सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट नक्कली नोट र मेसिन सहित पक्राउ परेका तीन जना कारागार चलान

२०७६ असोज ११, १२:५२ खबर संवाददाता

नक्कली नोट छाप्ने मेसिन सहित पक्राउ परेका कैलालीका तीन जनालाई कारागार चलान गरिएको छ। चुरे गाउँपालिका वडा नम्बर १ घर भई धनगढी उपमहानगरपालीका वडा नम्बर १ वस्ने  बर्ष २५ का खगेन्द्र बम भन्ने खगेन्द्र बहादुर रजवार, सोही ठाउँका २२ बर्षीय भोजवहादुर बम र महोत्तरीको साविक किसानगर गाविस ९ घर भई हाल बर्दिवाद नगरपालिका ६ बस्ने २५ बर्षीय गोकुल बहादुर खड्कालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

यस्तै दार्चुलाको रानिशिखर घर भई कैलालीको धनगढी उप महानगरपालीका वडा नम्बर ३  बस्ने बर्ष २४ का पल्लपराज भट्टलाई एक लाख धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनीहरु विरुद्ध खोटा चलन शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गरिएको थियो।

जिल्ला सरकारी वकिल कार्यालय, कैलाली मार्फत कैलाली जिल्ला अदालत पेश गरिएकोमा अदालतबाट थुनछेक आदेश भई कारागार चलान गरिएको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नैनादेवी टोलबाट उनीहरुलाई पक्राउ गरिएको थियो। 

उनीहरु मध्ये तीनजनालाई फरक फरक मितिमा धनगढीबाट पक्राउ गरिएको थियो भने र गोकुल खड्कालाई सिआईवीको टोलीको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको थियो। उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको थियो। 

उनीहरुबाट छापेर काट्न बाँकी रहेको नेपाली पाँच सय दरको ९८ नोट, पाँच सयकै भारतीय ८६ नोट, भारतीय पाँच सय दरको पछाडीको भाग छापिएको ४ नोट बरामद गरिएको थियो। यस्तै माथिल्लो अगाडीको भाग मात्र छापिएको ३० नोट, पछाडीको भाग मात्र छापिएको पाँच सयकै ८ नोट, पाँच सयकै तल्लो पछाडीको भाग छापिएको १२ नोट सहित स्टिलको दराजमा राखिएको एक हजार दरका ६८ नोट समेत बरामद गरिएको प्रहरीले जनाएको थियो। 

यस्तै, विभिन्न हिसाब किताब लेखिएको डायरी, स्टिलको कैची, एक थान स्केल, एक थान मोवाईल र रेडियो सञ्चार एफएम गढी बैतडी लेखिएको एक थान स्ट्रयाम्प पनि बरामद गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस