सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा गरिमा र सिन्दुरी धानमा बाला नलागेपछि किसान चिन्तीत

२०७६ असोज १३, ११:१६ कमल सावद

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ९ का किसान जगन्नाथ देवकोटाले मसुरियाको एक एग्रोभेटबाट सिन्दुरी जातको चार किलो धानको बीउ खरिद गरी रोपेका थिए। देवकोटाले १० कठ्ठा जमिनमा धान खेती गरेका छन्।  धानको डाँठ राम्रै छ, तर अहिले सम्म बाला लागेको छैन्। ढिलोगरी बाला लाग्ने भन्ने आशमा रहेका देवकोटा अहिले सम्म बाला नलागेपछि हैरान भएका छन्।

उनी भन्छन्, ‘धानको बाला लाग्ने आशा मरिसक्यो, बाला नै नलागेपछि उत्पादन हुने कुरै भएन्। परिवारले के खाने भन्ने चिन्ता छ।’ नगरपालिकाको वडा नम्बर ९ का उमानन्द भण्डारीको पनि १५ कठ्ठामा लगाईएको धानमा बाला लागेको छैन्। धानको बाला आउने कुनै संकेत नभएपछि गाईलाई काटेर खुवाएको उनले सुनाए।

गौरीगंगा नगरपालिकाकै वडा नम्बर ९ का मात्र ८० बढि किसानले धानको बाला नआएको गुनासो वडा कार्यालयमा गरेका छन्। नगरपालिकाका वडा नम्बर ४,७, ८ र ९ का किसानले धानको बाला नलागेको गुनासो गरेका हुन्। गरिमा र सिन्दुरी जातको धानको बाला नआएको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशी समक्ष उनीहरुले गुनासो गरेका छन्।

धानबाली क्षेत्रको अनुगमन गर्दै क्षेत्रिय निर्देशक जोशीले धानको नमुना संकलन गर्न निर्देशन दिएका छन्। मसुरिया क्षेत्रको धान खेतीमा देखिएको नमुना संकलन गरी बाली विज्ञान प्रयोगशालामा पठाईने उनले बताए। ‘किसानलाई स्थानीय एग्रोभेटले धानको बीउ दिएको रहेछ।’ जोशीले भने, ‘बीउले उत्पादन नदिएको बिषयमा पनि एग्रोभेटहरु जवाफदेही हुनुपर्छ। किसान ठगिएका छन्। कारबाही गर्छौ।’

धानको बाली निरीक्षण गदै जोशीले धानको बोटमा खैरो थोपा भएको ढुसीजन्य रोग देखिएको र गरीमा जातको धानमा यस्तो रोगको लक्षण नहुने बताए। मसुरियाको टंक एग्रोभेटका सञ्चालक मनिराम चौधरीले पाँच क्विन्टल गरिमा र ७० किलो सिन्दुरी जातको धानको बीउ किसानलाई बिक्रि गरेको बताए। उनले रोगको बारेमा जानकारी नभएको बताएका छन्। अहिले किसानहरु धान काटेर बस्तुभाउलाई खुवाउँदैछन्। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस