सुदूर नेपाललाई विश्वसँग जोड्दै

जोरायल रोएको दिन !

२०७६ असोज २०, ०९:१५

तीर्थराज भट्ट

एउटा कालो दिन, जोरायलवासी सारा रोएको दिन, देशवासी सबैले “अहो !” भनेको दिन, कयौंको कोख रित्तिएको र सिउँदो पुछिएको दिन, अनि मेरो मानसपटल खलबलिएको दिन, असोज २० गते २०७१ को दिन ! जो म सम्झनै चाहन्नँ। जो सम्झन चाहन्नँ त्यो झन बिर्सनै नसकिँदो रहेछ । यो कथा होइन, व्यथा हो, पीडा हो र अतीतको अति तीतो यथार्थ हो। 

दिउँसो ३ बजेको समयमा सरस्वती एकेडेमीका विद्यार्थीहरूले गरेको बाइबाईलाई स्वीकारी प्रतिउत्तरमा बाइबाई गरिरहेको थिएँ । दुईवटा परिचित बहिनी विद्यालयको गेट नजीकै आएर उभिइन् र सुनाइन् अपत्यरिलो घटना, “जोरायलबाट गएको बस पल्टियो ।” बस पल्टियो भन्ने बित्तिकै मन आँत्तियो ज्वरो र रुघाले समातेको शरीरमा पनि एकप्रकारको ऊर्जा आयो र घटनास्थलमा छिटो पुग्नुपर्छ भन्ने होडले मानसपटलमा साम्राज्य जमायो ।

तत्पश्चात प्रिन्सिपल विष्णु सर र म राउतकट्टेबाट घटनास्थलतर्फ हिड्यौँ । बाटोमा जति मानिस देखिन्थे, भेटिन्थे बर्वराइ रहेका र आँत्तिएका मात्र देखिन्थे । सबैको मुहारमा मलिनता थियो ।  जोरायलबाट घटनास्थलमा जाने मान्छेहरूको पनि लाम नै लागेको थियो । विष्णु सर र म पनि अनेक शंका एवम् उपशंकाका मनगढन्ते कुराहरू गर्दै दुगुरी रह्यौं । मनमा डर, शंका, छट्पटी खुल्दुली र त्रास मात्रै सञ्चित थियो धड्कन जोर–जोरले चलिरहेको थियो । ४ः२० बजे घटनास्थलमा पुग्दा अचम्मको दृश्य देखें र म भक्कानिएँ :

त्यो घट्नास्थलमा पुगें म पनिता – धड्कन् बढ्यो झन्झन ।
हाहाकार मुहारमा सकलका – देखेर रोयो मन ।।
रुवावासि र घाइते जनहरू – गर्दै थिए छट्पटी ।
बाँच्ने सास लुट्यो, छुट्यो जगत यो – आशा टुट्यो पट्पटी ।।

अहो ! त्यो दुर्दशा अहिलेसम्म कहिलै नदेखेको दृश्य , नसोचेको  अकल्पनीय घटना, न भोगेको पीडा । म एकोहोरो टोलाएँ न रुन  सकें, न बोल्न सकें, न कसैले बोलेको सुन्न सकें । छाती चस्कियो धड्कन जोर–जोरले चल्न थाल्यो मेरो ध्यान तथा नजर घट्नास्थानको दुःखद परिवेशमा केन्द्रित रह्यो । एकछिन पछि मैले आवाज सुनें “छि ! यहाँ त खतम छ, हरे राम राम !!” यो कसले भनेको हो मलाई थाहा छैन त्यसपछि गह भरिएर आयो आँखाबाट आँसु निस्किए ।

ती आँसुलाई भुँईमा खस्न नदिई रुमालले पुछें र खल्टीभित्र लुकाई सडकबाट एकदम अगाडि बढें जहाँ घाइते जनहरू लहरै बसेर विलौना पोखिरहेका थिए, रोइरहेका थिए, कराई रहेका थिए र मृत्युसँग संघर्ष गरिरहेका थिए । क्रन्दनको नादले कठपत्रे भीर अचम्भित थियो, अस्वभाविक थियो, कोलाहल थियो र रगतका खोलासँगै आँसुका थोपा पचाई रहेको थियो लाजमर्दाे तरिकाले।

मैले सबै घाइतेजनको अनुहारमा हेरें रगतले लित्पितिएको मुखाकृतिमा टसुँला आँसुका थोपाहरू बगिरहेका थिए, सबै परिचित अनुहार सबै आफन्त ईष्ट, मित्र तर पनि कसैसँग बोल्ने आँट गरिनँ । भाव विह्वल मन र अश्रुप्लावित नयनले रोडको किनाराबाट तल हेरें र त्यसैतिर जाने निधो गरें।

छर्बट्ट फिजिएका लासहरूसँगै पहेँला र हरिया काँक्राहरू लास नजीकै छपक्क छप्किएका थिए, मम्फलीका कोसाहरू, मौसमी, अमिला, कागती र ओखरका दानाहरू, चोताका गानाहरू, अनेक चीजले भरिएका कट्टाहरू, कसैबाट तीलका साना दानहरू पोखिरहेका थिए, कसैबाट गत, भटमास, मास आदि दालहरू कसैबाट मार्सीका चामल पोखिरहेका थिए, ढल्किरहेका थिए, त्यो घट्नादेखि तिनी पनि छट्पटाई रहेका थिए र आफूलाई समाल्न सकिरहेका थिएनन् ।

