सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्याजको मूल्य प्रतिकिलो एक सय ६० पुग्यो

फाइल फोटो
फाइल फोटो
२०७६ असोज १३, ०५:३१ खबर संवाददाता

भारतको केन्द्र सरकारले अनिश्चित कालका लागि सुकेको प्याज निर्यात बन्द गरेपछि सुदूरपश्चिमका बजारमा प्याजको मूल्य आकासिएको छ। प्याजमा पूर्ण रूपले भारतमा निर्भर सुदूरपश्चिममा यसको असर तत्कालै देखिएको हो। प्रदेशको अस्थायी राजधानी धनगढीमा प्याजको मूल्या प्रतिकिलो एक सय ६० पुगेको छ। केही साता अगाडी ४० रुपैँयामा पाईने प्याज अहिले एक सय ६० मा विक्री भईरहेको धनगढीका स्थानीय हरिप्रसाद भट्टले बताए।

पछिल्लो एक साता यता मूल्य वृद्धि भएको त्रिनगर हाट बजार व्यवस्थापन समितिका अध्यक्ष भवानसिंह चैसिरले बताए। भारतले प्याज निर्यातमा रोक लगाएपछि मूल्य बृद्धि भएको उनले बताए। ‘मागको तुलनामा मुलुकभित्र प्याजको उत्पादन धेरै कम छ’ उनले भने, ‘वर्षभर भारतबाट आयात गरेर नेपालीलाई खुवाइरहेका छौँ, भारतबाट प्याज नआएपछि मूल्य बढेको हो।’ पछिल्लो एक महिनायता भारतमा प्याजको मूल्य अनियन्त्रित रूपमा बढ्दै गएपछि केन्द्र सरकारले निर्यातमा प्रतिबन्ध लगाएको थियो।

नेपालमा प्याज उत्पादन अत्यन्त कम छ। त्यसकारण आयातमा निर्भर हुनुपरेको छ। भन्सार विभागका अनुसार गत आव २०७५/०७६ मा पाँच अर्ब २६ करोड ९६ लाख रुपैयाँको प्याज आयात भएको थियो। सो वर्ष आयातीत १६ करोड ७९ लाख किलो प्याजमध्ये ९५ प्रतिशत भारतबाट आएको थियो।

त्यस्तै, आव २०७४/०७५ मा चार अर्ब ६६ करोड ६६ लाख रुपैयाँको प्याज आयात भएको थियो। नेपालमा मुस्किलले पाँच प्रतिशत प्याज चीनबाट आउँछ। चिनियाँ प्याज चाँडै सड्ने र स्वाद पनि नहुने भएकाले उपभोक्ताले मन पराउँदैनन्।

कमेन्ट लोड गर्नुस