सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल राष्ट्र बैंक धनगढीमा नयाँ नोट साट्नेहरुको घुईचो

२०७६ असोज १६, ११:४८ रोशन भट्ट

कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ६ बनबेहडाका स्थानीय गणेश बोगटी नयाँ नोट सटहीका लागि बुधबार विहान धनगढी आए। नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय धनगढी पुगेका बोगटी विहान ८ बजे देखि नै लाईन बसेका थिए। कैलालीको दुई स्थान धनगढी र टीकापुरबाट नोट सटही गर्न पाईने भएपनि जिल्लावासीले सास्ती व्यर्होनु परेको उनले बताए। वोगटी जस्तै अन्य सुदूरपश्चिमका विभिन्न स्थानबाट पनि नोट सटही गर्न धनगढी पुगेकाहरु विहानै लाईन लागेका थिए।

अहिले नेपाल राष्ट्र बैँक धनगढी सहित सुदूरपश्चिमका १० स्थानबाट नयाँ नोट सटही भईरहेको भएपनि सहज हुन नसकेको डोटीको बडीकेदार गाउँपालिका स्थानीय गजैसिंह खड्काले बताए। विगतका वर्षहरुमा अन्य बैंकहरुले पनि नयाँ नोट सहटी गर्ने गरेका कारण केही सहज हुने गरेको भएपनि यस वर्ष भने निकै सास्ती व्यहोर्नु परेको गुनासो गरिएको छ।

सुदूरपश्चिमका प्रायः सबै स्थानीय तहमा बैंक स्थापना भएपनि नोट सटहीको व्यवस्था नहँुदा समस्या भएको गुनासो कैलालीको चुरेका स्थानीय नारायण योगीको छ। कैलालीको धनगढी सहित टीकापुर, दार्चुला, बझाङ, बैतडी, डोटी, डडेल्धुरा, बाजुरा, अछाम र कञ्चनपुरमा रहेका राष्ट्र बैँकका नोट कोषबाट सटही भईरहेको छ। राष्ट्र बैंक धनगढीबाट चार दिनमा ५ करोड सहटी भएको छ। अन्य ९ वटा राष्ट्र बैंकका नोट कोषका लागि २२ करोड पठाईएको राष्ट्र बैंक धनगढीका निर्देशक निश्चल अधिकारीले बताए।  

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस