिएका छन् भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।

भ्रमणका क्रममा सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिनेछन्। उनलाई सरकारीले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्ने तयारी गरेको छ। यो तहको सुरक्षा व्यवस्थामा बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ जना कमाण्डोको समूह रहने अभ्यास छ। यो सुरक्षा व्यवस्थामा खटिने कमाण्डो सैन्यकला र मार्शल आर्टमा निपूर्ण हुन्छन् भने टोलीका सदस्य अत्याधुनिक हातहतियार र सञ्चार उपकरणले सुसज्जित हुनेछन्। सीले चीनबाटै पनि सुरक्षाकर्मी ल्याउनेछन्।
 

कमेन्ट लोड गर्नुस