सुदूर नेपाललाई विश्वसँग जोड्दै

शरद ऋतुमा सगरमाथा आरोहण गर्न १० जनाले लिए अनुमति

२०७६ असोज १६, ०१:०१ खबर संवाददाता

शरद ऋतुमा सगरमाथा आरोहणका लागि यस वर्ष दुई समूहका १० जनाले अनुमति लिएका छन्। पछिल्लो तीन वर्षको शरद ऋतुमा आरोहणका लागि कसैले अनुमति नलिएकोमा यस वर्ष दुई समूहले अनुमति लिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले बताए। तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा समूहमा ९ र अर्कोमा १ जना गरी १० जना रहेका छन्।

सगरमाथा आरोहणको उत्तम समय बसन्त ऋतुलाई लिइने गरिन्छ। शरद ऋतुमा सगरमाथा अरोहणका लागि कठिन मानिन्छ। सन् २०१० को अक्टोबरमा अमेरिकी आरोही एरिक लर्सेन शरद ऋतुमा नै सगरमाथा शिखरमा पुगेका थिए। त्यसयता शरद ऋतुमा कोही पनि आरोही शिखरमा पुगेको रेकर्ड छैन। यो याममा अरोहण सफल हुने या नहुने भन्ने कुरा आरोही र मौसममा भर पर्छ।

सन् २०१९ कै बसन्त ऋतुमा विभिन्न समूहका ३ सय ८१ जनाले आरोहण अनुमति लिएका थिए भने आरोही र उनीहरुका सहयोगीसहित करिब ७ सय जनाले विश्वको सर्वोच्च शिखरमा पाइला टेकेका थिए। आरोहणको क्रममा ९ जनाको ज्यान गएको थियो। उनीहरुको ज्यान जानुको कारण सगरमाथा आरोहणका क्रममा ट्राफिक जाम भनेर दाबी गरिए पनि पर्यटन विभागले त्यसको खण्डन गरेको थियो।

उक्त याममा हुने भिड र समस्यालाई शरद ऋतुले आकर्षण गर्न नसकेको आरोही बताउँछन्। आरोही किताबसिं तामाङका अनुसार शरद ऋतुमा आरोहण गर्न सकिने भए पनि हल्का बर्षात्सँगै हिमपात र वायुको गति उच्च हुँदा समस्या हुने गर्छ। वसन्त ऋतुमा आधार शिविरदेखि क्याम्प वानसम्मको बाटो बनाउने र व्यवस्थापन गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले पनि यो याममा भने कुनैपनि कार्य गर्दैन।

समितिका अध्यक्ष आङदोर्जी शेर्पाका अनुसार बसन्त ऋतुमा ६०० अमेरिकी डलरमा क्याम्प वानसम्मको बाटो बनाउन सकिने भएपनि शरद ऋतुमा कम्तीमा २५ हजार अमेरिकी डलर लाग्छ। नेपाल सरकारले समेत शरद ऋतुमा आरोहणलाई प्राथमिकता दिएको पाइदैन। यस याममा आरोहणका लागि आवश्यक पूर्वाधार तयार पार्न सरकारको ध्यान नगएको आरोही किताबसिं तामाङले बताए।

यस्तै विभिन्न हिमाल आरोहणबाट अहिलेसम्म ४ करोड २८ लाख ४० हजार १ सय ७१ रुपैँया ५७ पैँसा रोयल्टी प्राप्त भएको पनि पर्यटन विभागले जनाएको छ। सगरमाथा आरोहणको रोयल्टी ऋतु अनुसार फरकफरक हुन्छ। विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ।

यस्तै शरद ऋतुमा ५ हजार ५०० डलर र गर्मी समयमा २ हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ। यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा ७५ हजार, शरद ऋतुमा ३७ हजार ५ सय र गर्मी याममा १८ हजार २५० रुपैयाँ रोयल्टी तिर्नुपर्ने कानुनी व्यवस्था छ।
 

कमेन्ट लोड गर्नुस