सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमको कमिटि गठन, संयोजकमा भण्डारी

२०७६ असोज ११, ०८:२६ खबर संवाददाता

हेल्प फर ह्याप्पीनेस (खुसीका लागि सहयोग) को सुदूरपश्चिम प्रदेश स्तरीय कमिट गठन गरिएको छ। सामाजिक कार्यका लागि गठन गरिएको हेल्प फर ह्याप्पीनेसको आज धनगढीमा बसेको बैठकले घनश्याम भण्डारीको अध्यक्षतामा नौ सदस्यीय प्रदेश कमिटि चयन गरेको हो। समतिको उप–संयोजकमा पुजा लामा सर्वसम्मत चयन भएकी छन्। यस्तै सदस्यहरुमा सुनिल सापकोटा, हेमन्त जोशी, भरत विष्ट, अविसेक श्रेष्ठ, सुप्रिया गुरुङ, सिर्जना जोशी र लक्ष्मी भण्डारी चयन भएका छन्।

तत्काल नौ सदस्यीय कमिटि गठन गरिएपनि सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी सदस्य थप गरिने संयोजक भण्डारीले बताए। यस्तै हेल्प फर ह्याप्पीनेसले यसअघि गठन गरेको आपतकालीन असहाय सहयोग कोष सञ्चालन गर्दै आएको आर्थिक समितिलाई पनि पूर्णता दिएको छ।

आर्थिक समितिको संयोजकमा केशव पौडेल र उप–संयोजकमा चम्फा भट्ट चयन भएकी छन् भने सदस्यहरुमा केशव विष्ट, घनश्याम भण्डारी, संगिता कुँवर, गौरव पाठक, अनुज ठगुन्ना, दिपक धामी, जनक विष्ट, मनु जोशी र पूजा लामा रहेका छन्। यसैगरी घनश्याम भण्डारीको संयोकत्वमा आर्थिक उप–समिति पनि चयन गरिएको छ।

उप–समितिको सदस्यमा अभिलाशा भण्डारी र प्रियंका अग्रवाल चयन भएका छन्। हेल्प फर ह्याप्पीनेसले प्रत्येक सदस्यबाट मासिक एक सयका दरले आपतकालीन सहयोग कोषमा रकम जम्मा गर्ने गरेको छ। सुरुवाती अवस्थामा ५१ सदस्य रहने गरी उनीहरुबाट मासिक एक सयका दरले रकम जम्मा गर्दै आएको छ।

उक्त रकमबाट विभिन्न सामाजिक कार्य सञ्चालन गर्दा खर्च व्यवस्थापन गर्ने योजना रहेको संयोजक भण्डारीले बताए। उनले कोषमा जम्मा हुने रकमबाट रक्तदान, राहात सहयोग संकलन, वेवारिसे अवस्थामा भेटिने व्यक्तिलाई उद्दार गरी सम्बन्धीत निकाय सम्म पु¥याउदा लाग्ने खर्च, आकस्मीक दुर्घटनामा सहयोग गर्ने, वेवारिसे अवस्थामा अस्वस्थ भेटिने छाडा पशु चौपायाको औषधी उपचार लगायतका सामाजिक कार्य सञ्चालन गर्दा आपतकालीन सहयोग कोषबाट रकम व्यवस्थापन गरिने उल्लेख गरे।

यस्तै हेल्प फर ह्याप्पीनेसमा आवद्ध सदस्यहरुलाई आकस्मीक विरामी, मर्दापर्दा, दुर्घटना हुँदा, प्राकृतिक प्रकोप लगायत विभिन्न आपतकालीन  अवस्था हेरेर कोषबाट सहयोग प्रदान गरिनेछ। खुसिका लागि सहयोग भन्ने मर्मका साथ २०७२ साल असोजमा पोखराका युवा नविन तिवारीको अगुवाईमा स्थापना गरिएको हेल्प फर ह्याप्पीनेसमा विभिन्न क्षेत्रमा क्रियाशिल युवाहरु आवद्ध छन्।

अहिले कैलाली, पोखरा, चितवन, नवलपरासी, काठमाडौँ, रुपन्देही लगायतका जिल्लामा हेल्प फर ह्याप्पीनेस त्रियाशिल रहेको छ। यसैबिच हेल्प फर ह्याप्पीनेस र टिम धनगढी ग्यालरीले संयुक्त रुपमा आउँदै गरेको विजया दशमी, शुभ दिपावली र छठ पर्व पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम पनि सम्पन्न गरेको छ। धनगढीको दशरथ भीम उद्यान (पार्क) मा कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदान गरेको हो। संस्थाले नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुगोस भन्ने उद्देश्यले स्थानीय पार्क भित्र कार्यक्रम आयोजना गरिएको जनाएको छ। 
 

  
 

कमेन्ट लोड गर्नुस