सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिउँदो खसीबोका तथा च्याङ्ग्राको बिक्रि मूल्य निर्धारण

२०७६ असोज १३, ०३:१७ खबर संवाददाता

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ। कम्पनीले बिक्री गर्ने जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रुपैयाँ ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो ७३० रुपैयाँ निर्धारण गरिएको छ। उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिई  मूल्य निर्धारण गरिएको कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनले बताए।

कम्पनीले सोमबारदेखि साविकको खाद्य संस्थानको थापाथलीस्थित बाग्मती अञ्चल कार्यालय (सदन धान गोदाम)बाट खसी, बोका तथा च्याङ्ग्राको बिक्री सुरु गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा ती खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरिएको हो। 

सरकारले दशैँका समयमा उपभोक्तालाई थारै भए पनि राहत दिन विगतमा झैँ यसपटक पनि खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरेको हो। सरकारी मूल्य निर्धारणले बजारमा मूल्य हस्तक्षेप गर्न सहयोग मिल्ने उनले बताए। यस वर्षका लागि कम्पनीले काठमाण्डौ उपत्यकामा झण्डै तीन हजारको सङ्ख्यामा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको छ। त्यसका लागि एक हजार ९ सय २० च्याङ्ग्रा र झण्डै एक हजार खसी, बोका राजधानी ल्याइँदै छ। 

महाप्रबन्धक गौचनले भने, केही खसी, बोका तथा च्याङ्ग्रा काठमाण्डौ पुगिसकेका छन्। अरु एक र दुई दिनभित्र ल्याउछौँ। कम्पनीले बिक्री गर्ने सहुलियतको खसी, बोका तथा च्याङ्ग्रामा व्यापारीको प्रवेश निषेध गरिएको छ। सम्भव भएसम्म एक परिवारलाई एक खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरिने उनको भनाइ छ।

यस्तै सरकारले खसी, बोका तथा च्याङ्ग्रा बिक्रीमा घाटा खाएर उपभोक्तालाई  राहत दिएको छ। खरिद मूल्यभन्दा कममा उपभोक्तालाई बिक्री गर्न लागिएको महाप्रबन्धक गौचनले बताए। कम्पनीले खसी, बोका ढुवानीबाहेक जिउँदो प्रतिकिलो ५ सय ७० रुपैयाँ र दाङबाट प्रतिकिलो ५ सय ३५  रुपैयाँमा खरिद गरेको छ। 

त्यस्तै च्याङ्ग्रा जिउँदो प्रतिकिलो ५ सय ६० रुपैयाँमा खरिद गरिएको छ। कम्पनीले च्याङ्ग्रा मुस्ताङबाट खरिद गरेर ल्याएको हो। ती च्याङ्ग्रा चार दिन हिँडाएर ल्याएको बताइएको छ। कम्पनीले मुस्ताङबाट एक हजार ९ सय २० च्याङ्ग्रा र मकवानपुर तथा दाङबाट एक हजार खसीबोका खरिद गरेको हो। 

अहिले राजधानीका अन्य खसीबजारमा जिउँदो खसी बोका ६ सय ५० रुपैयाँ र च्याङ्ग्रा ७ सय ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। सम्बन्धित जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको खरिद समितिले गरेको मूल्यका आधारमा ती खसी, बोका तथा च्याङ्ग्रा किसानसँग खरिद गरिएको कम्पनीले जनाएको छ। 

सरकारले सिधै किसानको गोठबाट खरिद गर्दा उनीहरुले पनि उचित मूल्य पाएको कम्पनीको महाप्रबन्धक गौचनले बताए। सरकारले खरिद गरेको मूल्यका आधारमा नै अन्य किसानले पनि खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरेका छन्। खसी, बोका तथा च्याङ्ग्रा व्यापारीले किसानबाट सस्तोमा खरिद गरेर उपभोक्तालाई महँगोमा बिक्री गर्ने गर्दछन्। जसबाट किसान र उपभोक्ता दुवै मारमा पर्ने गरेका पाइन्छ।
 

कमेन्ट लोड गर्नुस