जोरायलको प्रसिद्ध वास्मती धान विस्कुन फिँजेजस्तै फिजिएको थियो । थाल, कचौरा गिलास आदि भाँडाकुडाहरू पनि आफ्नो आकार बिगारेर साना बिरुवाका भुक्काहरूमा अडिएका थिए । भरखरै किनेका नयाँ साइड व्यागहरू जसमा श्रृङ्गारका आकर्षक सामग्रीहरू हुनु पर्ने हो तर ती सबै टुक्रा टुक्रा भई माटोसँग लडिबुडी खेल्दै थिए ।

अनेक कागजपत्र र लुगा कपडाले भरिएका भरिपूर्ण झोलाहरू लासलाई नङाल्दै पलेटी खेलिरहेका थिए, तमामौँ मोबाइलहरू, डिजिटल क्यामरा, ल्याप्टअप आदि सबै छर्बट्ट थिए आफ्नो माली गुमाएर । त्यो देखेर मलाई दया लागिरहेको थियो, कति सुनौलो यात्रा रोजेका यात्रुहरूको याद आइरहेको थियो ।

आफन्तहरू पहाडको काँक्रो खाने प्रतीक्षामा बसेका हुँदाहुन् वास्मती चामलको सुगन्धित वास्ना निकाल्ने सोचमा हुँदाहुन साँझ सुखादुखाका कुरासहित परिवारमा रमाइलो परिवेश निम्तिदो हो तर पापी कठपत्रेले २९ जनाको आत्मा हरण गरी ६८ जनालाई अस्पतालको बेडमा पु¥यायो  र साथमा बोकेको पवित्र अन्नादिहरूको पनि बेइज्जत गरायो ।

मुखमा हालिने अन्न रगत र आँसुले भिजेका थिए तिनै पवित्र अन्नलाई कुल्चिदै अगाडि गएँ जता हेर्छु त्यतै छर्बट लासहरू फिजिएका थिए । लासले अनेक विध्नहरू सहिरहेका थिए । कठपत्रेको निर्दयी ढुङ्गाहरूले लासलाई हेपेर चेपिरहेको महसुस हुन्थ्यो :

माटोभित्र, पवित्र लास तल थे – ढुङ्गाहरू माथि थे ।
रोपी घाउ विहोशमा पिसिदिने – चक्काहरू साथि थे ।। 
कैयौँका निलडाम थे शरिरमा – मुन्टा फुटेका थिए ।
रक्ताम्यै अनुहार हात पनि रे – खुट्टा टुटेका थिए ।। 

केही लासहरू अनेक रुखका – हाँगा मुनी चेपिए ।
लासैमा पनि विध्न यो अति भयो – अन्धेरमा हेपिए ।।
मारिस् ती बबुरा अचम्म भगवान् – पापी रहेछस् हदै ।
साना बालकको दया र ममता – जागेन हो की कठै !!

लासै लास र लास माथिको पीडा हेरिरहेको थिएँ को, कसको लास हो छुट्याउन नै नसकिने अन्योलावस्थामा थिएँ, एकातिर स्वच्छ मानसिकताले काम नगरेको स्थिति र अर्काेतिर लासमा पनि छेदविच्छेद मुखाकृति । त्यही समयमा मेरो कानमा एउटा आवाज ठोक्कियो “ तीर्थ भाइ बेल्टुक्राका कृष्णराज भण्डारी र उनको जेठो छोरोको लास त तल छ कान्छो छोरो कस्तो अवस्थामा छ मलाई थाहा छैन ।” म रुखबाट खसे जस्तै झस्याङ्ग भएँ, मलाई थाहा थिएन त्यो कालको निमन्त्रणामा उनी पनि घरदेखि यात्री बनेर गएका थिए भनेर । अँझ त्यसैमा तीनवटै बुवा छोरा कस्तो पापी संयोग र समय ।

मैले लासलाई हेर्नुभन्दा पहिले गाउँमा फोन गरें गाउँका मान्छेलाई थाहा रहेछ, घटनास्थल तर्फ आइरहेको खबर पाएँ । हतार हतारले आफ्नो गाउँका लासलाई भेट्न दुगुरें, कृष्णराज भण्डारी तल टाउको माथि खुट्टा गरेर अनौठो तरिकाले पल्टिएका थिए भने भूमिराज भण्डारी मस्त सुतेको जस्तै टाउको माथि लगाएर पल्टिएका थिए दुबै लासको नजीकै गएर दुई थोपा आँसु श्रद्धाञ्जली स्वरुप चुहाउनुबाहेक केही विकल्प रहेनँ  मसँग । मलाई भूमिको कल्कलाउँदो जोवन र कृष्णराज भण्डारीको सामाजिक गुणको याद आउन थाल्यो ।

गाउँका सोझा, इमान्दार, समाजप्रति अति नै विश्वास राख्ने कुशल समाजसेवीको वास सदाका लागि यस धर्तीबाटै फरक हुँदा बेल्टुक्राको सुन्दर भू–आकृतिमा कुरुप र अँध्यारो छाए जस्तो अनुभूति भयो । कृष्णराज भण्डारीको सामाजिक काम प्रतिको लगनशीलता सहनशीलता र मिलनसारितालाई हेर्दा मैले आफ्नो अहिले सम्मको जीवन कालमा त्यत्तिको अस्वभाविक सकारात्मक गुण भएको व्यक्ति देखेको वा चिनेको थिएनँ । मान्छे स्वभावैले रिसालु हुन्छ, लोभी हुन्छ, घमण्डी हुन्छ ।

आफूलाई अहम् सोच्दछ, अर्काको कुरा काट्नुलाई उच्च आदर्शवादी ठान्दछ र आफ्नो काम फुत्काउनुलाई समाजमा बस्नुको निःस्वार्थ सेवा मान्दछ । यी र यस्ता प्रवृत्तिहरूले नै मानिस आफ्नो जीवन जिइरहेको छ  तर कृष्णराज यी प्रवृत्तिहरूबाट टाँढा थिए जो आज यस्ता प्रवृत्तिका हामी मान्छेहरूबाट पनि टाँढा भए ।  

