सञ्जय रानालाई छुटाईदिने भन्दै १० लाख लिनु अघि धरौटीमा छुटेका थिए सिंह
ठगी धन्दामा सक्रिय रहेको आरोपमा पक्राउ परेका धनगढीका सञ्जय रानालाई छुटाईदिने भन्दै १० लाख रकम लिएका धनगढीकै विजय सिंहको प्रहरीले खोजी सुरु गरेको छ। रानाकी श्रीमतीसंग सञ्जयलाई प्रहरी हिरासतबाट छुटाईदिने भन्दै सिंहले १० लाख रकम लिएपछि प्रहरीले उनको खोजी सुरु गरेको हो। प्रहरीका अनुसार सिंहले नेपाल छोडिसकेका छन्।
उनले आफ्नो फेसवुक समेत निष्क्रिय पारिसकेका छन्। सञ्जयकी श्रीमतीले सिंह विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठाडो निवेदन दिएपछि खोजी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। १० लाख रकम लिन अघि सिंह पनि प्रहरी हिरासतमा थिए।
धनगढीकै फ्लोरा होटलमा संकास्पद गतिविधि गरेको भन्दै उनी पक्राउ परेका थिए। लामो समय सम्म होटलमा बसेका सिंहले आफु प्रहरी नायव उपरिक्षकको छोरा भएको र केही दिनमा रकम तिर्ने भन्दै होटलका व्यवस्थापकसंग कुराकानी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो।
प्रहरी नायव उपरिक्षक बस्नेतका अनुसार उनी विरुद्ध सार्वजनिक अपराधमा मुद्धा दर्ता भएको थियो। भदौ १५ गते पक्राउ परेका उनी असोज ६ गते १० हजार धरौटीमा छुटेका थिए। उनको साथबाट प्रहरीले सञ्जय रानाले ठगी धन्दा गरेको भन्दै प्रहरीमा उजुरी दिने विन्देश्वर श्रेष्ठका पनि केही कागजात बरामद गरेको थियो।
धरौटीमा छुटेपछि रानाकी श्रीमतीसंग उनले रानालाई प्रहरी हिरातसतबाट छुटाईदिने भन्दै १० लाख मागेका थिए। उनले रानाकी श्रीमतीलाई आफु जिल्ला प्रहरी कार्यालयको प्रहरी नायव निरिक्षक भएको बताएका थिए।
तर प्रहरीले भने यो घटनामा पनि दुवै पक्षको मिलोमतो हुन सक्ने जनाएको छ। बझाङको थलारा गाउँपालिका– ३ घर भएका सिंह धनगढी उप–महानगरपालिका वडा नम्वर ३ मा बस्दै आएका थिए। उनले विभिन्न व्यक्तिबाट नागरिकता र लाईसेन्स बनाईदिने भन्दै रकम लिएको समेत आरोप लागेको छ।