सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा भएको विश्व नेपाली स्वास्थ्य सम्मेलनद्धारा २५ बुँदे घोषणापत्र जारी

। फोटो स्रोत ।
२०७६ असोज १६, ०३:२० खबर संवाददाता

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा संयुक्त राज्य अमेरिकामा भएको पहिलो विश्व नेपाली स्वास्थ्य सम्मेलनले २५ बुँदे घोषणापत्र जारी गरेको छ। अमेरिकाको एटलान्टामा चलेको तीन दिने सम्मेलनबाट जारी भएको घोणापत्रमा नेपालभित्र तथा बाहिर रहेका नेपालीको स्वास्थ्य सुधारका लागि काम गर्ने व्यक्ति तथा संघसंस्थाका बीच सहकार्य, आपसी सहयोग र समझदारी बढाउने प्रतिबद्धता जनाउँदै त्यसका लागि सबैलाई आह्वान गरेको छ।

एनआरएनए आइसिसीको ग्लोबल हेल्थ एन्ड हाइजिन कमिटीले आयोजना गरेको सम्मेलनले विश्वभरि रहेका नेपालीको स्वास्थ्यसमस्याबारे मिलेर काम गर्नुपर्नेमा जोड दिएको सम्मेलन आयोजक समितिका अध्यक्ष तथा हाइजिन कमिटीका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए।

उनका अनुसार २५ बुँदे घोषणापत्रमा विश्वभर रहेका नेपालीमा आधारभूत स्वास्थ्यसेवाको पहुँच सुनिश्चित गर्ने, स्वास्थ्यलाई आधारभूत अधिकारका रूपमा सम्मान गर्ने, विश्वव्यापी रूपमा बढिरहेको मानसिक समस्या र त्यसले बढाएको आत्महत्यालगायत घटना लगायतका विषय रहेका छन्।

‘विश्वका जुनसुकै देश तथा कुनाकाप्चामा रहेका नेपालीको स्वास्थ्यमा पहुँच विस्तार गर्नुपर्ने विषयलाई घोषणापत्रमा जोड दिइएको छ,’ उनले भने, ‘विकसित देशमा बसाइँ सरेका नेपालको स्वास्थ्यदेखि खाडी मुलुकमा काम गर्ने नेपालीको स्वास्थ्यका विषयमा काम गर्नुपर्ने कुराहरु समेटिएका छन्।’

उक्त सम्मेलनमा नेपालीको स्वास्थ्यको सुधारका विषयमा १५ वटा वैज्ञानिक कार्यपत्र प्रस्तुत भएका थिए। सम्मेलनमा अमेरिका, नेपाल, क्यानडा, बेलायत, दक्षिण कोरिया, न्युजिल्यान्ड लगायतका देशबाट प्रतिनिधी सहभागि भएका थिए। सम्मेलनमा नेपालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको समेत सहभागिता भएको थियो।

सम्मेलनको औपचारिक उद्घाटन मन्त्री यादवले नै गरेका थिए।  विश्व नेपाली स्वास्थ्य सम्मेलनमा एनआरएनए तथा नेपालीको मात्र नभई अमेरिकी सरकारी तथा गैरसरकारी संघ–संस्थाको समेत सहयोग र सहभागिता थियो।

कमेन्ट लोड गर्नुस