किन राम्रा राम्रा मान्छेहरूलाई मात्र यो दैवले कालको आहारा बनाउँछ ? सत्गुणी व्यक्तिहरू किन यो धर्तीले बचाउँदैन यस्तै प्रकारका कुराहरू सोच्दै म भतिजी जानु भट्ट र कृष्णराज भण्डारीको कान्छो छोरा खगराज भण्डारीको खोजीमा भौँतारिएँ ।

मैले विहान चनकट्टेमा जानु भट्टलाई बसमा बसेको देखेको थिएँ । “अंकल ढोग गरें” भन्ने सम्मानात्मक बोलीमा भाग्यमानी भएस् राम्रोसँग जान,ु घर पुगेपछि फोन गर्नु भन्दै छुटिट्एको थिएँ । बस पल्ट्यो भन्ने बित्तिकै सबैभन्दा पहिले जानुलाई नै सम्झिएँ र उनीसँगै गएका भाइ कृष्ण ओझालाई फोन गर्दा नलागे पछि झटपट गुलरिया स्थित दाइलाई फोन गरी बस पल्टेको दुःखद खबर सुनाइ सकेको थिएँ । मैले प्रत्येक लासलाई नियाली रहेको थिएँ, कहीँ जानुको  मुखाकृति पनि त्यही अवस्थामा भेटिन्छ कि भनेर डरैडरले ।  

मैले एउटा कलिली युवतीको लास देखँे र नजिकै गएर राम्रो सँग हेर्ने प्रयत्न गरें साथमा रहेका विष्णु सरलाई सोधे सर यो जानुको लास होला र ? उहाँले भन्नु भयो  “यो हैन यार, ऊ अलि सानी हुनुपर्दछ ।” फर्केर तल आइरहेको थिएँ एउटा बहिनीले भन्यो “दाइ हेरन शकुन्तला पनि सिद्धिएकी रहेछिन्, उनको लास ऊ यहाँनिर छ ।”  जुन लासलाई मैले जानु भनेर हेरेको थिएँ उसैतर्फ इङ्कित गरेको सुन्दा म झस्याङ्ग भएँ । शकुन्तलाको जीवन शैली र साहित्य रुचिलाई सम्झिएर मुटुको गति झन् बढ्न थाल्यो । साहित्य परिवार भित्रकी एक नारी स्रष्टालाई गुमाउँदाको पीडा सदाको लागि मसँग रहिरहने भयो ।

परिश्रम र मिहिनत गरेर सरकारी जागीरमा आबद्ध भई वनरक्षक पदमा सेवा गरिरहेकी थिइन् कलिलै उमेरमा । मलाई सम्झना आयो दशंैको दिनभन्दा २÷३ दिन अगाडि मैले शकुन्तलालाई चनकट्टेमा भेटेको थिएँ र धेरथोर साहित्यकै बारेमा कुरा गरेका थियौँ । उनले भनेकी थिइन् “दाइ, मैले ५२ जति आधुनिक कविता लेखेकी छु, तपार्ईंंलाई पढ्न दिउँला भनेको डायरी अछाममै छुट्यो पछि तिहारको बेला ल्याएर आउँला ।” म झल्झल्ती सम्झिन लागें ती भनेका शब्द त्यो श्रुतिमधुर स्वर र कलिलो अनुहार । एउटै क्याम्पसमा अध्ययन गर्दा उनीसँग भेट भई रहन्थ्यो, अछाममा रहँदा पनि फोन मार्फत एउटा गजल सुनाएको थियो म ती गजल भित्रका शब्द सम्झिन थालें ः

यहाँ न रात मेरो छ, न दिन मेरो छ
अल्मल छु बीचमा वरिपरि सेरो छ
के भोक के निन्द्रा संर्घर्षको दौरानमा
भेट्टाउनु छ यहाँ सुख कहिलै त्यो बाटो फेरो छ
कहाँ जन्मिए कहाँ मरिन्छ ठेगान छैन
मरुमूभिमा खसाल्दैछु पसिना ऊ टाँढा पँधेरो छ ।

“कहाँ जन्मिए कहाँ मरिन्छ ठेगान छैन” म यही मिसरा ए उलालाई सम्झिदै उनको गजलगत भावनालाई मनमनै विश्लेषण गर्न थालें । हो के थाहा थियो र ? घरदेखि सबैसँग छुटिट्एर, अछामको गन्तव्य यात्रा रोजेरे निर्जन कठपत्रेको भीरमा मर्नुपर्दछ भनेर । यति कुरा सम्झिएर माथि फर्किदै गर्दा जितेन्द्र शाहुको आवाज आयो “तीर्थ सर घाइतेलाई बचाऊँ, मर्ने त मरिहाले ।” जितेन्द्र शाहु लगायत साथीहरूले एक बालकलाई सलमा राखेर ल्याई रहेका थिए म पनि त्यसैमा सामेल भएँ र सलको एक कुना समाति सोधें – भाइको घरको कहाँ हो ? 
“निङलतडा”
नाम नी ?
“सुनिल ओझा”
निङल्तडा कसको छोरा हौ ?
मदन ओझाको ।
ए ! मदन सरको छोरा हौ, म तिम्रो घरमा खबर गरिदिन्छु चिन्ता नगर ।
“घरबाट बुवा आइरहेका छन् थाहा पाइसके ”
घरबाट तिमी एक्लै हौ कि अरु कोही छन् ?
“बज्यै आएकी छन्”
कहाँ छन् तिमीलाई थाहा छ ?
“अहँ थाहा छैन ”
यसरी सुनिल ओझालाई रोडको माथिल्लो साइटमा राखी म फेरि तल घटनास्थलको केन्द्र भागमा पुगें । त्यहाँ मजस्तै सबै भौतारिरहेका थिए । मेरो मोबाइल विष्णु भट्ट सरको हातमा थियो मागें उनले स्विच अफ गरिदिएको रहेछ धेरै फोन आएर दिक्क लागेकोले । मलाई पनि त्यस्तै लागिरहेको थियो तैपनि आफन्तको फोन आइरहने भएकोले स्विच अन गरें । नजीकै मेरा एक आत्मीय साथी, सहकक्षा साथी, अत्यधिक मन मिल्ने साथी लिलाधर भट्ट करुणक्रन्दन आवाजमा रोइरहेका थिए म त्यसैतिर लम्किएँ, उनले मेरा दुवै हात समात्यो र ठूलो स्वरले रुन थाले, साथमा विष्णु सर र म पनि रोएँ ।

म केही बोल्न सकिनँ मात्र उहाँको आँसुमा आँसु मिसाए  र अलि तल आएँ घट्नामा दाजु र भाउजू गुमाउनुको पीडा थियो, साथी लिलाधर सँग र त्यही पीडामा हुनुको रुवाई थियो मसँग । मलाई साह्रै खिन्नता बोध भइरहेको थियो मानव जीवन प्रति यो हेर्नै नसकिने दुर्दशाप्रति  र परिचित अनुहारमा भरिएका काला रगतका थल्काहरूप्रति । साना बालबालिकाहरू जसको हातमा गुडिया सुहाउँछ, मुखमा चक्लेट सुहाउँछ अनि गालामा म्वाँइ खान सुहाउँछ र कोखमा राखेर तोले बोलीसँगै रमाउन सुहाउँछ तिनै बालबालिकाहरू मृतघोषित भएर ढुङ्गाको ओछ्यानमा रगतको घुम्टी  ओडेर लम्पसार परेको थिए ।

बाल सुन्दरतामा कसैको आँखा लाग्ने डरले निधारमा मम्मीले लगाई दिएको कातो टीका पुछिन नपाउँदै बाँच्ने सासै लुटियो र यो संसार छुट्टियो । विष्णु सर, जेनिश वडुवालको लास देखाउँदै उसको बाल चञ्चले स्वभावलाई सम्झिँदै बर्बराउन थाले । जेनिश वडुवालजस्तै अरु बालकका लासहरू हेर्दा मलाई दया लागिरहेको थियो, माया लागिरहेको थियो र आफ्नै मनलाई समाल्न कठिन भइरहेको थियो ।

म भगवानलाई धिक्कार्दै थिए, होरो हाल्ने भाविनीलाई पापी देख्दै थिए र काललाई निष्ठुरी मानिरहेको थिएँ । दुर्घटना भएको बसको कुनै आकार थिएन, छेदविच्छेद अवस्थामा टुक्रा टुक्रा भएका धातुले लासलाई फरक फरक तरिकाले सताइ रहेका थिए । त्यस्तै बसको एउटा टुक्रा कसैको टाउकामा कीला ठोकेर बासिरहेको थियो म त्यो लासको मुखाकृति नियाल्न थालें, जानुजस्तै लाग्न थाल्यो हो कि होइन भन्ने अन्योलताले छाई रहँदा, लगाएका कपडालाई नियालें, कलिला हात खुट्टलाई नियाँले घुम्रिएका कपाललाई नियाँले र जानु नै हो भन्ने निष्कर्षमा पुगें पछि उसको हात समातेर रुन थालें । त्यो समयमा घरबाट भाइ दीपक पुगिसकेको थियो भाइसँग अरु गाउँले पनि आइ सकेका थिए ।

दीपक, चेत, विष्णु र म लागेर जानुको लासलाई ती कीलाहरूबाट अलग्यायौं र सजिलो गरी ढुङ्गामा सुतायौँ । जानु, मेरी फुपूकी नातिनी हो ऊ मेरो घरमा पहाड आएको बेला प्राय आईरहन्थी नै तर यसपालि एकदिन पनि भेट गरिनँ । जानु, पहाड आएको बेला म उसको घर गुलरियामा २ दिन बसेर आएको थिएँ ।

ऊ नहुँदाको घर सुनसान थियो भाउजूले भन्यो पनि “जानु भएकी भए उसका साथीहरू आउँथे होहल्ला गर्थे, हाँस्थे रमाउँथे, ऊ पनि किचकिच गरिरहन्थी २ दिन ऊ नहुँदा के के निन्याउँरो लाग्यो बाबु ।” जानुको लासलाई हेर्दै यी कुरा सम्झिन थालें २ दिन घरमा जानु नहुँदा त्यति नैराश्यता देख्ने भाउजू अब सधैका लागि जानु छैन भन्दा कस्तो मान्लान् , आफ्नी जेष्ठपुत्री गुमाउनुको पीडा खप्न सक्लान् र ? दिर्घराज दाइ पनि घट्नास्थलमा आइरहेको खबर र जानुको अवस्था बारे पटक पटक फोन संवाद गरिरहेका थिए । जानुको लासलाई आफ्नै आँखासामु राखेर म झुट बोली रहेको थिए दाइ मैले जानुलाई भेट्टाएको छैन तपार्ईं यही आउनुहोस् । दाइ भन्दै थिए “घाइतेलाई अस्पताल ल्याउलान् यदि ऊ घाइते छ भने ऊ अस्पतालमा म त्यहाँ हुँदा अप्ठ्यारो हुन्छ होला त” मैले पुनः देह¥याएँ घाइतेलाई लगेको छैन तपार्ईं यहीँ आउनुहोस् ।

त्यसैबेला चतराज भण्डारीले माथि रोडबाट फोन गरे र दुःखै दुःख भित्रको सुख सुनएँ “अंकल खगराज भण्डारी घाइते अवस्थामा भेट्टियो अब छिटो अस्पताल लैजानु पर्दछ ” म अलिकति खुशी भएँ आफ्नो जन्मदिने बुवा र दाइलाई गुमाएर खगराज एक्लिए पनि आमाको काख रित्तो हुन दिएनन् । हामीलाई केही हदसम्म उनको आमालाई सम्झाउने आधार मिल्यो । दाइ निर्मलाकुमारी भण्डारीलाई फोनमा यही सुखद खबर सुनाएँ, खगराज सिकिस्त घाइते भएको । सिकिस्त घाइते हुनु हरकसैको लागि पनि सुखद हुन सक्दैन, हर्ष हुन सक्दैन, र चाहना हुन सक्दैन तर त्यो घटनामा, त्यो परिस्थितिमा, त्यो गनतव्य रोजेका यात्रुको मृत्युवरणमा ५ मिनेट पनि सास लम्बिनु अहो भाग्यको कुरा नै मान्नु पर्दथ्यो । केही नभए पनि आफन्तको आँसुले जीवित शरीर त भिजाउन पाइन्थ्यो यद्यपि त्यो अवसर पनि जुरेन २७ जनाको लागि । परिचित अनुहारलाई कालले मगज बिगारेर रगतको मुकुण्डो लगाई छोडेकाले हाम्रा प्रियजनको सक्कली आकृति देखिनँ र चिनिनँ तैपनि घट्ना स्थलका कुनै पनि लासलाई भेट्न बाँकी रखिनँ ।  

म साँचो भन्दैछु । ती पार्थिव शरीरहरूसँग अन्तिम पटक भेटघाट गरी रहँदा लासहरू मौन थिएनन् , मसँग साक्षात्कार कुराकानी गरिरहेका थिए अनेक पीडा र गुनासाहरू सुनाइरहेका थिए , दोष र दोषी देखाइरहेका थिए, मुटुमा चसक्क बिझाइ रहेका थिए र मलाई निरन्तर रुवाइ रहेका थिए । म कठोर मन बनाएर लास अगाडि ठसक्क उभिन खोजिरहेको थिए, बिग्रिएको मुखाकृति, भत्किएका सपना, पट्पटी टुटेका अंग प्रत्याङ्ग र रगतले लित्पितिएका बस्त्रहरूलाई नियाली रहेको थिएँ तर ती मृतलासहरूले मलाई राम्रोसँग हेर्न दिएनन् मेरो मनलाई कठोर हुन दिएनन् ममा मानवीय संवेदना उत्पन्न गराएर आँखामा आँसु भरिदिए र म दृष्टिविहीन भएँ ।  ती लासमा रहेका अनेक विध्नहरू असह्य चोटहरू एक एक गरी हेर्न सकिनँ ।

मलाई त्यो दिन फानेमा धेरै कुरा गर्न मन लागि रहेको थिएनँ । मृतकहरूको नाम पटक पटक उच्चारण गर्न मन लागिरहेको थिएनँ, हुन त सुन्ने आफन्तहरूलाई पनि सुन्न मन नलागेका  नामहरू मृत्युको सूचीबाट मैले सुनाइ रहेका थिएँ । उहाँ त्यसैमा प्रतिप्रश्न गर्नु हुन्थ्यो साँच्चै हो ? सासै छैन ? कहाँ चोट लागेको छ ? आदि इत्यादि मैले भनी रहँदा विश्वासै नलागे जस्तो । हुन पनि त्यो दिन फोन आउने क्रम एक मिनेट पनि खाली रहेन, परिचित तथा अपरिचित नम्बरबाट आएका आवाजले घटनाकै बारेमा मलिन स्वरमा जिज्ञासा प्रकट गर्दथे, म छोटो रुपमा वस्तुयथार्थ कुरा गरी फोन राखी दिन्थें ।

मन मिल्ने र आत्मीय साथीहरूका फोनहरूलाई त झन् फोन नगरिदिन आग्रह गर्दै उहाँका कौतुहलता र छटपटी मेटाउन असमर्थ भएको थिएँ । रेडियो सुदूर आवाज डडेल्धुरा र धनगढी एफ एम कैलालीले पटक पटक फोन गरी ममार्फत घटनाको समाचार प्रसारण गर्ने प्रयास गरिरहेको थियो त्यसमा पनि म प्रष्टरुपमा बोल्न सकिनँ आँखा अगाडि दैवीय अपराध देखेर । एउटा सानो क्षेत्र जोरायलमा यति ठुलो शोक पर्दा सहन सक्ने क्षमता कसैलाई पनि भएन र घटनास्थलमा मान्छेहरूको भीड नै लाग्यो । गाउँमा कोही मान्छेहरू नै रहेनन् बुढाबुढी, केटाकेटी, महिला पुरुष युवायुवती जम्मै त्यहीँ देखिन्थे ।

कठपत्रेमा एउटा विचित्रको मेला नै लागेको थियो जहाँ रुवाइका मन्त्रहरूले आँसुका थोपा चढाएर आफन्तको शव फेला पारिरहेका थियौं । कयौँ मानिसहरू त्यो पीडा सहन गर्न नसकी आफ्नो टाउको ढुङ्गामा ठोकी रहेका थिए आफ्नै छातिमा हिर्काउँदै थिए त्यो भीरमा हामफाल्न खोजिरहेका थिए “ म घर फर्केर के गरुँ , मलाई यहीँ मर्न दिनुहोस्” भनेर छट्पटी रहेका थिए त्यो दुःखद परिस्थितिमा को कसलाई कसरी सम्झाउने र समाल्ने सबै त्यहाँ आ–आफै तड्पिरहेका थिए र विहोश हुँदै थिए ।

पापी कठपत्रेले सम्झाउने आधार र समाल्ने मानिस पनि नराखेर शोकमा डुबायो । त्यहाँ पुगेर नरुने मानिस, मानिस नै होइन, यद्यपि त्यहाँ पुगेका सम्पूर्ण मानिसहरू मानव नै हुन्, उद्धार गर्न नै गएका हुन् आँसु चुहाउन नै गएका हुन् पीडा बोकेर नै गएका हुन् र सच्चा मनले नै गएका हुन् भन्ने कुरामा शंका थियो । कठपत्रेमा पुगेका राक्षसरुपी मान्छे भनौंदाहरूले मृतक र घाइतेको रगतमा पौडिखेलेर सरसामानहरू बटुले, मृतलासबाट गरगहना लुट्न सफल भए, छट्पटिका घाइतेहरूका नाक कान निमोठी राक्षसीय प्रवृत्तिको उच्च महानता देखाए । एकै दिनमा लाखैँ–लाख सम्पत्ति जम्मा गर्न सक्ने खुवीको प्रदर्शन गरे ।

रगतले लित्पितिएका र आँसुले भिजेका तमामांै सरसामानहरू सफा पानीले पखाले होलान् र यी चोरका महामहिमहरूले साँझा अगेनामा बसेर कुरा गरे होलान्, बस पल्ट्यो त ठीकै भयो । त्यस्तो नीच प्रवृत्तिका मान्छेहरूले धन त बटुले , शान्ति पाउलान् र ! २९ जनाको मृताात्माले सरापोस् घटनाका घाइतेहरूका शरीरका अङ्ग प्रत्याङ्गले सरापोस् सच्चा मनले उद्धार गर्ने हजारौँ आत्माले सरापोस् हामी पीडीतहरूका आँसुले सरापोस् र अवश्य पनि त्यो चोरहरूको निर्गती देख्न पाइयोस् ।

यी चोरहरूलाई हाम्रो देशको कानूनले देख्दैन र खोज्दैन पनि । प्रहरी प्रशासनको भाषामा सायद यो चोरी होइन होला किनीक उनीहरूकै आँखा अगाडि यो कार्य भइरहेको थियो । उनीहरू हेरिरहेका थिए समर्थक झैँ । अब २९ जनाको आत्माले यी डकैतीहरूलाई कहिलै शान्ति नहुने गरी निसाफ गर्नेछन्  म विश्वासमै थिएँ र छु पनि । 

विस्तारै अँध्यारोले छाउन लाग्यो र लासहरूलाई रोडमा ल्याउने कार्य पनि सुरु भयो । सकेजति आफू पनि उद्धार कार्यमा संलग्न भई रहे । अप्ठ्यारो मार्ग, ढुङ्गाहरू खस्किने जोखिम, तल खोलाबाट माथि रोडमा उक्लिनु पर्ने विवशता मनमा छट्पटी आँखामा आँसु हातमा स्टेचर, स्टेचरमा लास र अँध्यारो बाटोमा कदमजस्ता कठिनाइमा पनि कोही थाकेनन् सबैले निरन्तर सहयोग गरिरहे, मानव हुनुको धर्म निर्वाह गरिरहे, उद्धारकार्यको अन्तिम अवस्था तथा राति १० बजेसम्म । उद्धार कार्यमा सहयोग गरिरहँदा मृतकका खुन र गिद्धि मेरो पाइन्टभरि लित्पितिएको थियो ।

त्यो छाप ४ दिन पछि पाइन्ट धुँदा त सफा भएको छ तर जति धोए पनि  नजाने गरी अमीट रुपमा मेरो मानसपटलमा त्यो घटना लित्पितिएको छ । क्रमैसँग राखिएका २७ वटा लास र आफन्तको रुवाइले सडक रोइरहेको थियो । हाम्रो गाउँबीच सहयोग आदान प्रदान भइरहने गाउँ लिडिकोट र सुँगालका असल सहयोगी युवाहरू राजेन्द्र शाही कर्ण शाही र रेवन्तदीप खडायत त्यही मृतलासको लायनमा आबद्ध हुनको पीडा मसँग थियो ।

मितबुवा दानबहादुर साउँदले पनि कठपत्रेमै प्राण त्याग गर्नु पर्ने दुर्भाग्य बटुलेका रहेछन् । त्यसैवर्ष नयाँ घर बनायो, घरमा जस्तापाता लगाउने सोच बनाएर तराईको यात्रा रोज्यो अन्ततः घरमा जस्तापाता लगाउने सपना पापी कठपत्रेले कैद गरिदियो । २७ वटै परिचित लास नजीकै बसी रहँदा घट्नास्थलमा हल्ला सुनियो २ जना घाइतेको पनि निधन भयो । अनेक शंका र उपशंका बीच मन तड्पिएका विश्लेषण चलिरहे र आत्मा जलिरहे । आँखामा आँशु ओठमा राम राम,  मनमा छटपटी, मुहारमा मलिनता र शरीरमा जिरिङ उठेका काँडाहरूसँगै एक रात कठपत्रेको सन्सनीपूर्ण दुःखद परिवेशमा व्यतीत गरियो ।

दोस्रो दिन बिहान पोस्टमार्टम पश्चात लहरै राखिएका लासहरूलाई आफन्तहरूले बुझ्ने क्रम चल्यो । त्यो क्रम लगभग दिउँसो १ बजेसम्म चलिरह्यो  । म पनि भतिजी जानु भट्टको लाससँगै कृष्णपुर गा.वि.स. कञ्चनपुरतर्फ हिडेँ । वि.नि. टेकराज भट्ट उनकी श्रीमती शिक्षिका पशुपती भट्ट र जानुको लासलाई एकै जीपमा राख्यांै र पार्थिव शरीरसँग सहयात्र ग¥र्याैं । वि.नि. सरका युगल जोडीलाई गोदावरीमै उतारियो दाहसंस्कारको लागि ।

जानुको मृत शरीरलाई घरमा पु¥याउने भनेर घरतिर दुगुरायौँ । मृतमुखाकृति र लासमाथि लागेका घाउहरू देखाएर सबैका आँसुले अाँगन भिजायौँ र भाउजूलाई विहोस अवस्थामा छोडेर पुनः गोदावरीको मसानघाटतर्फ शवयात्रामा सामेल भयौँ । कैलाली स्थित गोदावरीको मसानघाट क्षेत्रमा हजारौँ मलामीहरूले आँसुका थोपाहरू चुहाँउदै श्रद्धाञ्जली दिइरहेका थिए । एकातिर ९ वटा लासहरू जलाएको कालो धुँवा एकीकृत हुँदै आकाशमा उडिरहेको थियो ।

म सोच्दै थिएँ यही धुँवामा मृतात्मा उडिरहेको छ स्वर्गको यात्रा तय गरिरहेको छ । म प्रार्थना गरिरहेको थिएँ यी मृतात्मा देवत्वको रुपमा रहुन् र आगामी दिनमा यस्तो प्रकारका दुःखद घटना निम्तिन नदिऊन्, मान्छेलाई सजग र सचेत हुन प्रेरणा दिऊन् ।  त्यो बगरमा भेटिएका सबै मानिसहरू आँखामा आँसु लुकाएर मावन जीवनप्रति वितृष्णाको भावव्यक्ति प्रकट गरिरहेका थिए । घमण्ड, अहमता र जवरजस्तीकरण जस्ता मानवीय दम्भ र असावधानीका कारण जोरायलले व्यहोर्नु परेको दुर्दशाप्रति हरकसैलाई पनि चिन्ता थियो, त्यही चिन्ता र चिन्तनले मलाई फरकै अनुभूति गराएको थियो । भन्छिन् ‘यो कलियुग हो’ अचेल सति जाने चलन छैन ।

कतिपय युगल जोडीहरू सँगै मर्ने र सँगै बाँच्ने कसम खान्छन् सँगै बाँच्न त सम्भव छ तर सँगै मर्ने कुरा असम्भव । श्रीमान् श्रीमती एउटै चितामा जलाउने र जल्ने कहानी त सुनेको थिएँ तर आफ्नै आँखा अगाडि यस्तो दृश्य देखिदा असह्य भयो, अपच्य भयो चिताको अग्निसँगैँ मेरो मन जलिरह्यो । श्रीमान श्रीमती टेकराज भट्ट र पशुपतीलाई गोदावरीले आफ्नो वक्षस्थलमा एउटै चितामा जलायो कठपत्रे दुर्घटनाको कारण देखाई । मलाई त्यो दृष्यले मात्र हैन जोरायलमा जलिरहेका लासहरूको यादले पनि सताइ रहेको थियो ।

आफू जोरायलमा नहुँदा तथा आफन्त जनहरूको मलामी बन्न नपाउँदा के के गर्न छुट्यो जस्तो अनुभूति भइरहेको थियो । मैले जोरायल स्थित साथी र भाइलाई फोन गरिरहेको थिएँ र पीडाको जानकारी बटुली रहेको थिएँ । भाइले फोन मार्फत जानकारी गरायो कि बेल्टुक्रा र लिडिकोटका लास २२ गते जलाउने हुन् भनेर त्यसपश्चाप मैले २१ गते राति नै यात्रा गरी बुडर बस्ने र दोस्रो दिन बिहानै जोरायल पुगी मलामी बन्ने ईच्छा भिनाजु धर्मानन्द जोशीसामु राखें उहाँले भन्नु भयो कि यति हतारिनु उचित हुँदैन, भोलिसँगै जाउँला । उहाँकै सल्लाह अनुसार २२ गते बिहान अत्तरियामा रहेका अस्पताल र अस्पतालमा रहेका घाइते आफन्तहरूसँग भेटघाट गरी पीडाले दुखेको केन्द्रस्थान जोरायल फर्किएँ ।

२०७१ को दशैँ दशा बन्यो । असोज २० गते जोरायलवासीका लागि साझा रुने दिन बन्यो, त्यो कालो दिन बन्यो, जसले तमामौँ परिपक्क आमा र नवयुवतीका भर्खरै किनेका राता र बुट्टेदार नयाँ साडीहरूलाई थन्काई वेहोश अवस्थामा सेतो लुगा ओढाई छाड्यो , हातका चुरा फुटायो, आफ्ना प्रिय श्रीमान छुटायो र सारा खुशी लुटाइ रह्यो । जसले बुढा बाबाहरूलाई आफ्नो छोराको काजकिरिया गर्न पठायो, बुढेशकालका साहारा लुटी जीवनलाई निस्सार र निरस बनायो । जसले कैयौँन श्रीमानका प्रिय श्रीमती खोस्यो र विधुर बनायो रथको एक पाङ्ग्रा जलाई आपाङ्ग बनायो ।  धन्य ! भगवान तँ धन्यै रहेछस् तेरो शक्ति अपार छ भन्थे बेकार पनि रहेछ, व्यभिचार पनि रहेछ, कुविचार पनि रहेछ । जरासन्धको कुप्रभाव दमन गर्न भनी जोरायलको शीरमा ज्वालादेवी विराजमान छन् अलि तलतिर चण्डेश्वर मन्दिर ठाउँ ठाउँमा विभिन्न देवी देवताका थान घण्टेश्वर भागेश्वर पिन्केश्वर, मष्टेश्वर केदारेश्वर गुल्मेश्वर आदि इत्यादि श्वरै–श्वर मिलेर २९ जनाको आत्मा हरण गर्ने चोरलाई तर्सउन सकेनन् । कठपत्रेको अन्ध प्रवृतिमा लौरोले बर्षाउन सकेनन् वा मुखदर्शक भएर तमासा हेरी बसी रहे ।

पोखलको प्रतीक्षामा, भाकलको प्रतीक्षामा, ध्वजाको प्रतीक्षामा फलफूल र भेटीको प्रतीक्षामा । कतिसम्म अब यी निर्दयी भगवानलाई पुज्ने र पुजाइरहने । मलाई अहिले याद आइरहेको छ जीवन काँडा की फूल पुस्तकमा विश्वासदीप तिगेलाको भनाई “भगवान नभएको निक्र्याैल यदि छन् भने पनि हामीले सोचेको जस्तो निष्पक्ष र दयाकारी छैनन् ।” हो रहेछ मलाई पनि त्यस्तै लाग्यो  यदि भगवान हुने र फैसला निष्पक्ष हुन्थ्यो भने नजीकै बाँझिलेकमा अवस्थित मालिकाको दर्शन गरेर जाने यात्रु त सुरक्षित हुनु पर्ने, दयाकारी हुन्थे भने ती निर्दाेश बालकको घाँटी त ननिमोठिनु पर्ने । यो घटना सम्झिँदा आफ्नो जीवनप्रति पनि वितृष्णा पैदा हुन्छ र दिक्क लाग्दछ । दशैँमा राखेका जमरा सेलाउन नपाउँदै दिर्घायुको कामनासहित जमरा पहिरिएका मानिसलाई सेलाउनु प¥यो ।

त्यसवर्ष तिहार त आयो तर पीडा ओकेल्ने दिनको रुपमा मात्र सीमित रह्यो, अरु वर्षको तिहारको याद दिलायो, घरभरि मानिस एवम् खुशी हुँदाको क्षण र शुन्य अवस्थाबीच तुलना गरायो र धरधरी रुवाइ रह्यो । देउसी खेलिएन अरु वर्ष झंै, गाउँ गाउँमा पञ्चेबाजा बजेनन् र जोरायलको प्रसिद्ध मेला दुत्य पनि रोइरह्यो आगनमा फूलेका मखमली र सयपत्री फूलहरू पनि रोइरहे निरन्तर तिहारमा मालामा गाँसिएनन्, गालामा सुहाएनन् । त्यसवर्ष सबै सबैले शोक मनाए फूलले मालामा नगाँसिएर, पञ्चेबाजाले आफू नबजी मौन रहेर, गोरुले नयाँ फुर्का र घाँट नलगाएर गाई, कुकुर, नपहिरिएर काग तथा गोरुले तिहारको पूजा नलिएर, मार्सीका चामलले मीठो परिकार नबनेर, ओखरले दैलोमा नफुटेर फलफूलहरूले प्रसाद नबनेर, अक्षताहरू रङ्गबाट पर रहेर, सप्तरङ्गी टीका निधारमा नटल्केर, मैनबत्तीहरूले झिलमिल गर्दै नजलेर । सबै सबैले शोक मनाए ।

त्यस वर्षमात्र होइन हरेक वर्ष आउने दशैँ तिहारले २०७१ को घटनालाई पुनर्ताजकीय मात्र गराउँछ र गराउने छ । सम्झनामा कठपत्रेको झल्को आउँदा न उल्लास रहने छ, नखुशी रहनेछ, न हामीले गुमाएका प्रिय मानिस फर्किने छन् । शिक्षक, विद्यार्थी, पत्रकार, कर्मचारी र अन्य  सर्वसाधारण गरी २९ जनाको निधन र ६८ जना घाइते भएको यो घटना नेपालकै सबै भन्दा ठुलो दुःखद र दुर्दशापूर्ण घटना भएको कुरा राज्य संयन्त्रले स्वीकारेकै कुरा हो । लगनपछि पोले भने झैँ घटना घटिसके पश्चात सचेतनाका कुराहरू, नियम कानूनका कुराहरू चल्दछन् र एउटा घटनाको घाउ भलाउन नपाउँदै अर्काे घटना घट्दछ । यसरी नै कहिले सम्म चल्ने हो ? सडक यात्राको त्रासदी र छतिवन कठपत्रे जस्तै पीडा भोगिरहनु पर्ने हो हामी सर्वसाधारणहरूले । कठपत्रे दुर्घटना लगायत देशका विभिन्न ठाउँमा विभिन्न समयमा घटेका सडक दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण मृतात्माप्रति हार्दिक श्रद्धाञ्जली !! यो जीवन भगवानको भरोसामा चल्दछ भन्दछन्, किन दैवले आफ्नै श्रृष्टिमाथि कुदृष्टि लगाउँछ र अकालमै काल किन कस्सिन्छ त ? म सोचिरहन्छु :

सडक कपट पापी भत्कने भेष पैरी ।
छतिवन बिच बाटा कस्सियो काल बैरी ।।
तरुण मनुज जम्मै राष्ट्रका होनहार ।
प्रभु तिमि किन गर्छाै ? श्रृष्टि आफ्नै विनास ।

बस भरी जन मारी भोक, भो की निदान ?
भन कति फल पायौ पारि एकै चिहान ।।
पलपल जन मार्छाै साँझ दिउँसो विहान ।
जय, जय, जय शम्भो धन्य तेरो विधान ।।

कमेन्ट लोड गर्नुस