सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा विरामीको चाप, शैया अभाव भएपछि फिर्ता पठाईदै

२०७६ असोज १२, ०७:१४ खबर संवाददाता

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर १ का भीमवहादुर बुढा विरामी भएपछि लगातार तीन दिन सम्म सेती प्रादेशिक अस्पताल धाए। तर उनलाई तीन दिन नै शैया नभएको भन्दै अस्पतालले फिर्ता पठायो र अहिले उनी बाध्य भएर धनगढीकै माया मेट्रो अस्पतालमा भर्ना भएका छन्। 

‘पहिलो दिन अस्पतालमा जाँदा भोली आउनु आज शैया खाली छैन् भन्दै फिर्ता पठाईयो,’ उनले भने, ‘दोश्रो र तेश्रो दिन जाँदा पनि त्यस्तै समस्या देखिएपछि अहिले नीजि अस्पतालमा उपचारका लागि भर्ना भएको छु।’ शैया नपाउँदा अस्पतालको मेडिकल वार्डमा अर्को विरामीको शैयामा राखेर उपचार गराउनुपर्ने बाध्यता समेत रहेको कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर २ की मिठिया रानाले गुनासो गरिन्। उनका श्रीमानलाई शरिर दुख्ने समस्या देखिएपछि बीहिबार सेती अस्पताल ल्याईएको हो। पछिल्लो एक महिना यता शैया अभावकै समस्याले धेरै विरामीलाई फिर्ता पठाउनु परेको स्वीकार अस्पताल प्रशासनले पनि गरेको छ।

सेती अस्पताललाई प्रादेशीक बनाईएपनि संरचना, जनशक्ती र उपकरण थप्ने प्रक्रिया अझै अलपत्र परेको छ। प्रदेशको सामाजिक विकास मन्त्रलायले सेतीलाई प्रादेशीक अस्पताल बनाउने निर्णय ९ महिना अघि गरेको थियो भने उक्त निर्णयलाई साउन २९ गते सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद् बैठकले समेत स्वीकृत गरिसकेको थियो। तर संरचना, शैया, जनशक्ती र उपकरण थप्नका लागि भने प्रक्रिया अगाडी नबढेपछि अहिले उपचारमा समस्या भएको हो। अस्पतालमा शैया अभाव भएपछि एउटै शैयामा दुईजना विरामी राख्नुपर्ने बाध्यता सिर्जना समेत भएको छ। 

पछिल्लो केही दिन यता मौसमी रुघाखोकी, ज्वरो लगायतका विरामी बढेपछि समस्या भएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले मौसमी रुघाखोकी, ज्वरो लगायतका विरामी बढेपछि शैयाहरु भरीभराउ भएको बताए। उनले सामान्य समयमा पनि अस्पतालमा विरामीको चाप बढि नै हुने गरेको तर पछिल्लो समय डेङ्गु, स्क्रब टाईफसको संक्रमण बढ्दा संख्या केही बढेको बताए।

विक्रम सम्बत १९९७ सालमा जिल्ला अस्पतालका रुपमा स्थापना भएको सेती अस्पताल विक्रम सम्बत २०४० सालमा स्तरोन्नती गरि सेती अञ्चल अस्पताल बनाईएको थियो। प्रदेश सरकार आईसकेपछि नाम परिवर्तन गरि अञ्चललाई प्रदेश त बनाईएको छ तर सेवा विस्तारमा ध्यान दिईएको छैन्।

सेती अस्पतालमा ५० शैया नेपाल सरकारले स्वीकृती दिएको छ भने थप ७५ शैया अस्पताल विकास समितिले सञ्चालन गरेको छ। चलाउने अनुमति एक सय २५ शैयामा भएपनि बिरामीको चाप निकै बढि भएकाले झण्डै दुई सय ५० शैया सञ्चालन गरिएको छ।

 

कमेन्ट लोड गर्नुस