सुदूर नेपाललाई विश्वसँग जोड्दै

घर जानेको लर्को, दैनिक ८ हजार यात्रु कैलालीबाट बाहिरिदै

२०७६ असोज १८, ०७:१० रोशन भट्ट

सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीबाट दशैं मनाउनका लागि घर जानेहरुको लर्को लागेको छ। दशैँको मुख्य दिन नजिकिँदै जाँदा विभिन्न पेसा र व्यवसायमा संलग्न भएकाहरु जन्मथलो जान थालेका हुन्। असोज १२ गते घटस्थापनापछि कैलालीबाट दैनिक रुपमा झण्डै दुई सय ५० देखि तीन सय सार्वजनिक सवारी साधनहरु सञ्चालन भईरहेका छन्। 

प्रदेश ट्रफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अहिले दैनिक झण्डै ८ हजारको संख्यामा कैलाली भएर यात्रुहरु घर गईरहेका छन्। घटस्थापनापछि कैलाली, कञ्चनपुर छोड्ने सङख्या ह्वात्तै बढेको प्रदेश ट्रफिक प्रहरी कार्यालय अत्तरियाका निमित्त प्रमुख प्रहरी निरिक्षक मोहन साउदले बताए।

सामान्य समयमा कैलाली भएर डेढ सयको हाराहारीमा सार्वजनिक सवारी साधन सञ्चालन हुने गरेकोमा अहिले आएर सार्वजनिक सवारीको सङख्या दोव्वरले बढेको उनले बताए। संघीय राजधानी काठमाडौं सहित देशका अन्य सहर र भारतका विभिन्न स्थानबाट पनि  कैलाली भएर घर फर्किरहेका छन्।

सुन्दर सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदम सापकोटाले कैलाली भएर बाहिरिनेको सङख्या ह्वात्तै बढेपछि अतिरित्त बस सञ्चालनमा ल्याएको बताए। काठमाडौँ र विभिन्न पहाडी जिल्लाको रुटमा बसहरु थपेको उनले बताए। दशैं मनाउनको लागि जन्मथलो जानेहरुको संख्या बढेसंगै यातायात प्रालीहरुले अतिरिक्त बसहरुसंञ्चालनमा ल्याएका हुन्।

कैलाली कञ्चनपुर देखि पहाडी जिल्लाहरुमा जाने यात्रुलाई केही सहज भएको भएपनि संघीय राजधानी काठमाडौं देखि आउने यात्रुहरुलाई भने समस्या भईरहेको गुनासो गरिएको छ। तर यात्रुले भोग्नु पर्ने सास्तीलाई मध्यनजर गरि बसको संख्या थपेर सेवा दिईरहेको खप्तड मालिका यातायात प्रालीका अध्यक्ष अनन्तराज जोशीले बताए।

कैलाली जिल्लाबाट सुन्दर सुदूरपश्चिम यातायात प्राली, रिभरसाईड यातायात प्राली, मालिका यातायात प्राली र खप्तड मालिका यातायात प्रालीहरु सञ्चालनमा रहेका छन्। तर अधिकासं यातायात प्रालीहरुले दशैँ नजिकिएसंगै बसहरु काठमाडौँ केन्द्रित गर्दा पहाडी जिल्ला जाने यात्रुहरुलाई पनि आवागमनमा समस्या भएको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस